Thursday, September 24, 2026
Homeअन्तराष्ट्रियपाकिस्तानद्वारा अफगानिस्तानका १० स्थानमा हवाई आक्रमण, तनाव बढ्यो

पाकिस्तानद्वारा अफगानिस्तानका १० स्थानमा हवाई आक्रमण, तनाव बढ्यो

काठमाडौं । पाकिस्तानले बिहीबार अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारका अनुसार अघिल्लो दिन अफगानिस्तानबाट पाकिस्तानतर्फ प्रवेश गरेका ड्रोनको जवाफमा ती आक्रमण गरिएको हो।

तरारले आक्रमण गरिएका स्थानहरू ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएको दाबी गरेका छन्। उनका अनुसार पाकिस्तानले ती स्थान पहिचान गरी लक्षित रूपमा कारबाही गरेको हो।

बुधबार पाकिस्तानले अफगानिस्तानबाट प्रवेश गरेका आठवटा ड्रोन खसालेको दाबी गरेको थियो। पाकिस्तानी अधिकारीहरूका अनुसार ती ड्रोन कोहाट र तोर्खम क्षेत्रबाट प्रवेश गर्ने प्रयास गरेका थिए। पाकिस्तानले सबै ड्रोन सीमा क्षेत्रनजिकै खसालिएको र त्यसबाट कुनै क्षति नभएको जनाएको थियो।

अफगानिस्तानका तालिबान अधिकारीहरूले भने पाकिस्तानको दाबी अस्वीकार गर्दै आफ्ना सुरक्षा बलले पाकिस्तानतर्फ कुनै ड्रोन आक्रमण नगरेको बताएका छन्। पछिल्लो हवाई आक्रमणमा अफगान पक्षले नागरिक हताहती भएको दाबीसमेत गरेको छ।

यसअघि पाकिस्तानी अधिकारीहरूले अफगानिस्तानको पक्तिया र नङ्गरहारबाट तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकुहरूले घुसपैठको प्रयास गरेको र त्यसलाई पाकिस्तानी सुरक्षा बलले विफल पारेको बताएका थिए। त्यसपछि अफगान तालिबान बलले पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा भारी हतियारबाट गोलाबारी गरेको र जवाफमा पाकिस्तानले सीमा क्षेत्रमा रहेका तालिबानका चौकी तथा मोर्टार अखडामा आक्रमण गरेको पाकिस्तानी पक्षको दाबी छ।

पाकिस्तानले टीटीपीलाई सरकारी भाषामा ‘फितना–उल–खवारिज’ भन्ने गरेको छ। टीटीपी र अफगान तालिबान अलग–अलग संगठन भए पनि उनीहरूबीच सम्बन्ध रहेको बताइन्छ। पाकिस्तानले अफगानिस्तानमा टीटीपीका गतिविधि र आश्रयस्थल रहेको आरोप लगाउँदै आएको छ भने अफगान तालिबानले यस्तो आरोप अस्वीकार गर्दै आएको छ।

दुवै देशबीच पछिल्लो समय सीमापार हिंसा र सैन्य कारबाहीका कारण तनाव बढ्दै गएको छ। केही दिनअघि पनि पाकिस्तानले अफगानिस्तानका पूर्वी क्षेत्रमा हवाई आक्रमण गरेको थियो। उक्त घटनामा पाकिस्तानले लडाकुहरू मारिएको दाबी गरेको थियो भने अफगान अधिकारी र संयुक्त राष्ट्रसंघले नागरिक हताहती भएको बताएका थिए।

यसैबीच बिहीबारको नयाँ आक्रमणपछि अफगान तालिबान सरकारले पाकिस्तानलाई जवाफ दिने चेतावनी दिएको छ। दुवै पक्षले एकअर्कामाथि सीमापार हिंसा र आतंकवादी गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै आएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका