Saturday, July 11, 2026
Home Blog

सुपर टाइफुन ‘बाभी’को कहरः फिलिपिन्समा १५ को मृत्यु, जापान–ताइवान उच्च सतर्कतामा

0

काठमाडौं। विगत केही दशकयताकै शक्तिशाली आँधीमध्ये एक मानिएको सुपर टाइफुन ‘बाभी’ का कारण फिलिपिन्समा पहिरो जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। आँधीको प्रभाव बढ्दै गएसँगै ताइवान, जापान, चीन र अन्य पूर्वी एसियाली देशहरूले व्यापक पूर्वतयारी थालेका छन्।

करिब एक हजार किलोमिटर चौडाइमा फैलिएको ‘बाभी’ प्रशान्त महासागरबाट उत्तरतर्फ अघि बढ्दै ताइवान आसपासको क्षेत्रमा पुगेको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै ताइवान सरकारले हिमाली तथा पहाडी क्षेत्रबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको दक्षिणी साकिसिमा टापुहरूमा शनिबार भारी वर्षा र तीव्र हावाहुरीसहित टाइफुनको प्रभाव देखिएको छ। आँधीको केन्द्र आसपास प्रतिघन्टा १४४ किलोमिटरको निरन्तर हावा र झोक्काको गति १९८ किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्ने चेतावनी जारी गरिएको छ।

खराब मौसमका कारण जापानको लोकप्रिय पर्यटकीय गन्तव्य इशिगाकीमा सबै उडान तथा फेरी सेवा स्थगित गरिएको छ। जापान एयरलाइन्सले शुक्रबार र शनिबारका लागि १०० भन्दा बढी उडान रद्द गरेको जनाएको छ, जसबाट करिब २० हजार यात्रु प्रभावित भएका छन्।

ताइवानमा पनि खराब मौसमका कारण ९१७ अन्तर्राष्ट्रिय र २७४ आन्तरिक उडान रद्द गरिएका छन्। राष्ट्रपति लाई चिङ–तेले आँधी केही कमजोर भए पनि यसको दायरा अझै विशाल रहेकाले तीव्र हावाहुरी र भारी वर्षाको जोखिम कायम रहेको बताएका छन्।

मौसमविद्का अनुसार बाभी ताइवानको मुख्य भूमिमा प्रत्यक्ष ठोक्किने सम्भावना कम भए पनि केही क्षेत्रमा एक मिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।

नासाका अनुसार जुलाई ५ मा टाइफुन ‘बाभी’को अधिकतम हावाको गति प्रतिघन्टा २९० किलोमिटरसम्म पुगेको थियो। हाल यसको गति घटेर करिब २०० किलोमिटर प्रतिघन्टा रहेको चीनको राष्ट्रिय मौसम केन्द्रले जनाएको छ।

यसअघि यही आँधी अमेरिकाको गुआम, रोटा, साइपन तथा उत्तरी मारियाना टापुहरूबाट गुज्रँदा व्यापक क्षति पुर्‍याएको थियो। ती क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको, सडक जलमग्न बनेका, भवनमा क्षति पुगेका तथा समुद्री मार्गहरू अवरुद्ध भएको जनाइएको छ।

आँधीका कारण ताइवान र हङकङबीचका अधिकांश सप्ताहन्त उडानहरू पनि रद्द गरिएका छन्। साथै, पूर्वी चीनका केही तटीय सहर जाने हवाई सेवा समेत प्रभावित भएका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन्।

पूर्व बेलायती मन्त्री एन विडेकोम्बेको मृत्यु प्रकरणमा हत्या आशंकामा एक जना पक्राउ

0

काठमाडौं। पूर्व बेलायती सांसद तथा पूर्व सरकारी मन्त्री ७८ वर्षीया एन विडेकोम्बेको मृत्यु प्रकरणमा हत्या आशंकामा प्रहरीले २६ वर्षीय एक जनालाई पक्राउ गरेको छ।

डेभन र कर्नवाल प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार बेलायती नागरिक रहेका ती संदिग्धलाई डेभनस्थित न्यूटन एबोटबाट पक्राउ गरिएको हो। हाल उनीसँग घटनाबारे विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

पूर्व कन्जरभेटिभ मन्त्री तथा रिफर्म युकेकी पूर्व प्रवक्ता विडेकोम्बेको शव बिहीबार बिहान डार्टमूर क्षेत्रको ह्याटर गाउँस्थित आफ्नै निवासमा फेला परेको थियो। प्रहरीका अनुसार उनको शरीरमा गम्भीर चोटपटक देखिएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानमा काउन्टर टेररिज्म पुलिसिङ टोली पनि संलग्न भए पनि हालसम्म यो घटनालाई आतंकवादसँग सम्बन्धित नरहेको निष्कर्ष निकालिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख प्रहरी अधिकारी म्याट लङम्यानले घटनाको पछाडि कुनै राजनीतिक उद्देश्य रहेको संकेत गर्ने प्रमाण हालसम्म फेला नपरेको बताए। साथै, पक्राउ परेका व्यक्तिको मृतकसँग कुनै पूर्वपरिचय थियो वा थिएन भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले स्पष्ट पारे।

प्रहरीका अनुसार अनुसन्धान अझै प्रारम्भिक चरणमै रहेकाले घटनासँग सम्बन्धित कुनै जानकारी भए उपलब्ध गराएर अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।

यस घटनाप्रति बेलायती प्रधानमन्त्री केयर स्टारमर सहित विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

अमेरिकाको इरानसँग माग– हर्मुज जलडमरूमध्य सुरक्षित रहेको सार्वजनिक घोषणा गर

0

काठमाडौं। अमेरिका र इरानबीच शनिबार हुने वार्ताअघि वासिङ्टनले तेहरानसँग हर्मुज जलडमरूमध्य सुरक्षित रहेको सार्वजनिक रूपमा घोषणा गर्न आग्रह गरेको छ।

अमेरिकी प्रशासनले इरानले हर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय व्यावसायिक जहाजका लागि खुला रहेको र ती जहाजहरूमाथि गोलीबारी नगर्ने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरोस् भन्ने चाहेको जनाएको छ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार ह्वाइट हाउसले इरानले व्यावसायिक जहाजहरूमाथि भएको गोलीबारीलाई गल्तीका रूपमा स्वीकार गर्न पनि चाहेको छ।

रिपोर्टमा नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँगको निजी छलफलमा जहाजमाथिको गोलीबारीलाई ‘गल्ती’ भएको स्वीकार गरेको दाबी गरिएको छ। यद्यपि, इरानले उक्त घटनाको जिम्मेवारी आफ्ना समर्थक विद्रोही समूहहरूमध्ये एकमाथि लगाएको बताइएको छ।

यसअघि जुन महिनामा अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताअनुसार इरानले व्यावसायिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो।

सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले इरानबाट प्राप्त जानकारी उद्धृत गर्दै कट्टरपन्थी विद्रोही समूहले व्यावसायिक जहाजमाथि आक्रमण गरी दुई देशबीच जारी वार्तालाई विफल पार्ने प्रयास गरेको दाबी गरेका छन्।

रिपोर्टमा एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, “उनीहरू (इरानी पक्ष) वार्ताको टेबलमा फर्किए र भने, ‘हामीबाट गल्ती भयो, अब वार्ता जारी राखौँ।’”

इरानलाई ट्रम्पको कडा चेतावनी, ‘धम्की कार्यान्वयन भए हजारौँ क्षेप्यास्त्र प्रहार गर्छौं’

0

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै अमेरिकी सेना जुनसुकै परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले इरानलाई लक्षित गरी ठूलो संख्यामा क्षेप्यास्त्रहरू तयारी अवस्थामा राखिएको उल्लेख गर्दै, यदि इरानले विश्वका कुनै पनि स्थानमा अमेरिकी बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा त्यस्तो प्रयास गर्ने धम्कीलाई कार्यान्वयन गरेमा त्यसको तत्काल कडा सैन्य जवाफ दिइने बताएका छन्। ट्रम्पका अनुसार त्यस अवस्थामा हजारौँ थप क्षेप्यास्त्र प्रहार गरिनेछ।

यता, ट्रम्पको अभिव्यक्ति सार्वजनिक भएसँगै इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले दुई देशबीचको समझदारीको उल्लंघन गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै अराघचीले इरानले आफ्ना सबै प्रतिबद्धताहरू पालना गर्दै आएको दाबी गरे। उनले पछिल्ला घटनाहरूलाई अमेरिकाबाट भएका अन्य उल्लंघनहरूको निरन्तरता भएको उल्लेख गर्दै द्विपक्षीय समझदारी दुवै पक्षले सम्मान गर्नुपर्नेमा जोड दिए।

यसैबीच, इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान कुनै पनि दबाबमा नझुक्ने स्पष्ट पारेका छन्। Al Jazeera का अनुसार उनले अमेरिकाले समझदारी उल्लंघन गरे इरान आफ्नो रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार रहेको बताएका छन्।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले पनि इरानी सशस्त्र बलले अमेरिकी गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको बताएका छन्। उनका अनुसार देशका तट, टापु, सीमाना तथा अन्य संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

तनावपूर्ण अभिव्यक्तिका बीच अमेरिकी उच्च अधिकारीहरूले भने अमेरिका–इरान वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। अमेरिकी पक्षले अन्तिम सम्झौताका लागि इरानले केही महत्त्वपूर्ण सर्तहरू पूरा गर्नुपर्ने अडान दोहोर्याएको छ।

वासिङ्टनको मुख्य मागअनुसार इरानले आफ्नो आणविक कार्यक्रमसम्बन्धी सर्तहरू पूर्ण रूपमा स्वीकार गर्नुपर्ने तथा आफ्ना सबै आणविक सामग्री अन्तर्राष्ट्रिय व्यवस्थापनमा हस्तान्तरण गर्नुपर्नेछ।

बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको उपचारकै क्रममा निधन

0

काठमाडौं। काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।

शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारमा संलग्न डाक्टर पियुष दाहालका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो।

मृतकका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजे परिवारमा श्राद्धको तयारी भइरहेको बेला श्रीमती नुहाउन गएको समयमा अश्विनले घरबाहिर पार्किङ गरिएको स्कुटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।

आगो लागेको थाहा पाएपछि श्रीमती, छिमेकी तथा नजिकैको होस्टेलमा बस्ने युवाहरूले तत्काल आगो निभाई उनलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

पारिवारिक स्रोतका अनुसार अश्विनको एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि उनी केही समयदेखि मानसिक तनावमा रहेको र थप उपचारको तयारी भइरहेको परिवारले जनाएको छ।

यसैबीच, घटनालाई पारिवारिक विवाद वा राजनीतिक विषयसँग जोडेर तथ्य पुष्टि नगरी केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै मृतकका परिवारले आपत्ति जनाएको छ। वास्तविक तथ्य नबुझी अनुमानका आधारमा प्रकाशित समाचारले शोकमा रहेका परिवारलाई थप मानसिक पीडा पुगेको उल्लेख गर्दै परिवारले जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको आग्रह गरेको छ।

स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा, बेल्जियम २–१ ले पराजित

0

काठमाडौं । स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा शुक्रबार भएको क्वार्टरफाइनलमा स्पेनले अन्तिम समयमा निर्णायक गोल गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

स्पेनका लागि फाबियन रुइजले ३०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि बेल्जियमका चार्ल्स डे केटेलारेले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याए।

रोचक बनेको खेलको ८८औँ मिनेटमा मिकेल मेरिनोले विजयी गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए। मेरिनोको यही निर्णायक गोलसँगै स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

यस जितसँगै स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले यसअघि मोरक्कोलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। सेमिफाइनल खेल जुलाई १४ मा डलास स्टेडियममा हुनेछ।

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५२.८३ रुपैयाँ

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४ रुपैयाँ ५९ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८० पैसा र बिक्रीदर १५ रुपैयाँ ८६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २७ पैसा र बिक्रीदर २३ रुपैयाँ ३६ पैसा तोकिएको छ।

यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको जनाएको छ।

नागार्जुनमा ‘कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु, साउन ४ सम्म विविध आकर्षण

0

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–५, हरिसिद्धि (सितापाइला) मा ‘कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव’ शुक्रबारदेखि सुरु भएको छ। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालन भएको महोत्सवको उद्घाटन विशेष समारोहबीच नागार्जुन नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष महेश रिमालले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष रिमालले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, आन्तरिक व्यापारको विस्तार तथा नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा महोत्सवलाई स्थानीय उत्पादन, उद्यम र संस्कृतिलाई एकै थलोमा प्रवर्द्धन गर्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो।

आयोजकका अनुसार साउन ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा रैथाने तथा आधुनिक कृषि उत्पादन, औद्योगिक सामग्री, विभिन्न परिकारका फूड स्टल, साथै बालबालिका र युवाका लागि पिङ तथा मनोरञ्जनात्मक खेलका स्टलहरू राखिएका छन्।

महोत्सवको अर्को प्रमुख आकर्षण दैनिक सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा रचना रिमाल, समीक्षा अधिकारी, एलिना चौहान, पशुपति शर्मा, नवराज घोरासिनी, भोजराज काफ्ले, सरोज लामिछाने, भीमसेन खतिवडा, सृजना खत्री (हाउडेमाया), सहिमा श्रेष्ठ र बिन्दु परियारलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ।

स्थानीय व्यापार–व्यवसायलाई चलायमान बनाउने, कृषि उत्पादनको बजारीकरणमा टेवा पुर्‍याउने तथा सर्वसाधारणलाई सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव साउन ४ गतेसम्म सञ्चालन हुनेछ।

देशभर मनसुन सक्रिय, आज धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

0

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले मौसममा यसको प्रभाव देखिएको हो।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थान, पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पनि विभागले जनाएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। हिमाली भूभागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमप्रति सचेत रहन अनुरोध गरिएको छ।

राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको निधन, पुर्खौली गाउँ शोकमा

0

मुगु/काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनको पुर्खौली गाउँ शोकमा डुबेको छ। उनको जन्मघर अहिले सुनसान बनेको छ भने गाउँभरि शोकको वातावरण छ।

मुगुको सोरु गाउँपालिका–१ पुग्न सदरमुकाम गमगढीबाट करिब ६ घण्टाको सडक यात्रा गर्नुपर्छ। गणेशको निधनको खबर गाउँभरि फैलिनासाथ स्थानीयवासी स्तब्ध बनेका छन्।

रोजगारीको अभावका कारण परिवारसहित भक्तपुरमा बस्दै आएका गणेश राइड–सेयरिङ सेवा (पठाओ) मार्फत मोटरसाइकल चलाएर परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

स्थानीय पदमबहादुर मल्लका अनुसार गणेशको आर्थिक अवस्था निकै कमजोर थियो। उनले चलाउँदै आएको मोटरसाइकलसमेत भाडामा लिएको थियो। यस्तो अवस्थामा राज्यले शोकसन्तप्त परिवारको उचित हेरचाह र सहयोग गर्नुपर्ने उनले बताए।

अर्का स्थानीय सुरेश साहीले पनि गणेशको परिवार न्यून आयस्तरको रहेको बताए। उनका अनुसार परिवारसँग थोरै मात्र जग्गा छ, जुन हाल बाँझै रहेको छ। उनले पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र राज्यले नागरिकप्रति आफ्नो जिम्मेवारी महसुस गराउनुपर्ने माग गरे।

स्थानीय मल्ल र साहीले गरिबी र कठिन परिस्थितिबीच संघर्ष गरिरहेका गणेशको दुःखद निधनले गाउँलाई मर्माहत बनाएको बताए।

प्रत्यक्षदर्शीका अनुसार बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरीले गणेशले पार्किङ गरेको मोटरसाइकलमा ह्विल लक लगाई नियन्त्रणमा लिन खोजेपछि विवाद भएको थियो। त्यसपछि उनले राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ। चिकित्सकहरूले उनको अवस्था अत्यन्तै गम्भीर रहेकाले थप उपचारका लागि भारतको नयाँ दिल्ली रिफर गर्ने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि रिफर गर्न सम्भव नभएको बताएका थिए। त्यसको केही समयपछि उनको मृत्यु भएको हो।