अमेरिकामा रहेका भुटानी नेपाली समुदायका अगुवा, गैरनाफामूलक संस्था, धार्मिक संगठन, व्यवसायी तथा समाजसेवीहरू नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि साझा अभियानमार्फत अघि बढ्ने भएका छन्।
संयुक्त अपिल जारी गर्दै समुदायले नेपालले विगतमा कठिन परिस्थितिमा आफूहरूलाई शरण, सुरक्षा, शिक्षा र आशा दिएको स्मरण गर्दै अहिले नेपाल संकटमा रहेका बेला सहयोग गर्नु मानवीय जिम्मेवारीसँगै कृतज्ञता व्यक्त गर्ने अवसर भएको जनाएको छ।
अभियानको उद्देश्य कुनै व्यक्ति वा संस्थाको प्रचार गर्नु नभई सम्पूर्ण भुटानी अमेरिकी समुदायको एकता, सद्भाव र मानवीय भावना प्रदर्शन गर्नु रहेको अपिलमा उल्लेख छ। सहयोग एउटै साझा माध्यमबाट संकलन गर्दा आर्थिक पारदर्शिता, जवाफदेहिता र जनविश्वास थप बलियो हुने समुदायको विश्वास छ।
यसैबीच, केही व्यक्ति तथा संस्थाले छुट्टाछुट्टै GoFundMe अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै संयुक्त अपिलमा त्यस्ता अलग अभियान सञ्चालन नगर्न आग्रह गरिएको छ। संकटको समयमा व्यक्तिगत वा संस्थागत श्रेयभन्दा माथि उठेर सहकार्य, एकता र मानवीयतालाई प्राथमिकता दिनुपर्ने अपिलमा जोड दिइएको छ।
समुदायका सबै संस्था र अगुवाहरूको योगदान समान रूपमा सम्माननीय रहेको उल्लेख गर्दै साझा अभियान कुनै एक संस्था वा समूहको नभई सम्पूर्ण भुटानी अमेरिकी समुदायको संयुक्त मानवीय प्रयास भएको बताइएको छ।
संकलित सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।
समुदायले सबैलाई साझा अभियानमा सहभागी हुँदै नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्न अपिल गरेको छ।
सहयोगका लागि:
GoFundMe अभियानमा सहयोग गर्नुहोस्
संयुक्त अपिल
भुटानी अमेरिकी समुदायका अगुवा, संघसंस्था तथा सहयोगीहरू


