Wednesday, September 2, 2026
Homeअन्तराष्ट्रियकिम जोङ उनलाई भेट्नुअघि एक महिनासम्म विशेष तालिम लिइन्छ : पूर्व कूटनीतिज्ञ

किम जोङ उनलाई भेट्नुअघि एक महिनासम्म विशेष तालिम लिइन्छ : पूर्व कूटनीतिज्ञ

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनलाई भेट्नु सामान्य नेतासँगको भेटजस्तो नहुने उत्तर कोरियाका पूर्वकूटनीतिज्ञ ली इल–ग्युले बताएका छन्। उनका अनुसार किमलाई भेट्नुअघि सम्बन्धित व्यक्तिहरूले करिब एक महिनासम्म विशेष तालिम लिनुपर्छ।

लीका अनुसार उक्त तालिममा किमको अगाडि कसरी उभिने, कहिले बोल्ने, कति बोल्ने तथा कस्तो शारीरिक हाउभाउ राख्ने भन्ने विषयमा प्रशिक्षण दिइन्छ। उनले किमसँग आफूले सात पटक भेट गरेको बताउँदै उनका अगाडि सानो गल्तीसमेत गम्भीर हुन सक्ने दाबी गरेका छन्।

ली इल–ग्यु उत्तर कोरियाको परराष्ट्र मन्त्रालयमा उपनिर्देशकका रूपमा काम गरिसकेका छन्। उनका अनुसार किमको अगाडि अनावश्यक रूपमा हल्लिने, गतिविधि गर्ने वा आफूखुसी कुराकानी सुरु गर्ने अनुमति हुँदैन।

किमले आफैँ प्रश्न नसोधेसम्म अगाडिको व्यक्तिले कुराकानी सुरु गर्न नहुने उनको भनाइ छ। किमले प्रश्न सोधेमा त्यसको उत्तर छोटो, सीधा र सही हुनुपर्ने तथा आफूलाई थाहा नभएको विषयमा सबै कुरा थाहा भएजस्तो देखाउन नहुने उनले बताए।

लीका अनुसार किम वरपर हुने कुराकानी तथा गतिविधिहरू रेकर्ड गरिन्छ। किमका सचिवहरूले उनले भनेका कुरा टिपोटसमेत गर्ने भएकाले उनको अगाडि झूट बोल्नु जोखिमपूर्ण हुन सक्ने उनले बताएका छन्।

लीले किमसँगको आफ्नो पहिलो भेटको अनुभव सुनाउँदै पहिलोपटक विमानस्थलको भिआइपी प्रतीक्षाकक्षमा भेट्दा आफू निकै नर्भस भएको बताए। बोल्दा आफ्नै आवाज काँपेको महसुस भए पनि आफूलाई सम्हालेर काम गर्नुपरेको उनको भनाइ छ।

उनका अनुसार किमलाई भेट्दा अत्यधिक प्रशंसा गर्ने, बनावटी मुस्कान दिने वा आफूलाई अरूभन्दा विशेष देखाउने प्रयास पनि उचित मानिँदैन। उनले किमलाई हाँसेको र अरूप्रति संवेदनशील भएको देखेको बताउँदै सत्ताको कठोर पक्षसमेत नजिकबाट अनुभव गरेको उल्लेख गरेका छन्।

नोभेम्बर २०१८ मा क्युबाका तत्कालीन राष्ट्रपति मिगेल दियाज–क्यानेलको उत्तर कोरिया भ्रमणका क्रममा लीले कार्यक्रम समन्वयको जिम्मेवारी सम्हालेका थिए। दुईदिने भ्रमणका क्रममा किमसँगको भेट, सरकारी भोज तथा प्योङयाङको मे डे स्टेडियममा आयोजित कार्यक्रम समावेश थिए।

लीका अनुसार किमसँग भएका उनका अधिकांश कुराकानी किमले सोधेका प्रश्नको उत्तर दिनमै सीमित हुन्थे। किमले विमान, खानाको रोजाइ तथा क्युबाको जनसङ्ख्याजस्ता विषयमा प्रश्न गर्ने गरेको उनले बताएका छन्।

लीले एक दोभाषेसँग जोडिएको घटनासमेत सुनाएका छन्। उनका अनुसार किमसँगको कुराकानी अनुवाद गर्ने क्रममा ती दोभाषेले किमको कुरा नसकिँदै बीचमै बोलेपछि किम रिसाएका थिए। किमले उनलाई ‘अभद्र’ वा ‘असभ्य’ भनेको र त्यसपछि उनी किमको आसपास नआउने गरी आदेश दिइएको लीको दाबी छ।

लीका अनुसार उक्त घटनापछि ती व्यक्तिले करिब एक हप्तासम्म ‘आलोचना सत्र’मा सहभागी भएर आफ्नै काम र व्यवहारको आलोचना गर्दै लेख्नुपरेको थियो। शक्तिशाली राजनीतिक संरचनाका कारण किमको एउटा आलोचनाले समेत कुनै व्यक्तिको भविष्यमा गम्भीर प्रभाव पार्न सक्ने उनको दाबी छ।

लीले किमसँग सात पटक भेट्दा हरेकपटक तनावपूर्ण वातावरण महसुस गरेको बताए। उनका अनुसार ती भेटहरूमा उनले किममा एक सामान्य मानिसको व्यवहार पनि देखे भने अर्कोतर्फ असीमित राजनीतिक शक्ति भएको शासकको कठोरता समेत नजिकबाट अनुभव गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका