चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट सभापतिमा निर्वाचित भएपछि उनले औपचारिक रूपमा शपथ लिएका हुन्।
निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहण कार्यक्रममा अनुशासन आयोगका अध्यक्ष रमाकान्त नेपालको पनि उपस्थिति रहेको थियो।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत शुक्रबार पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएको हो। नयाँ नेतृत्व चयनसँगै पार्टीले महाधिवेशनका बाँकी कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।


