दमौली (तनहुँ): ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा बिहीबार साँझ तनहुँ आइपुगेको छ।
राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार, कोट–गढी–किल्लाहरूको संरक्षण, र एकीकरण इतिहासबारे आमजनमा जागरण फैलाउने उद्देश्यसहित सुरु गरिएको पदयात्रा गोरखा दरबारबाट प्रारम्भ भई पालुङटार, सतिघाट हुँदै तनहुँ प्रवेश गरेको हो।
सतिघाटमा रिपुमर्दन गणले पदयात्राको झण्डा भानु नगरपालिकास्थित रूरू भैरव दल गणलाई हस्तान्तरण गर्यो। पदयात्रा टोलीलाई स्थानीयवासीहरूले बाजागाजासहित भव्य स्वागत गरे। स्वागत कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायत सहभागी थिए।
पदयात्रा टोली आज (शुक्रबार) व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुग्ने कार्यतालिका रहेको छ। त्यहाँ झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गरिनेछ। सेनानी वसन्त कार्कीका अनुसार, स्थानीय तहको समन्वयमा विभिन्न स्थानमा स्वागत कार्यक्रमहरू तय गरिएको छ।
तनहुँसुरपछि टोली धेनुङ देउराली पुग्नेछ र झण्डा श्री नम्बर ३ राजदल गणलाई हस्तान्तरण गरिनेछ। त्यसपछि टोली केलादीघाट पुग्नेछ, जहाँ झण्डा श्री दि फेमस महेन्द्रदल गणलाई दिइनेछ। चैत २९ देखि वैशाख २ गतेसम्म पदयात्रा टोली तनहुँ खण्डमा रहनेछ।
केलादीघाटपछि टोली नुवाकोटगढी पुग्नेछ र त्यहाँबाट वैशाख ७ गते अन्तिम गन्तव्य जीतगढीतर्फ प्रस्थान गर्नेछ। पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झण्डा, र एकीकरणका समयमा स्थापना गरिएका पाँच ऐतिहासिक कम्पनी—श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी, सबुज—र जितगढी लडाइँमा सहभागी गुरूबक्स गुल्मको झण्डा पनि समावेश गरिएको छ।
नेपाली सेनाका अनुसार गोरखादेखि जीतगढीसम्मको पदयात्रा दूरी २०७ किलोमिटर रहेको छ। सेनाले हरेक वर्ष यो पदयात्रा आयोजना गर्दै आएको छ।


