जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६२४ जनाको उद्धार गरिएको छ। बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिइरहेका उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
उद्धार गरिएका व्यक्तिको स्वास्थ्य परीक्षणसमेत गरिएको छ। उपचार आवश्यक देखिएकालाई सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको र अन्यलाई परिवारसँग पुनर्मिलन गराइएको प्रजिअ रेग्मीले जानकारी दिए।
प्रशासनका अनुसार भोटेकोशी बाढीमा फसेका नागरिकको खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको छ। जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका भनिएका व्यक्तिको उद्धारबाहेक अन्य स्थानमा फसेका अधिकांशको उद्धार सम्पन्न भएको जनाइएको छ।
यद्यपि रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा अझै केही व्यक्ति फसेको हुनसक्ने आशंकामा हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण तथा खोजी भइरहेको प्रजिअ रेग्मीले बताए।
१ हजार ५५८ जना हराएको भन्दै निवेदन
भोटेकोशी बाढीपछि आफन्त हराएको भन्दै एक हजार ५५८ जना बेपत्ता भएको विवरणसहित परिवारजनले खोजतलासका लागि निवेदन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार आइतबारसम्म उक्त संख्यामा बेपत्ता व्यक्तिको खोजीका लागि निवेदन परेको हो।
हराइरहेका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र, विदुरमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।
बाढीमा फसेका तथा बेपत्ता नागरिकको खोज तथा उद्धारका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ। खोजी कार्यमा हेलिकप्टरसँगै तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ।
नुवाकोटमा ९५ शव सङ्कलन
भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिमध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव सङ्कलन गरिएको छ। जिल्लाका विभिन्न ३० स्थानमा परिचालन गरिएको संयुक्त सुरक्षा टोलीले खोज तथा उद्धारका क्रममा ती शव फेला पारेको हो।
सङ्कलन गरिएका शवको पहिचानका लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। शव परीक्षण तथा पहिचानका लागि नुवाकोटबाट काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले बाढीपछि आफन्त बेपत्ता भएका वा शव फेला परेको हुनसक्ने परिवारलाई शिक्षण अस्पताल महाराजगञ्जमा सम्पर्क गर्न आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेकाले बेपत्ता तथा मृतकको संख्या थप परिवर्तन हुनसक्ने सुरक्षा निकायले जनाएको छ।


