Saturday, June 27, 2026
Home Blog Page 513

राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

0

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गर्दै संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको जानकारी दिएकी छन्।

प्रमाणीकरण गरिएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ संशोधन विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, र निजीकरण ऐन, २०५० संशोधन विधेयक छन्।

यी विधेयक आजै संघीय संसद्का दुवै सदनबाट पारित भएका थिए।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्‍य घट्यो

0

काठमाडौं। नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरेको छ। निगमको सञ्चालक समितिले मंगलबार राति १२ बजेबाट लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य परिवर्तनअनुसार समायोजन गरिएको जनाएको छ। निगमका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ। यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिलिटर ५१ डलरले मूल्य घटाइएको छ। पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ।

नयाँ मूल्य अनुसार अब डिजेल पहिलो वर्गमा प्रतिलिटर १४६.५० रुपैयाँ, दोस्रोमा १४८ रुपैयाँ र तेस्रोमा १४९ रुपैयाँ पुगेको छ।

त्रिविवि उपकुलपति बराललाई प्रधानमन्त्रीले राजीनामा दिन बाध्य पारेपछि सुमनाले भनिन् : ‘सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्’

0

काठमाडौं: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य समस्याका कारण देखाउँदै उनले गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएका हुन्।

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले उपकुलपति बरालले पदमा रहँदा गरेका प्रयासप्रति कृतज्ञता व्यक्त गर्दै, संस्थागत प्रणालीमा गहिरो जरा गाडेका स्वार्थ समूहहरूको विरुद्धमा एक्लो व्यक्तिले संघर्ष गर्नु कठिन रहेको बताएकी छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “हाम्रो प्रणालीमा कसरी दबाब सिर्जना गरिन्छ, कसरी काम गर्न दिइँदैन भन्ने विषय उजागर हुनु आवश्यक छ, ताकि यो संघर्ष जारी रहोस्।”

उनको भनाइमा, “योग्य व्यक्तिहरूले आत्मसम्मानभन्दा चाकडीलाई महत्व दिनुपर्छ भन्ने बाध्यता छैन। प्रणाली नै विश्वसनीय नभएपछि, योग्य मान्छे आफ्नो क्षमता प्रमाणित गर्न नेताको आश्रय लिन बाध्य हुन्छन्।”

राजनीतिक हस्तक्षेप र भागबण्डाको असर
श्रेष्ठका अनुसार, बरालको नियुक्तिपछि अन्य विश्वविद्यालयका पदाधिकारी छनोटमा राजनीतिक हस्तक्षेपको प्रयास भएको थियो। “हामीले भागबण्डाविरुद्ध अडान लियौं। बराल सरले आफ्नो टिम आफैं छान्न पाउनुभयो, जसका कारण परीक्षाको नियमितता, नतिजा प्रकाशन, डिजिटल व्यवस्थापन, र सेवा सुधारमा महत्वपूर्ण काम हुन सके,” उनले लेखेकी छन्।

तर, उनले राजनीतिक हस्तक्षेप अझै पनि कायम रहेको उल्लेख गर्दै, “योग्य व्यक्तिहरू राजनीतिक भागबण्डाका कारण नेतृत्वमा पुग्नै नसक्ने अवस्था छ। शिक्षालयहरूमा नेताको वफादार हुनु अनिवार्य जस्तै बनाइएको छ, जसले गर्दा योग्य व्यक्ति आवेदन दिनै हिच्किचाउने स्थिति आएको छ,” भन्ने धारणा व्यक्त गरेकी छन्।

श्रेष्ठले सरकारलाई चुनौती दिँदै भनिन्, “यदि म गलत छु भने, तपाईं अहिले देशभरिका विश्वविद्यालयको नेतृत्व गरिरहनु भएको छ— देखाइदिनुस्, तपाईंले उच्च शिक्षामा कस्तो सुधार ल्याउन सक्नुहुन्छ!”

राजनीतिक हस्तक्षेपको अन्त्यको माग
श्रेष्ठले विश्वविद्यालयहरूलाई स्वायत्त र पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, “शिक्षामा राजनीतिक हस्तक्षेपको अन्त्य नगरेसम्म, विद्यार्थीहरूको भविष्य अनिश्चित भइरहन्छ। शिक्षा प्रणाली सुधार्न अबको नेतृत्वले ठोस कदम चाल्नुपर्छ।”

उनी थप्छिन्, “विद्यालय शिक्षालाई व्यापार बनाउने नीति अघि बढाइँदैछ। उच्च शिक्षालाई समेत राजनीतिक स्वार्थका लागि दुरुपयोग गरिँदैछ। यदि सुधार गर्न सक्नुहुन्छ भने सुधार गर्नुस्, अन्यथा नेपाली विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्नुस्।”

