Thursday, September 24, 2026
Homeसामाचारभारी वर्षा र हिमपातको जोखिम, पदयात्रा नगर्न टान गण्डकीको आग्रह

भारी वर्षा र हिमपातको जोखिम, पदयात्रा नगर्न टान गण्डकीको आग्रह

पोखरा । हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना देखिएपछि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले जोखिमपूर्ण क्षेत्रमा पदयात्रा नगर्न र नयाँ टोली नपठाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा भारी हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

अविरल वर्षा र हिमपातका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नुका साथै पदमार्ग, सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

मौसमी जोखिमलाई ध्यानमा राख्दै टान गण्डकीले आफ्ना सदस्य एजेन्सीहरूलाई असोज ९ देखि ११ गतेसम्म जोखिमपूर्ण पदयात्रा क्षेत्रमा नयाँ टोली नपठाउन आग्रह गरेको छ। पूर्वनिर्धारित पदयात्रा कार्यक्रमसमेत पुनरावलोकन गर्न टानले अपिल गरेको छ।

त्यसैगरी, अहिले पदयात्रा क्षेत्रमा रहेका गाइड तथा पोर्टरहरूलाई मौसमको अवस्था हेरी सुरक्षित स्थानमा बस्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका