Sunday, June 28, 2026
Home Blog Page 502

शिक्षा ऐनको माग गर्दै शिक्षकको आन्दोलन दसौं दिनमा, सरकार टसको मस छैन

0

काठमाडौं: विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन आज दसौं दिनमा प्रवेश गरेको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलन चर्किंदै जाँदा पनि सरकारले माग सम्बोधन गर्ने कुनै संकेत देखाएको छैन।

शिक्षकहरू ऐन जारी नगरेसम्म आन्दोलन नरोकिने अडानमा छन्। बिहीबार महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सवा घण्टा छलफल भए पनि निष्कर्षमा पुग्न सकेन। छलफलका क्रममा महासंघले २४ बुँदे ध्यानाकर्षण पत्र मन्त्रालयमा बुझाएको थियो।

महासंघले अध्यादेशमार्फत, संसद्को विशेष अधिवेशन बोलाएर वा आगामी अधिवेशनमार्फत प्रक्रिया अघि बढाई माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन्। उनले सरकार वार्ताको नाममा अघिपछि झुक्याउने गरेको भन्दै यो आन्दोलनलाई निर्णायक आन्दोलनको रूपमा लिएको बताएका छन्।

महासंघकी सहअध्यक्ष तथा आन्दोलन समिति संयोजक नानुमाया पराजुलीले मन्त्रालय गम्भीर देखिए पनि ऐन तुरुन्तै ल्याउनुपर्ने आवश्यकता औंल्याइन्। उनले फास्ट ट्रयाकबाट भए पनि ऐन ल्याउनुपर्नेमा जोड दिइन्।

‘प्रधानमन्त्री, सभामुख, प्रमुख दलका नेताहरू बसेर ऐन जारी हुने विश्वसनीय आधार के हो? त्यो स्पष्ट नपाएसम्म आन्दोलन रोकिँदैन,’ पराजुलीको भनाइ छ।

शिक्षकहरूले अहिले पनि २०२८ सालकै शिक्षा ऐनअनुसार काम गर्नुपर्ने बाध्यता रहेको जनाएका छन्। अस्थायी शिक्षक, तलब-भत्ता, सेवा-सुविधा, बढुवा लगायतका विषयलाई व्यवस्थापन गर्न नयाँ ऐन अनिवार्य भएको शिक्षकहरूको भनाइ छ।

सुदूरपश्चिमका अध्यक्ष डिल्लीराज पन्तले सरकार उदासीन देखिएकाले शनिबारदेखि आन्दोलन अझ उग्र बनाइने चेतावनी दिएका छन्। उनले शुक्रबार माइतीघर मण्डलाका चारवटै नाका बन्द गर्ने तयारी भइरहेको जानकारी दिए।

‘हामीको सहनशीलतालाई कमजोरी नठानियोस्। प्रधानमन्त्री र शिक्षामन्त्री गम्भीर छैनन्,’ पन्तले भने।

शिक्षकहरूले दैनिक रूपमा काठमाडौंको सडकमा प्रदर्शन गर्दा आर्थिक र शारीरिक रूपमा थाक्दै गएको गुनासो गरेका छन्। ऋणको भार पनि थपिँदै गएको उनीहरूको भनाइ छ।

महासंघले बुझाएको २४ बुँदे मागमा अस्थायी शिक्षकको स्थायीत्व, तलब र ग्रेडमा समानता, सेवा-सुविधा, बढुवा, निवृत्तीभरण, स्थानीय तहको मनपरी नियन्त्रण, प्रधानाध्यापक नियुक्ति लगायतका विषय समेटिएका छन्।

शिक्षकहरूले अब सरकारको जवाफ पर्खेर मात्र बस्ने अवस्था नरहेको र चाँडै निष्कर्ष ननिकाले आन्दोलन थप सशक्त र फराकिलो बनाइने जनाएका छन्।

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च पुगिन पत्नी निकिता

0

काठमाडौं: सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।

रास्वपाका अनुसार शुक्रबार रविको पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्।

गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई सहकारीको रकम ठगीको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सो आदेशपछि उनी कारागार चलान भएका थिए।

यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर त्यसविरुद्धको पुनरावेदनमा उच्च अदालतले थुनामा पठाउने निर्णय सुनाएको हो।

रास्वपाले लामिछानेलाई पक्राउ पुर्जी बिना नियन्त्रणमा लिएको र प्रहरीद्वारा ज्यादती गरिएको आरोप लगाउँदै आएको छ।

तीनकुने घटनाको न्यायीक छानबिन समिति आवश्यक छैन : गृहमन्त्री

0

काठमाडौं: गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाको विषयमा छुट्टै न्यायिक छानबिन समिति गठन आवश्यक नरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री लेखकले तीनकुनेमा आपराधिक गतिविधि भएको र फौजदारी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढिसकेकोले छुट्टै छानबिनको आवश्यकता नरहेको स्पष्ट पारे।

उनका अनुसार दोषी देखिएका व्यक्तिहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ भने हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्नलाई पक्राउ गर्ने काम अझै जारी छ। उनले उक्त घटना नियोजित रुपमा आतंक र अराजकता फैलाउने आपराधिक कार्य भएकोमा कुनै विवाद नरहेको दाबी गरे।

गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थामा असन्तुष्टि व्यक्त गर्न पाउने अधिकार भए पनि संविधान च्यात्ने र व्यवस्था उल्ट्याउने कार्य सह्य नहुने उल्लेख गरे। उनले आगो लगाएर निरंकुशताको खोजी गर्नु अनुचित भएको र हिन्दु धर्मजस्तो उच्च धर्मलाई घटिया राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु नहुने बताए।

उनले लोकतन्त्रमा देखिएका कमजोरीलाई सुधार्दै अघि बढ्नुपर्नेमा जोड दिँदै तानाशाही व्यवस्था लोकतन्त्रको विकल्प हुन नसक्ने धारणा व्यक्त गरे।

मन्त्री लेखकले चैत्र १५ गते निषेधित क्षेत्र तोड्ने प्रयास भएकाले सुरक्षाकर्मीहरूले संयमता अपनाउँदै आवश्यक बल प्रयोग गरेको जानकारी दिए। तीनकुने घटनामा घाइते भएकाहरूको उपचार सरकारद्वारा हुने निर्णय भइसकेको उल्लेख गर्दै उनले अस्पतालबाहिरबाट औषधि खरिद गर्नुपरेमा त्यसको खर्च पनि सरकारले व्यहोर्ने जानकारी दिए।

विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु

0

नयाँ दिल्ली: एयर इन्डिया एक्सप्रेसका एक पाइलटको बुधबार मृत्यु भएको छ। विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि औपचारिकता पूरा गर्दै गर्दा पाइलट अरमानलाई असजिलो महसुस भएको थियो।

केहीबेरमै उनी बेहोस भएर ढलेका थिए। अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।

सहकर्मीहरूका अनुसार पाइलट अरमानले ककपिटमै वान्ता गरेका थिए। एयर इन्डिया एक्सप्रेसले अनावश्यक अनुमान नगर्न आग्रह गर्दै उनको निधनप्रति दुःख प्रकट गरेको छ।

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

0

काठमाडौं: जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

आज झापाबाट प्रहरीले पक्राउ गरेका प्रसाईंलाई थप अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका उनी मुख्य नेतृत्वकर्ता (कमाण्डर) मानिन्छन्। सो प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। त्यसपछि प्रसाईं फरार भएका थिए।

तर उनी भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका हुन्।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रूपैयाँ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५३ पैसा र बिक्रीदर २० रूपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ ५२ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण

0

काठमाडौँ: वन तथा वातावरण मन्त्रालयले पेरिस सम्झौताअन्तर्गत नेपालले सन् २०३५ सम्मको लागि तयार गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) को मस्यौदा सार्वजनिक गरेको छ। हाल मन्त्रालयले सरोकारवालाहरूबाट लिखित सुझाव संकलन गरिरहेको छ।

पृष्ठभूमि
पेरिस सम्झौताअनुसार सबै सदस्य राष्ट्रले पाँच-पाँच वर्षमा एनडिसी पेस गर्नुपर्छ।

नेपालले सन् २०१६ मा पहिलो र २०२० मा दोस्रो एनडिसी पेश गरिसकेको छ।

तेस्रो एनडिसी सन् २०३५ सम्मको लक्ष्य समेट्नेछ।

मुख्य लक्ष्यहरू
शून्य कार्बन उत्सर्जन रणनीति (Net-Zero) सन् २०४५ भित्र प्राप्त गर्ने।

ऊर्जा उत्पादन:

सन् २०३० सम्म १४,३१ मेगावाट नवीकरणीय ऊर्जा।

सन् २०३५ सम्म २८,५०० मेगावाट नवीकरणीय ऊर्जा।

ट्रान्समिसन हानि:

सन् २०३० मा ११.५% मा घटाउने।

सन् २०३५ मा १०.५% मा झार्ने।

फोहोरबाट ऊर्जा उत्पादन:

विशेष आर्थिक क्षेत्रहरूमा प्लान्टहरू स्थापना।

काठमाडौँमा दैनिक १०० टन ‘आरडिएफ’ प्लान्ट निर्माण।

यातायात क्षेत्रका लक्ष्यहरू
सन् २०३० सम्म:

निजी सवारी: ९०% विद्युतीकरण।

सार्वजनिक यातायात: ९०% विद्युतीकरण।

उपत्यकामा ५० किमी इलेक्ट्रिक ट्रान्जिट (ट्रलीबस, लाइट रेल)।

सन् २०३५ सम्म:

निजी सवारी: ९५% विद्युतीकरण।

उपत्यकामा १०० किमी विद्युतीय यातायात विस्तार।

अनुकूलन तथा सहभागिता
जलवायु अनुकूलन, वित्तीय व्यवस्थापन, क्षति–हानि न्यूनीकरण, र स्थानीय तहमा जलवायु कार्यान्वयन योजना समावेश।

समावेशी परामर्श प्रक्रिया : स्थानीय समुदाय, महिला, युवाहरू, आदिवासी जनजाति, निजी क्षेत्र, सञ्चारमाध्यम, सांसदहरूको सहभागिता।

‘कसैलाई नछाड्ने’ सिद्धान्तमा आधारित योजना।

विज्ञहरूको धारणा
डा. महेश्वर ढकाल: परिमाणात्मक लक्ष्यहरू समेटिएको र सब तहमा छलफल भइसकेको जानकारी।

डा. धर्मराज उप्रेती: कार्यान्वयनको प्रभावकारिता सुनिश्चित गर्न सबै तह र क्षेत्रको सहकार्य आवश्यक।

मञ्जित ढकाल: वर्तमान एनडिसीहरू पर्याप्त नभएको, तापमान वृद्धि रोक्न थप प्रभावकारी प्रयास आवश्यक।

गीता पाण्डे: समावेशी रणनीति सकारात्मक, तर प्रभावकारी कार्यान्वयन अझ महत्त्वपूर्ण।

निष्कर्ष
नेपालको तेस्रो एनडिसीले जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण र दिगो विकासको दिशामा ठोस लक्ष्यहरू तय गरेको छ। तर, यस्ता योजनाहरू सफल बनाउन नीतिगत प्रतिबद्धता, स्रोतको सुनिश्चितता, अन्तरसरकारी समन्वय, र स्थानीयस्तरको सक्रिय सहभागिता अत्यावश्यक हुने देखिन्छ।

ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ प्रवेश

0

दमौली (तनहुँ): ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा बिहीबार साँझ तनहुँ आइपुगेको छ।

राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार, कोट–गढी–किल्लाहरूको संरक्षण, र एकीकरण इतिहासबारे आमजनमा जागरण फैलाउने उद्देश्यसहित सुरु गरिएको पदयात्रा गोरखा दरबारबाट प्रारम्भ भई पालुङटार, सतिघाट हुँदै तनहुँ प्रवेश गरेको हो।

सतिघाटमा रिपुमर्दन गणले पदयात्राको झण्डा भानु नगरपालिकास्थित रूरू भैरव दल गणलाई हस्तान्तरण गर्‍यो। पदयात्रा टोलीलाई स्थानीयवासीहरूले बाजागाजासहित भव्य स्वागत गरे। स्वागत कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायत सहभागी थिए।

पदयात्रा टोली आज (शुक्रबार) व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुग्ने कार्यतालिका रहेको छ। त्यहाँ झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गरिनेछ। सेनानी वसन्त कार्कीका अनुसार, स्थानीय तहको समन्वयमा विभिन्न स्थानमा स्वागत कार्यक्रमहरू तय गरिएको छ।

तनहुँसुरपछि टोली धेनुङ देउराली पुग्नेछ र झण्डा श्री नम्बर ३ राजदल गणलाई हस्तान्तरण गरिनेछ। त्यसपछि टोली केलादीघाट पुग्नेछ, जहाँ झण्डा श्री दि फेमस महेन्द्रदल गणलाई दिइनेछ। चैत २९ देखि वैशाख २ गतेसम्म पदयात्रा टोली तनहुँ खण्डमा रहनेछ।

केलादीघाटपछि टोली नुवाकोटगढी पुग्नेछ र त्यहाँबाट वैशाख ७ गते अन्तिम गन्तव्य जीतगढीतर्फ प्रस्थान गर्नेछ। पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झण्डा, र एकीकरणका समयमा स्थापना गरिएका पाँच ऐतिहासिक कम्पनी—श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी, सबुज—र जितगढी लडाइँमा सहभागी गुरूबक्स गुल्मको झण्डा पनि समावेश गरिएको छ।

नेपाली सेनाका अनुसार गोरखादेखि जीतगढीसम्मको पदयात्रा दूरी २०७ किलोमिटर रहेको छ। सेनाले हरेक वर्ष यो पदयात्रा आयोजना गर्दै आएको छ।

पत्रकार रजकको मृत्युपछि न्यायको मागमा माओवादीको दबाब: सापकोटा

0

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आगजनीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन माओवादी केन्द्रले सरकारलाई निरन्तर दबाब दिइरहेको बताएका छन्।

बिहीबार ताहाचलस्थित रजकको निवासमा पुगेर सापकोटाले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कडा कारबाहीका लागि पार्टीले पटकपटक सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए।

“पीडित परिवारको पक्षमा हाम्रो पार्टी दृढतापूर्वक उभिएको छ,” सापकोटाले भने, “परिवारले उठाएका मागहरूमा हाम्रो समर्थन छ।”

रजकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही, सुरेशलाई सहिद घोषणा गर्न तथा तीनकुनेमा उनको सालिक निर्माण गर्न सरकारसँग माग गरेका छन्।

गत चैत १५ गते विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको पूर्वराजा ज्ञानेन्द्र शाह समर्थक भीडले तीनकुनेस्थित एक निजी घरमा गरेको तोडफोड र आगजनीको क्रममा प्रदर्शनको दृश्य खिचिरहेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो।

भेट्रान्स कप रनिङ शिल्ड फुटबलको उपाधि हेटौँडालाई

0

कास्की: पोखरामा सम्पन्न तेस्रो संस्करणको ‘४५ वर्षमाथिको एट ए साइड भेट्रान्स कप रनिङ शिल्ड’ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा भेट्रान्सले जितेको छ। ‘आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटबल’ भन्ने नारासहित अमरसिंह ब्वाइज क्लबको आयोजनामा पोखरा रङ्गशालामा भएको फाइनल खेलमा हेटौँडाले रूपन्देही ११ लाई २–० ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो।

खेलको १९औँ मिनेटमा उमल मोक्तानले पहिलो गोल गर्दै हेटौँडालाई अग्रता दिलाए भने दोस्रो हाफको २७औँ मिनेटमा अटल बर्माले दोस्रो गोल गर्दै जित पक्का गरे।

विजेता हेटौँडाले उपाधिसहित नगद रु १,५५,५५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता रूपन्देहीले नगद रु ७७,७७७, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि हेटौँडाका उदय गुरुङले जिते। उहाँलाई नगद रु १०,००० प्रदान गरिएको थियो।

पुरस्कार वितरण गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लब अध्यक्ष राजेश गुरुङ, गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव विनोद गुरुङ, र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङलगायतले गर्नुभएको थियो।

क्लबका सचिव विजय घिमिरेका अनुसार प्रतियोगितामा देशभरिबाट ११ टोलीको सहभागिता रहेको थियो।