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

0

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। बैठक संसद भवन, नयाँ बानेश्वरमा निर्धारित गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरण लगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ।

त्यसैगरी, ‘बैकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक–२०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ प्रस्तुत गर्ने छन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभाबाट पारित ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतका दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक एक सातादेखि प्रभावित हुँदै आएको छ।

बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु कोलिफर्म भेटियो

0

ढोरपाटन (बागलुङ)– बागलुङ जिल्लाका १० स्थानीय तहका विभिन्न खानेपानी मुहानमा गरिएको परीक्षणमा १०६ वटा मुहानमा कोलिफर्म जीवाणु फेला परेको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका लगायत जिल्लाका २८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो। परीक्षणका क्रममा सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार, काठेखोलामा परीक्षण गरिएका ४७ वटा मुहानमध्ये २७ वटामा तथा जैमिनी नगरपालिकामा परीक्षण गरिएका १०६ मध्ये ४४ वटामा कोलिफर्म भेटिएको छ। उहाँले परीक्षणको दायरा विस्तार गरिए अझ धेरै मुहानमा कोलिफर्म पत्ता लाग्न सक्ने बताउनुभयो।

यसै क्रममा, जनस्वास्थ्य कार्यालयले निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बागलुङ नगरपालिकाका खानेपानी मुहानमा पनि परीक्षण गरिरहेको छ। परीक्षणलाई क्रमशः सबै स्थानीय तहमा विस्तार गरिने जनाइएको छ।

प्राविधिक आचार्यका अनुसार, “कोलिफर्मयुक्त पानी पिउनका लागि उपयुक्त हुँदैन। यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बीलगायतका पानीजन्य रोग लाग्न सक्छन्। यसैले जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले नगरपालिकाले ‘वास प्लान’ तयार गरेको र त्यसअनुसार मुहानको सरसफाइ तथा संरक्षणमा काम गरिरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “कोलिफर्म नियन्त्रणका लागि नगरपालिका आफ्नो प्रयास जारी राख्नेछ। अन्य निकायहरूबाट प्राविधिक सहयोग लिएर आमनागरिकलाई पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न प्रेरित गरिनेछ। धेरै मुहानमा कोलिफर्म भेटिएकाले हामी गम्भीर रूपमा यसको व्यवस्थापनमा लागेका छौँ।”

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

0
प्रधानमन्त्री ओली-सम्बोधन धनगढी(कैलाली), २५ फागुनः प्रधानमन्त्री केपी शर्मा ओली आइतबार संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीद्वारा धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ कैलालीमा निर्मित धनगढी सभाहलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरूद्वारा मनाइने पवित्र पर्व ईदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै एक महिना लामो रोजा समाप्त भएपछि इस्लाम समुदायले उल्लासपूर्वक इदुल फित्र मनाउने परम्परा रहेको उल्लेख गर्नुभएको छ।

उहाँले सन्देशमा भन्नुभएको छ, “आज इस्लाम धर्मावलम्बीहरूले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ। रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले इदुल फित्र मनाउँदै छन्। ईद पर्वको अवसरमा सबैलाई शुभकामना।”

ईद पर्व प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको प्रतीक मानिन्छ। यस चाडले समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने परम्परागत विशेषता बोकेको छ।

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

0

बाजुरा: बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाले आक्रमण गर्दा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार रावत घर नजिकै आँगनमा खेलिरहेको बेला चितुवाले आक्रमण गरेको थियो। घटनास्थलमै उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ।

तीनकुने घटनामा ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

0

काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका ३० जनालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आइतबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त घटनामा पक्राउ परेका ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी आरोपमा ५ दिन हिरासतमा राख्ने आदेश दिएको हो।

यसै प्रकरणमा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) का महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष रवीन्द्र मिश्रलगायत ११ जनाको म्याद पनि ५ दिन थप गरिएको छ। ती ११ जना समेत शुक्रबारको राजावादी प्रदर्शनमा भाग लिएका थिए, जुन हिंसात्मक रूप लिएको थियो। प्रहरीले सो घटनामा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

प्रदर्शनका दौरान, राजावादी समूहले तीनकुने क्षेत्रमा व्यापक प्रदर्शन गर्दै सरकारविरोधी नारा लगाएका थिए। यस प्रदर्शनका कारण सार्वजनिक सुरक्षा खतरामा परेको र केही सार्वजनिक सम्पत्ति पनि क्षति पुगेको उल्लेख गरिएको छ। प्रहरीले घटनामा संलग्न ३० जनालाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

अदालतको आदेशअनुसार, पक्राउ परेका व्यक्तिहरूलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ। यस घटनामा थप अनुसन्धान र कानूनी कारबाही जारी रहने बताइएको छ।

