काठमाडौं। अमेरिकाको ट्रम्प प्रशासनले आपराधिक कार्यमा संलग्न भएको भन्दै तीन जना भुटानी नागरिकलाई डिपोर्ट गरी भुटान पठाएको छ, र ती तीनै जनालाई अमेरिकाले भुटानको थिम्पुस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएको थियो।
दुई हप्ता अघि अमेरिकाको ट्रम्प प्रशासनले केही देशहरूमा भिसामा प्रतिबन्ध लगाउने तयारी गरिरहेको जानकारी सार्वजनिक भएको थियो। यसमा, अमेरिकाले केही देशहरूलाई भिसामा पूर्ण प्रतिबन्ध लगाउने, केहीलाई आंशिक प्रतिबन्ध लगाउने, र केही देशले तोकिएको समयमा मापदण्ड पूरा नगरे आंशिक प्रतिबन्ध लगाउनेगरी तीन छुट्टाछुट्टै सूची बनाएको थियो।
भुटान तेस्रो सूचीमा थियो, जसमा अमेरिकाले तोकेको मापदण्ड तोकिएको समयभित्र पूरा नगरे प्रतिबन्धको सामना गर्नुपर्ने देशहरूको सूची थियो। भुटान सरकारले अमेरिका समक्ष आफ्नो देशको नाम यो सूचीबाट हटाउन आग्रह गरेको थियो। त्यसपछि, अमेरिकाले भुटानको शर्त मान्दै, त्यहाँ आपराधिक कार्यमा संलग्न भुटानी नागरिकलाई डिपोर्ट गर्न थाल्यो।
अमेरिकाले भुटानी नागरिकहरू रोशन तामाङ, आशिष सुवेदी र सन्तोष दर्जीलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने गरी डिपोर्ट गर्यो। ती तीनैजना नेपालीभाषी भुटानी नागरिक थिए। तर, भुटानमा अवतरण गरेपछि भुटान सरकारले उनीहरूलाई आफ्ना देशबाट निकालेर नेपाल पठाएको हो।
भुटानले उनीहरूलाई नेपालीभाषी भएको र नेपालका झापा स्थित शरणार्थी शिविरका बासिन्दा रहेको भन्दै आफ्नो देशबाट निकालेको हो। यसअघि पनि भुटानले नेपालीभाषी नागरिकहरूलाई देशबाट निकालेर नेपाल पठाएको थियो। भुटानले अहिले डिपोर्ट गरिएका तीन जनालाई पनि यस्तै गरी निकालेको हो।
भुटानले यसअघि देशनिकाला गरेका नेपालीभाषी नागरिकहरू अहिले पूर्वी नेपालको शरणार्थी शिविरमा रहेका छन्, र तीमध्ये केही अमेरिकी पुनर्वास नीतिअनुसार अमेरिका पनि गएका छन्। अहिले देशनिकाला गरिएका तीन जना भुटानी नागरिक अवैध रूपमा नेपाल प्रवेश गरेपछि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन्।
अमेरिकासँगको शर्तअनुसार, भुटानले ती नागरिकलाई आफ्नो देशमा स्वीकार गर्नुपर्ने थियो, तर भुटानले अमेरिकालाई झुक्याएर उनीहरूलाई देशनिकाला गरेको हो।


