म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड हिमताल पछिल्लो समय एउटै तालजस्तो देखिन थालेको छ। सन् २००३ मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगेका उद्धारकर्मी इन्द्रसिंह शेरचनले त्यसबेला पाँचवटा साना ताल स्पष्ट रूपमा देखेको सम्झन्छन्।
“हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे,” उनले भने, “अहिले पहिलेको जस्तो कुण्डहरू देखिन छाडेको छ।”
पहिले तालको किनारैकिनार हिँडेर आरोही तथा भरियाहरू अन्नपूर्ण आधार शिविर पुग्ने गरेका थिए। पर्यटन व्यवसायी शेरचनका अनुसार सन् २००७ मा तिलिचो तालबाट हिउँपहिरो खसेर जनधनको क्षति भएपछि चार हजार १९० मिटर उचाइमा रहेको हालको आधार शिविर प्रयोगमा ल्याइएको हो।
अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारमा रहेको पञ्चकुण्ड ताल अन्नपूर्ण र तिलिचो हिमालको हिउँ पग्लिएर आउने पानी संकलन भई बनेको प्राकृतिक हिमताल हो। पछिल्लो समय यो नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गए पनि जलवायु परिवर्तनको असरसमेत देखिन थालेको स्थानीयको भनाइ छ।
अन्नपूर्ण–६ का पर्यापर्यटन अध्येता घनश्याम खड्काका अनुसार हिमपहिरोको जोखिम र तापक्रम वृद्धिको असर पञ्चकुण्ड तालमा समेत देखिएको छ।
उनले इसिमोडका विज्ञबाट प्राप्त तथ्याङ्क उद्धृत गर्दै सन् २०१३ मा ०.०४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड हिमताल सन् २०२५ मा बढेर ०.३८८ वर्गकिलोमिटर पुगेको बताए।
“विगत १२ वर्षमा अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल)को आकार ८४६ प्रतिशतले विस्तार भएको इसिमोडको तथ्याङ्क छ,” खड्काले भने।
पाँच कुण्डबाट पञ्चकुण्ड नामकरण
सन् २०१० मा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग पहिचानका लागि नारच्याङका स्थानीयको अगुवाइ गर्दै गएको अभियन्ता तेज गुरुङका अनुसार पाँचवटा कुण्ड देखिने भएकाले यस क्षेत्रको नाम पञ्चकुण्ड राखिएको हो।
“शेर्पाहरूले ‘डिकिचो’ भन्ने यस ताललाई हामीहरूले नै पञ्चकुण्ड नामकरण गरेका हौँ,” उनले भने, “धार्मिक हिसाबले पनि यसलाई पञ्चकुण्ड भनिएको हो।”
शेर्पा भाषामा ‘डिकिचो’को अर्थ जमेको ताल भन्ने हुन्छ।
हिन्दू धार्मिक ग्रन्थ पञ्च रामायणमा यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँचवटा छुट्टाछुट्टै ताल रहेको उल्लेख गरिएको छ। धार्मिक मान्यताअनुसार कागभुसुन्डी नाम गरेका ऋषिले यहाँ तपस्या गरी ज्ञान आर्जन गरेको र त्यसबारे विभिन्न ठाउँमा प्रचारप्रसार गरेको विश्वास गरिन्छ।
पितृको सम्झनामा यहाँ पिण्डदान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ। ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ। स्थानीयवासीले पञ्चकुण्ड नजिकैको डाँडालाई कागभुसुन्डी नाम दिएका छन्।
पर्यटनको आकर्षण बढ्दै
नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग सञ्चालनमा आएपछि पञ्चकुण्ड तालमा पर्यटकको चहलपहल बढेको छ।
यस क्षेत्रको मुख्य विशेषता एउटै स्थानबाट हिमाल, आधार शिविर र तालको दृश्य अवलोकन गर्न सकिनु हो। पर्यटकहरू तालको किनारमा टहलिने, शान्त वातावरणमा रमाउने तथा ध्यान गर्ने गर्छन्। कतिपयले ताल र हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालका सामग्री बनाउने गरेका छन्।
स्थानीयका अनुसार केही वर्षअघिसम्म यो क्षेत्र सुनसान थियो। प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमै सीमित रहे पनि पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएपछि पञ्चकुण्ड पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो।
तर अभियन्ता गुरुङ भने पञ्चकुण्डको क्षेत्रफल विस्तार भएको र जोखिम बढेको भन्ने निष्कर्षमा पुग्नुअघि स्थलगत अध्ययन आवश्यक रहेको बताउँछन्।
“अहिलेसम्म अन्नपूर्ण आधार शिविरबाट बग्ने खोलामा बाढी आएको इतिहास छैन र तालको क्षेत्रफल बढेको होइन, गहिरिएको हो,” उनले भने, “विज्ञहरूले स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन।”
जोखिम मूल्याङ्कन आवश्यक
पञ्चकुण्डबाट बग्ने पानी मिस्त्रीखोलामार्फत नारच्याङ हुँदै कालीगण्डकी नदीमा मिसिन्छ। यही खोलाको पानी प्रयोग गरेर १५२ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन्।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पञ्चकुण्ड तालका विषयमा हालसम्म विस्तृत अध्ययन तथा अनुसन्धान नभएको बताए।
“विश्वव्यापी तापक्रम वृद्धिको असर देखिन थालेकाले पञ्चकुण्ड तालको जोखिमको अवस्थाबारे अध्ययन गर्नुपर्ने महसुस गरेका छौँ,” उनले भने, “हामीसँग स्रोतसाधन र विज्ञ जनशक्ति नभएकाले सङ्घीय सरकारसँग अध्ययन अनुसन्धानका लागि अनुरोध गर्ने सोचेका छौँ।”
अध्ययनअनुसार विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढ्दा हिमालय क्षेत्रमा तापक्रम वृद्धि १.८ देखि दुई डिग्री सेल्सियससम्म हुन सक्ने देखिएको छ। विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल बन्ने, विस्तार हुने तथा विस्फोटनको जोखिम बढ्ने गरेको छ।
म्याग्दीसमेत कार्यक्षेत्र रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार कम वर्षा र उच्च हिमपात हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा उच्च वर्षा हुँदा बाढीपहिरोका घटना बढिरहेका छन्।
उनका अनुसार गण्डकी प्रदेश सरकार मातहतको ताल प्राधिकरणले पञ्चकुण्डलगायत प्रदेशभरका तालतलैयाको विद्युतीय प्रोफाइल तयार पारेको छ। तर पञ्चकुण्ड हिमतालको विस्तृत भौगोलिक जोखिम मूल्याङ्कन भने हालसम्म भएको छैन।
विशेषज्ञहरूले अन्नपूर्ण हिमनदी खुम्चिने क्रम, पर्माफ्रोष्ट पग्लिने अवस्था तथा ताल वरपरको थर्मोकाष्टको अवस्थाबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। यसका लागि ल्यान्डसट र सेन्टिनेलजस्ता प्रविधिबाट अध्ययन गर्नुका साथै तालको गहिराइ र मोरिन बाँधको भौगोलिक अवस्थिति पत्ता लगाउन जियो राडार (जीपीआर), सिस्मिक तथा विद्युतीय इआरटी उपकरण प्रयोग गर्नुपर्ने देखिएको छ।
कालीगण्डकी जलवायु संवादको तयारी
गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पूर्णेश्वर सुवेदीले जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउन यस वर्ष कालीगण्डकी बेसिनमा जलवायु संवाद कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
“औद्योगिक देशहरूका कारण तापक्रम वृद्धिमा भएको असर हिमाली क्षेत्रमा देखिएको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न कालीगण्डकी जलवायु संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो,” उनले भने, “जलवायुजन्य विपद्को जोखिमयुक्त क्षेत्र पहिचान गरेर प्रविधियुक्त पूर्वानुमान प्रणाली प्रयोगमा ल्याउनुपर्ने महसुस गरेका छौँ।”
पञ्चकुण्ड हिमतालको पर्यटकीय महत्व बढ्दै गएको अवस्थामा यसको बदलिँदो स्वरूप, सम्भावित जोखिम र जलवायु परिवर्तनको प्रभावबारे वैज्ञानिक तथा विस्तृत अध्ययन आवश्यक देखिएको छ।