दुर्गा प्रसाईंविरुद्ध अर्को उजुरी

0

काठमाडौं। मेडिकल व्यवसायी र राजसंस्था पुनर्स्थापनाका पक्षधर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी दर्ता भएको छ।

प्रसाईंले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्यूरोमा उजुरी दिएका हुन्।

प्रसाईंले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत सार्वजनिक गरेपछि भुसालले उक्त विषयमा झूटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन्।

उनको निवेदनमा उल्लेख छ, “टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने अभिव्यक्ति पूर्णरूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने हो। यस प्रकारको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु कानुन विपरित छ र सर्वोच्च अदालतले २०८० आषाढ १२ गते यौनिक र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको विवाह दर्ता गर्न सरकारलाई आदेश दिएको निर्णयलाई अपमानित गर्ने कार्य हो।”

उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिने प्रसाईंविरुद्ध विभिन्न माग राखेका छन्।

केही दिन पहिले, सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै, मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले पनि प्रसाईंविरुद्ध उजुरी दिएका थिए। उनले प्रसाईंले यौनिक र अल्पसंख्यक समुदायलाई लक्षित गरेर घृणा फैलाउने अभिव्यक्ति दिएको बताएका छन्।

मागहरू:

१. श्री दुर्गा प्रसाईंविरुद्ध कानुनी अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाइयोस्।

२. भ्रामक अभिव्यक्तिहरू हटाउन र सार्वजनिक रूपमा माफी माग्न लगाइयोस्।

३. भविष्यमा यस्ता गलत सूचना प्रवाह नगर्न सचेत गराइयोस्।

भुटानले अमेरिकालाई झुक्यायो, डिपोर्ट गरेर भुटान पठाइएका व्यक्ति नेपालबाट पक्राउ

0

काठमाडौं। अमेरिकाको ट्रम्प प्रशासनले आपराधिक कार्यमा संलग्न भएको भन्दै तीन जना भुटानी नागरिकलाई डिपोर्ट गरी भुटान पठाएको छ, र ती तीनै जनालाई अमेरिकाले भुटानको थिम्पुस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको थियो।

दुई हप्ता अघि अमेरिकाको ट्रम्प प्रशासनले केही देशहरूमा भिसामा प्रतिबन्ध लगाउने तयारी गरिरहेको जानकारी सार्वजनिक भएको थियो। यसमा, अमेरिकाले केही देशहरूलाई भिसामा पूर्ण प्रतिबन्ध लगाउने, केहीलाई आंशिक प्रतिबन्ध लगाउने, र केही देशले तोकिएको समयमा मापदण्ड पूरा नगरे आंशिक प्रतिबन्ध लगाउनेगरी तीन छुट्टाछुट्टै सूची बनाएको थियो।

भुटान तेस्रो सूचीमा थियो, जसमा अमेरिकाले तोकेको मापदण्ड तोकिएको समयभित्र पूरा नगरे प्रतिबन्धको सामना गर्नुपर्ने देशहरूको सूची थियो। भुटान सरकारले अमेरिका समक्ष आफ्नो देशको नाम यो सूचीबाट हटाउन आग्रह गरेको थियो। त्यसपछि, अमेरिकाले भुटानको शर्त मान्दै, त्यहाँ आपराधिक कार्यमा संलग्न भुटानी नागरिकलाई डिपोर्ट गर्न थाल्यो।

अमेरिकाले भुटानी नागरिकहरू रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जीलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने गरी डिपोर्ट गर्‍यो। ती तीनैजना नेपालीभाषी भुटानी नागरिक थिए। तर, भुटानमा अवतरण गरेपछि भुटान सरकारले उनीहरूलाई आफ्ना देशबाट निकालेर नेपाल पठाएको हो।

भुटानले उनीहरूलाई नेपालीभाषी भएको र नेपालका झापा स्थित शरणार्थी शिविरका बासिन्दा रहेको भन्दै आफ्नो देशबाट निकालेको हो। यसअघि पनि भुटानले नेपालीभाषी नागरिकहरूलाई देशबाट निकालेर नेपाल पठाएको थियो। भुटानले अहिले डिपोर्ट गरिएका तीन जनालाई पनि यस्तै गरी निकालेको हो।

भुटानले यसअघि देशनिकाला गरेका नेपालीभाषी नागरिकहरू अहिले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका छन्, र तीमध्ये केही अमेरिकी पुनर्वास नीतिअनुसार अमेरिका पनि गएका छन्। अहिले देशनिकाला गरिएका तीन जना भुटानी नागरिक अवैध रूपमा नेपाल प्रवेश गरेपछि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन्।

अमेरिकासँगको शर्तअनुसार, भुटानले ती नागरिकलाई आफ्नो देशमा स्वीकार गर्नुपर्ने थियो, तर भुटानले अमेरिकालाई झुक्याएर उनीहरूलाई देशनिकाला गरेको हो।