Thursday, September 24, 2026
Homeकला/साहित्यप्रवास, प्रविधि र मानवीय संवेदना: समीक्षा- ‘प्रेयसी रोबोट’

प्रवास, प्रविधि र मानवीय संवेदना: समीक्षा- ‘प्रेयसी रोबोट’

विगत २४ वर्षदेखि क्यानडामा बस्दै आए पनि निरन्तर नेपाली भाषा र साहित्यको उन्नयनमा लागिपरिहेका व्यक्तिको नाम हो—सुरेन उप्रेती। उनका एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन्। खास गरी उनका बाल साहित्यका धेरै साहित्यिक पुस्तकहरू प्रकाशित छन्। उनको कविता सङ्ग्रह आजका स्वरहरू (२०५३) बाट पुस्तक प्रकाशन सुरु भएको पाइन्छ। कथा सङ्ग्रह अनन्त यात्रा, बधशालाको डिस्को धुन तथा प्रेयसी रोबोट प्रकाशित छन्। उनले गीत लेखनमा पनि कलम चलाएका छन्।

उनको कथा सङ्ग्रह प्रेयसी रोबोट आप्रवासीहरूको पीडा, व्यथा र कथा बोकेको सङ्ग्रह हो। मकालु प्रकाशन गृहबाट २०७७ सालमा प्रकाशित यो पुस्तकमा बाइस वटा कथाहरू सङ्गृहीत छन्। यस पुस्तकका बारेमा डा. नेत्र एटमले समालोचनात्मक चित्रण प्रस्तुत गरेका छन्।

प्रवासमा त्यहाँको भाषा, साहित्य र संस्कृतिसँग परिचित नहुँदा भोग्नुपरेका पीडा र अप्ठ्यारा परिस्थितिहरूलाई कथा सङ्ग्रहले समेटेको छ। पहिलो कथा बर्थडेमा एक किशोरीले त्यहाँको संस्कृति नबुझ्दा भोग्नुपरेको हन्डरको चित्र प्रस्तुत गरिएको छ। त्यस्तै, दोस्रो कथा इमर्जेन्सीकी नर्समा कोरोनाले संसारलाई नै स्तब्ध बनाएर कैद गरेका बेलाका कारुणिक कथालाई समेटिएको छ। खुसीको पल कथाभित्र नेपालबाट पढ्न गएको एक नेपालीले क्यानेडियन परिवारलाई भेटेर आफ्नै परिवार भएको थाहा पाउँदाको रोचक कथा छ।

यसमा विभिन्न हास्यले भरिएका छोटा कथाहरू पनि समेटिएका छन्। त्यस्तै, सपना, परिवेश, चिठ्ठा, प्रसव गराउने ड्राइभर, विदेश, स्वर्ग बनाउन हिँडेकाहरू, देश हराएको मान्छे, पुनर्जीवन, कुसेऔँसी, प्रेयसी रोबोट, गुराँस, फेसबुक, चोट, सन्त्रास, प्रवासको कथा, गिनिपेग मान्छे, डार्विन बुढा, गुरु हुने लक्षण र फादर्स डे कथाहरू समेटिएका छन्।

प्रेयसी रोबोटले एउटा युवाको सङ्घर्ष र सफलताको कथा बोकेको छ। विज्ञान र प्रविधिमा लिप्त भएपछि मानवता लोप हुने र मानिसको ठाउँ रोबोटले लिनुपर्ने अवस्थालाई कथाले चित्रण गरेको छ। मानिसले मानवता, आत्मीयता र कर्तव्यहरू बिर्सँदै गएपछि सिर्जना भएको दुःखद परिस्थितिको कथालाई यसले चित्रण गरेको छ।

सामाजिक सञ्जालले मानिसलाई सचेत गराउने, मनोरञ्जन दिने र ज्ञान दिने मात्र गर्दैनन्। समाजका सूचनाहरू प्रवाह गर्ने काम पनि गर्छन्। तर, सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा थुप्रै परिवार विखण्डित भएका छन्। मानिसले आफ्नो जीवनको सबै आर्जन गुमाएका छन्। आफ्नो पदीय दायित्व, प्रतिष्ठा र मर्यादाबाट च्युत भएका छन्।

संयुक्त परिवारबाट मानिस एकात्मक परिवारमा रूपान्तरण हुँदैछ। समग्रमा भन्ने हो भने मानिसले आफ्नो संस्कार, संस्कृति र सभ्यतालाई नै गुमाउँदै गएको छ। आफ्नो मातृभूमिलाई छोड्न विवश बनेका लाखौँ युवाहरूका कथालाई यस पुस्तकले बोकेको छ। देशभित्र भएका बेथिति र विकृतिको सिकार बनेर युवापुस्ताहरू देशबाहिर जान बाध्य भएका छन्। गाउँहरू उजाड बनेका छन्। गाउँ नै बुढाबुढीहरू मात्र बस्ने वृद्धाश्रममा रूपान्तरण हुँदैछ।

समयमै सबैले सचेत भएर यसलाई सही मार्गमा नल्याउने हो भने नेपालको भविष्य अन्योल हुने कुरा कथाकारले सङ्केत गरेका छन्। छोटा र मिठा कथा प्रस्तुत गरेर पाठकलाई ‘अब के होला?’ भन्ने कौतूहलता जन्माउन सक्नु नै कथाकारको सफलता हो। कतै रुवाउने कथा पढ्दा ‘आफैँलाई त भनेको होइन?’ जस्तो पाठकलाई भान पर्न सक्छ।

प्रेयसी रोबोट जस्तो पठनीय कथा सङ्ग्रहका लागि कथाकार सुरेन उप्रेतीलाई बधाई तथा सफलताका लागि हार्दिक शुभकामना।

मणि नेपाली पनेरू

 

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका