Saturday, June 27, 2026
Homeअन्तराष्ट्रियभेनेजुएलामा शक्तिशाली भूकम्पको विनाश, मृत्यु संख्या ९२० पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्पको विनाश, मृत्यु संख्या ९२० पुग्यो

एजेन्सी । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार केही सेकेन्डको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० जना घाइते भएका छन्।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार अझै १७२ जना भग्नावशेषमुनि फसेका छन् भने ३ हजार ७ जना विस्थापित भएका छन्।

भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चका अनुसार मुख्य भूकम्पपछि २० भन्दा बढी पराकम्प रेकर्ड गरिएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प एक मिनेटभन्दा कम समयको अन्तरमा आएको जनाएको छ।

भूकम्पबाट बचेकी मिकाएला ओभेलारले त्यो क्षणलाई कुनै भयावह चलचित्रभन्दा कम नभएको बताइन्। उनका अनुसार सार्वजनिक बिदाका कारण अधिकांश परिवार घरमै रहेका बेला साँझ करिब ६ बजे पहिलो भूकम्प गएको थियो। त्यसको एक मिनेटभन्दा कम समयमै दोस्रो र अझ शक्तिशाली भूकम्प आएपछि जमिन लगातार हल्लिएको, सडक चर्किएको आवाज सुनिएको, गाडीका अलार्म बजेको र मानिसहरू ज्यान जोगाउन भागदौड गरेको उनले बताइन्।

ओभेलारका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न आपूर्ति प्रभावित भएको छ भने विद्युत्, खानेपानी र इन्टरनेट सेवा पनि अवरुद्ध भएका छन्।

राजधानी नजिक रहेको भेनेजुएलाको सबैभन्दा ठूलो माइकेटिया सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा पनि गम्भीर क्षति पुगेको छ। विमानस्थल बन्द गरिएको छ भने सबै व्यावसायिक उडान रद्द गरिएका छन्।

सरकारी विवरणअनुसार भूकम्पबाट ३८३ वटा भवनमा क्षति पुगेको छ। तीमध्ये १३ वटा अस्पताल र २५ वटा व्यापारिक केन्द्र रहेका छन्। साथै, अन्य १ हजार २ वटा संरचनामा पनि विभिन्न स्तरको क्षति पुगेको जनाइएको छ।

शुक्रबार दिउँसोसम्म ८७१ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी राहत तथा उद्धार कार्यमा सहयोग गर्न भेनेजुएला पुगेका छन्।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक ला ग्वाइरा राज्यलाई सैनिक नियन्त्रणमा राखिएको घोषणा गरेकी छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका