Thursday, September 24, 2026
Homeसामाचारकर्णालीमा भारी वर्षाको पूर्वानुमान, विपद् जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन निर्देशन

कर्णालीमा भारी वर्षाको पूर्वानुमान, विपद् जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन निर्देशन

सुर्खेत । कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएपछि सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले सुरक्षा निकायसहित सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी परिचालन हुन निर्देशन दिएको हो।

बैठकमा मुख्यमन्त्री मंगलबहादुर शाही, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो। बैठकले प्रदेशका स्थानीय तह र सम्बन्धित सुरक्षा निकायलाई आवश्यक तयारी, समन्वय तथा सतर्कतासहित परिचालन हुन निर्देशन दिएको छ।

सम्भावित विपद्का समयमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ। जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन तथा विपद्को अवस्था सिर्जना भएमा तत्काल सूचना आदानप्रदान गर्न पनि निर्देशन दिइएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो जाने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले जोखिमयुक्त बस्ती र यातायात मार्गमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रदेश सरकारले विपद्का समयमा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय तह र सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्ने जनाएको छ। साथै, सम्बन्धित सबै निकायलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिई आवश्यक पूर्वतयारीसहित उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका