काठमाडौं । युक्रेनको राजधानी किभनजिकै सेनाका हातहतियार भण्डारण गरिएको एक गोदाममा रुसले गरेको ड्रोन आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। आक्रमणपछि करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ।
किभको बाहिरी आवासीय क्षेत्रनजिकै रहेको उक्त गोदाममा शुक्रबार अबेर राति ड्रोन आक्रमण भएको थियो। आक्रमणपछि गोदाममा भण्डारण गरिएका गोलाबारुद, बारुदी सुरुङ तथा ड्रोनमा श्रृङ्खलाबद्ध विस्फोट भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
विस्फोटका कारण आसपासका कैयौँ भवनमा क्षति पुगेको छ। क्षति पुगेका संरचनामध्ये ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको हेरचाहका लागि सञ्चालित एक केन्द्रसमेत रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
राष्ट्रपति जेलेन्स्कीले घना बस्ती नजिकै यति ठूलो परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ भण्डारण गर्नु गम्भीर विषय भएको बताएका छन्। घटनाबारे छानबिन सुरु गरिएको जनाउँदै उनले सर्वसाधारणका घरनजिकै विस्फोटक पदार्थ भण्डारण गर्ने निर्णयमा संलग्न व्यक्तिको सम्भावित लापर्बाहीबारे समेत अनुसन्धान गरिने बताए।
किभनजिकै रहेको हातहतियार भण्डारण केन्द्रमा पछिल्ला केही महिनाभित्र भएको यो दोस्रो आक्रमण भएको जनाइएको छ। घटनापछि स्थानीय बासिन्दामा आक्रोशसमेत बढेको छ।
यसैबीच, रुसी रक्षा मन्त्रालयले आफ्ना सेनाले किभको पश्चिममा रहेको मायला गाउँस्थित गोलाबारुद गोदामलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
रुसका अनुसार उक्त गोदाममा एफपी–१ र एफपी–२ नामका लामो दूरीका ड्रोनका पार्टपुर्जा तथा तिनलाई प्रक्षेपण गर्ने बुस्टरहरू भण्डारण गरिएको थियो।
विस्फोटका कारण आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार घटनाबाट गाउँका करिब १३० वटा घरमा क्षति पुगेको छ।
घटनापछि उद्धार तथा राहत कार्य जारी राखिएको छ भने आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ।


