Saturday, June 27, 2026
Homeराजनीतिप्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। बैठक संसद भवन, नयाँ बानेश्वरमा निर्धारित गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरण लगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ।

त्यसैगरी, ‘बैकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक–२०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ प्रस्तुत गर्ने छन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभाबाट पारित ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतका दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक एक सातादेखि प्रभावित हुँदै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका