Wednesday, March 19, 2025
Home Blog

एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन महानिरीक्षक थापाको निर्देशन

0

काठमाडौँ: प्रहरी महानिरीक्षक दीपक थापाले निजी स्वार्थ र व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकतासाथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित विशेष समारोहमा उहाँले प्रहरी संगठनको श्रीवृद्धिमा ध्यान दिन पनि निर्देशन दिनुभयो।

नेपाल प्रहरीलाई देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य र निर्विकल्प संगठनको रूपमा वर्णन गर्दै महानिरीक्षक थापाले भन्नुभयो, “नेपाल प्रहरीको कुनै विकल्प छैन। यसको विकल्प भनेको सुदृढ र जनउत्तरदायी नेपाल प्रहरी नै हो।”

महानिरीक्षक थापाले सबै प्रहरी कर्मचारीलाई संगठनको संस्थागत सुधार र विकासमा केन्द्रित हुन आग्रह गर्दै सामूहिक भावना, भ्रातृत्व र आपसी एकताले मात्र संगठनको सुदृढीकरण र उन्नतिको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो।

केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले सामाजिक सञ्जालमा केही व्यक्ति र समूहहरूले विभिन्न जातजाति, वर्ग, धर्म र संस्कृतिका विरुद्ध गलत सूचना र दूष्प्रचार फैलाउने प्रवृत्तिमा वृद्धि भएको उल्लेख गर्दै यसबाट उत्पन्न हुनसक्ने सामाजिक विचलन रोक्नका लागि कडा कार्यवाही गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले, “साइबर अपराध, लागूऔषध ओसारपसार, मानव तस्करी र आर्थिक अपराधका अनुसन्धानका लागि थप क्रियाशील हुनुपर्छ,” भन्नुभयो।

‘प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन’

यसैबीच, नवनियुक्त प्रहरी महानिरीक्षक थापाको उपस्थितिमा आजै बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पिसिसी) बैठकले प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ। बैठकले प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई कार्यविधि परिमार्जन गर्न निर्देशन दिने निर्णय गरेको हो।

बैठकले कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीलाई प्रदान गरिने सेवा सुविधामा वृद्धि र कर्जाको ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्न तथा कार्यविधिको समयानुकूल संशोधनका लागि सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ।

बाइडेनले आफ्ना छोरालाई दिएको आममाफी अवैध, ट्रम्पले आपराधिक फाइल फेरि खोल्ने

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भने कि पूर्व राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम दिनहरूमा माफी दिएका सबै व्यक्तिहरूको आममाफी अब अमान्य हुनेछ।

यसमा बाइडेनका छोरा हन्टर बाइडेन पनि पर्छन्। ट्रम्पले भनें, “पद छोड्नुअघि बाइडेनले गलत तरिकाले माफी दिएका सबै व्यक्तिहरू अब अनुसन्धानको सामना गर्नेछन्।”

ट्रम्पका अनुसार, बाइडेनले निदाएको समयमा राजनीतिक गुण्डा र अरू धेरैलाई माफी दिएका थिए, र ती कागजातहरूमा उनले आफैं हस्ताक्षर गरेका थिएनन्। उनको हस्ताक्षर अटोपेन नामक मेसिनले गरेको थियो, जसले मानवीय हस्ताक्षरको ठ्याक्कै नकल गर्छ। यो मेसिन विशेष रूपमा आधिकारिक कागजातहरूमा हस्ताक्षर गर्नका लागि डिजाइन गरिएको हो, र अमेरिकी राष्ट्रपतिहरू दशकोंदेखि यसलाई प्रयोग गर्दै आएका छन्।

राष्ट्रपति पद छोड्नुअघि बाइडेनले आफ्नो छोरा हन्टर बाइडेनको सजाय माफी दिएका थिए। हन्टर बाइडेनमाथि अवैध रूपमा बन्दुक राखेको र कर छली गरेको आरोप लागेको थियो।

बाइडेनले भनेका थिए, “मलाई कानून र व्यवस्थामा पूर्ण विश्वास छ, तर राजनीतिले यसलाई फोहोर बनाएको छ। हन्टरको केसलाई पछ्याउने कुनै पनि समझदार व्यक्ति थाहा पाउनेछन् कि उनलाई मेरो छोरा भएको कारणले मात्र निशाना बनाइएको थियो।”

हन्टरलाई गत वर्षको डिसेम्बर ४ मा सजाय सुनाइने तय भएको थियो। अवैध रूपमा बन्दुक खरिद गर्ने अपराधको अधिकतम सजाय २५ वर्षको जेल सजाय हुन सक्थ्यो। तर, सजाय सुनाउनुभन्दा दुई दिन अघि, उनका बुबा बाइडेनले राष्ट्रपतिको शक्ति प्रयोग गरेर उनलाई बचाएका थिए।

अमेरिकाका राष्ट्रपतिसँग संघीय अपराधहरूमा सजाय माफी दिने वा घटाउने संवैधानिक अधिकार छ। अमेरिकी सर्वोच्च अदालतले यो शक्ति कुनै सीमा बिना दिइएको र कांग्रेस (संसद) ले यसलाई प्रतिबन्धित गर्न नसक्ने ठहर गरेको छ।

माफी एक कार्यकारी अधिकार हो र यो विवेकाधिकार हो, जसको अर्थ राष्ट्रपति आफ्ना निर्णयका लागि जवाफदेही हुँदैनन् र माफी जारी गर्नका लागि कुनै कारण दिन आवश्यक पर्दैन।

इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु

0

गाजा: इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा सबैभन्दा तीव्र आक्रमण गरेको छ। उद्धारकर्ताहरूका अनुसार, उक्त आक्रमणमा दुई सय २० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविराम विस्तारको विषयमा चलिरहेको गतिरोधको कारण ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको हमासको आरोप छ। यसका साथै, इजरायलले आक्रमणको लहर सुरु गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ।

आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन्। “हमासले हाम्रा बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ र मध्यस्थकर्ताबाट प्राप्त सबै प्रस्तावहरू अस्वीकार गरेको भन्दै अपरेसनको आदेश दिइएको थियो,” नेतन्याहूको कार्यालयले एक विज्ञप्तिमा भनेको छ। “अब इजरायलले बढ़्दो सैन्य शक्तिका साथ हमासविरुद्ध कारबाही गर्नेछ।”

इजरायली अधिकारीहरूले सैन्य अभियान “जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने” र “हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने” अपेक्षामा रहेको बताए।

हमासले इजरायली प्रधानमन्त्रीलाई आन्तरिक संकटको बीचमा टिकिरहन राजनीतिक ‘जीवनरक्षक’का रूपमा द्वन्द्वको प्रयोग गरेको आरोप लगाउँदै भन्यो, “युद्ध पुनः सुरु गर्ने नेतन्याहूको निर्णय कब्जामा रहेका कैदीहरूको बलिदान र मृत्युदण्डको निर्णय हो।”

अस्पतालका फुटेजमा मानिसहरूलाई साना बालबालिकासहित घाइते व्यक्तिहरूसँग खान युनुसको नासेर अस्पतालमा स्ट्रेचरमा दौडिरहेको देखाइएको छ। सेतो तन्नााले ढाकिएका शवलाई अस्पतालको शवगृहमा लगिएको थियो।

साथै, यो आक्रमणले गाजा पट्टीमा मानवीय संकटलाई अझ गहिरो बनाएको छ, जहाँ अन्न र स्वास्थ्य सेवाहरूको कमी भइरहेको छ। यसले क्षेत्रको दीर्घकालीन स्थिरता र शान्तिका लागि नयाँ चुनौतीहरू सिर्जना गरेको छ।

२५ करोड लोड गरिएको ट्रक जाँदै थियो केरुङ, झोर क्षेत्रबाटै लिइयो नियन्त्रणमा

0

काठमाडौं: काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट सोमबार राति २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर लोडेड ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

ना ७ ख १६५२ नम्बरको ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले चलाउँदै थिए। लामाले चालक सिटको पछाडि फल्स बटम बनाएर ठूलो रकम लुकाएका थिए।

पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। प्रहरीका अनुसार, उनलाई विशेष स्रोतबाट प्राप्त सूचनाको आधारमा नियन्त्रणमा लिन सफल भएका छन्।

प्रारम्भिक अनुसन्धानका अनुसार, लामा रसुवातर्फ जाँदै थिए र उनीमाथि अहिले छानबिन थालिएको छ।

लामा यसअघि पनि गैरकानुनी गतिविधिमा संलग्न रहेको पाइएको छ। प्रहरीका अनुसार, उनी २०७८ सालमा सुन तस्करीको प्रकरणमा पनि पक्राउ परेका थिए, तर सो समयमा उनी छिट्टै छुटेका थिए।

पोखरा बेलुन विस्फोट घटनाः गृहमन्त्रीलाई बुझाइएको छानविन प्रतिवेदन

0

काठमाडौं: पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयमा अनुसन्धान गर्न गठित छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ।

उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइत भएका थिए।

घटना पछि, गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए।

समितिले घटनाको विस्तृत छानबिन गरी, भविष्यमा यस्ता घटनाहरू पुन: नदोहोरिनका लागि पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायहरू सहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेखित विषयहरू कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।

समितिले कार्यक्रमका लागि विशिष्ट व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्दा सुरक्षा पक्षलाई प्राथमिकता दिनुपर्ने, मञ्चमा प्रज्वलनशील पदार्थहरूको प्रयोगमा रोक लगाउनुपर्ने, र प्रविधिको नाममा जोखिम मूल्यांकन नगरी कार्यक्रमहरू समावेश गर्न नसकिने विषयमा सुझाव दिएका छन्।

समितिको प्रतिवेदनमा भविष्यमा यस्ता घटनाहरू हुन नदिन सुधारका लागि विभिन्न सुझावहरू समावेश गरिएका छन्। यस्ता सुधारहरूमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति र उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता कार्यक्रमहरूको आयोजना गर्न अनुमति प्राप्त गर्नुपर्ने, सुरक्षा मापदण्डको पालन गर्दै सुरक्षित विकल्पहरूको प्रयोग गर्नुपर्ने, बेलुन उडाउन हिलियम ग्याँस जस्ता अप्रज्वलनशील ग्याँस प्रयोग गर्नुपर्ने, र आतिसबाजी र विष्फोटक रसायनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरिएको छ।

समितिले आगामी सार्वजनिक कार्यक्रमहरूको व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न आयोजकहरूले योजना बनाउनुपर्ने र स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गर्नुपर्ने पनि सुझाएको छ। यसका साथै, सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, र कार्यक्रम सञ्चालन विधिका विषयमा स्पष्ट कार्यविधि मापदण्ड तयार गर्नुपर्ने सुझाव गरिएको छ।

राजेन्द्र लिङ्देन नेतृत्वमा राजावादीको आन्दोलन अघि बढाइने

0

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजेन्द्र लिङ्देनको नेतृत्वमा राजावादी आन्दोलनलाई अघि बढाउने निर्णय गरेको छ।

मंगलबार सम्पन्न बैठकले राजसंस्था पुनर्स्थापनाका मुख्य उद्देश्यसहित ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा नजाने र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो। यसअघि नवराज सुवेदीको नेतृत्वमा आन्दोलन अघि बढाउने उद्देश्यले समिति गठन गरिएको थियो, जसमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव थिए भने अध्यक्ष लिङ्देन सदस्य थिए।

तर उक्त समितिलाई अस्वीकार गर्दै राप्रपाले आफ्नै नेतृत्वमा नयाँ समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

‘राप्रपा राजसंस्था, हिन्दूराष्ट्रको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ,’ पार्टीको निर्णयमा भनिएको छ, ‘राप्रपाको नेतृत्वमा हुने आन्दोलनका कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ।’

बैठकका निर्णयहरू

१. राप्रपाले राजसंस्था, हिन्दू राष्ट्रको पुनर्स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयमा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ। साथै, राप्रपाको नेतृत्वमा हुने आन्दोलनका कार्यक्रमहरू तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बस्नेछ, जसमा कार्यक्रमहरू तय गरिनेछ। राप्रपाले आन्दोलन र संगठनलाई समानान्तर रूपले अघि बढाउने र आन्दोलनको घोषणा पछि पार्टीका सबै गतिविधिहरू आन्दोलनमा केन्द्रित गर्ने निर्णय गरेको छ।

२. राप्रपाले देशको कठिन आर्थिक अवस्था, उच्च भ्रष्टाचार, र नागरिकहरूको निराशालाई चिर्नका लागि कांग्रेस-एमालेको संयुक्त सरकारलाई पूर्ण रूपमा असफल रहेको निष्कर्ष निकालेको छ। राप्रपाको मान्यता छ कि सरकार परिवर्तन मात्रले देशका समस्याहरू समाधान गर्न सक्दैन। प्रणालीगत सुधार अहिलेको प्रमुख आवश्यकता हो। यसका लागि राप्रपा निरन्तर उठाउँदै आएको ‘नवीन समझदारी’लाई उपयुक्त विकल्पको रूपमा प्रस्तुत गर्दै सबै राजनीतिक दललाई यसका लागि तयार रहन आह्वान गरेको छ।

३. राप्रपाले समान विचार भएका व्यक्तिहरू, समूहहरू र दलहरूसँग पारस्परिक एकता, संवाद र सहकार्यको पहल गर्ने निर्णय गरेको छ। यसका लागि राप्रपाले सम्बद्ध पक्षलाई हार्दिक आह्वान गरेको छ।

‘चलचित्र द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

0

काठमाडौँ: चलचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। चलचित्रमा देखाइएका मनमोहक दृश्यहरूले दर्शकलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूलाई ती स्थानहरूमा पुग्न प्रेरितसमेत गर्छ। हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र सांस्कृतिक विविधताले भरिएको नेपाललाई चलचित्रमार्फत विश्वभर चिनाउने काम भइरहेको छ। यसले प्रवासमा रहेका नेपालीलाई मात्र नभई स्वदेशीलाई पनि आन्तरिक पर्यटनमा रुचि बढाउन प्रेरित गर्ने गरेको चलचित्र निर्देशक ऋषिराज आचार्यले बताउनुभयो।

उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘द्रौपदी’ डोल्पा जिल्लाको मनोरम दृश्यमा छायाङ्कन गरिएको छ। झन्डै ४६ दिनसम्म चल्ने छायाङ्कनमा उहाँले स्थानीय कला, संस्कृति र सभ्यतासँगै ठूलीभेरी, सुलीगाड, तरापखोला र जगदुल्ला नदीलाई पनि चलचित्रमा समेट्नुभएको छ। त्रिपुरासुन्दरी देवीको मन्दिर र शे–फोक्सुन्डो लगायतका मनोरम दृश्यहरूले पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास निर्देशक आचार्यको छ।

“हामीजस्ता धेरै चलचित्रकर्मीहरू मनाङ, मुस्ताङ, डोल्पा र अन्य स्थानहरूमा पुग्ने कारण चलचित्र र म्युजिक भिडियो नै हो। हामी त्यहाँ पुग्दा ती स्थानमा चलचित्र हेरेर घुम्न आएको भन्ने प्रतिक्रिया पाइन्छ। मुस्ताङमा एउटा गल्लीको नाम ‘नेपाली चलचित्र जेरी’बाट राखिएको छ। यसले स्पष्ट प्रमाण दिन्छ कि चलचित्रले कला र संस्कृतिसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँछ”, निर्देशक आचार्यले भन्नुभयो।

चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्रको बारेमा सोमबार बेलुकी काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यसमेत रहेका निर्देशक आचार्यले ‘द्रौपदी’ नामसँग चलचित्रको विषय जोडिएको बताउनुभयो।

“डोल्पाको संस्कृति र चलचित्रको कथा गहिरो सम्बन्धित छ, त्यसैले हामीले छायाङ्कनको लागि डोल्पा रोजेका हौं। यसमा नेपाली मौलिकता, आँखालाई शीतलता दिने दृश्य र सोचनीय विषयलाई उठाएको छु”, उहाँले भन्नुभयो। नेपाल आइडलको दोस्रो शृङ्खलाका विजेता गायक रवि ओड यस चलचित्रमार्फत अभिनेता बनेका छन्। अभिनयमा रुचि भएकाले उहाँले तयारी गरेर चलचित्रमा काम गरेको बताउनुभयो।

“आफ्ना गीतका संगीत भिडियोहरूमा अभिनय गर्दा आत्मविश्वास बढेको थियो। यसका निर्देशक आचार्यसँग तीन महिना अभिनयको प्रशिक्षण लिएकोपछि अभिनेता बन्ने निर्णय लिएको हो। मैले राम्रो काम गर्ने प्रयास गरेको छु, र यसको प्रतिक्रियाले मलाई अभिनयमा निरन्तरता दिन प्रोत्साहित गर्नेछ”, गायक ओडले भन्नुभयो।

यस्तै, अभिनेत्री आश्विनी शाहीले पनि यस चलचित्रमार्फत अभिनयको सुरुआत गर्नुभएको छ। आफ्नो परिवेश र जीवनभन्दा फरक पात्र पाउँदा आफू अभिनय गर्न प्रेरित भएको बताउनुभयो। “यो मेरो लागि अवसर र चुनौती थियो। पश्चिमी लवजका लागि मैले सक्दो मेहनत गरेकी छु र पहिलो चलचित्रमै नयाँ पात्रलाई प्रस्तुत गर्न पाउँदा खुसी छु”, अभिनेत्री शाहीले भन्नुभयो।

निर्देशक आचार्यले गायक ओड र अभिनेत्री शाही जस्ता नवकलाकारलाई अडिसन मार्फत छनोट गरेर अवसर दिएको बताउनुभयो। “चलचित्रमा नयाँ प्रतिभाको उपस्थिति आवश्यक देखेर मैले नयाँ अनुहारलाई अभिनय गर्ने अवसर दिएको हुँ। मैले लेखेको पात्रलाई चलचित्रमा जीवन्त बनाउने कुरामा नयाँ भए पनि कोही कलाकार कमजोर छैन”, निर्देशक आचार्यले भन्नुभयो।

चलचित्रमा सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी जस्ता कलाकारले अभिनय गर्नुभएको छ। यस चलचित्रको पाश्र्वसङ्गीत सृजना सौरभ शर्माले, सम्पादन अनिल महर्जनले, कला विजय आचार्यले र छायाङ्कन मोहन झिल्लुले गरेका छन्।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ ५९ पैसा र बिक्री दर १३९ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। युरोपियन युरोको खरिद दर १५१ रुपैयाँ १२ पैसा र बिक्री दर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिद दर १७९ रुपैयाँ ७८ पैसा र बिक्री दर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्कको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर १५७ रुपैयाँ ७० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर ८८ रुपैयाँ ०० पैसा र बिक्री दर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलरको खरिद दर ९६ रुपैयाँ ५८ पैसा र बिक्री दर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलरको खरिद दर १०४ रुपैयाँ ०६ पैसा र बिक्री दर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ।

जापानी येनको खरिद दर १० येनको ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ १६ पैसा र बिक्री दर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्री दर ३७ रुपैयाँ ११ पैसा, कतारी रियालको खरिद दर ३८ रुपैयाँ ०२ पैसा र बिक्री दर ३८ रुपैयाँ १९ पैसा तोकिएको छ।

थाई भाटको खरिद दर ४ रुपैयाँ १३ पैसा र बिक्री दर ४ रुपैयाँ १४ पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ ७४ पैसा र बिक्री दर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३१ रुपैयाँ १८ पैसा र बिक्री दर ३१ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वोनको खरिद दर १०० वोनको ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६१ पैसा, स्वीडिश क्रोनरको खरिद दर १३ रुपैयाँ ७० पैसा र बिक्री दर १३ रुपैयाँ ७६ पैसा, डेनिश क्रोनरको खरिद दर २० रुपैयाँ २६ पैसा र बिक्री दर २० रुपैयाँ ३४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलरको खरिद दर १७ रुपैयाँ ८४ पैसा र बिक्री दर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनारको खरिद दर ४५० रुपैयाँ १० पैसा र बिक्री दर ४५२ रुपैयाँ ०५ पैसा, बहराइन दिनारको खरिद दर ३६७ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६९ रुपैयाँ २३ पैसा, ओमानी रियालको खरिद दर ३५९ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६१ रुपैयाँ ५३ पैसा रहेको जानकारी दिएको छ। भारतीय रुपैयाँको एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार कुनै पनि समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी पनि दिइएको छ।

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

0

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सामुदायिक क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ। विश्वविद्यालय क्याम्पसमा भने चुनाव चैत ८ गते हुनेछ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचित हुनेछन्, जसमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिक सदस्यको निर्वाचन हुनेछ। क्याम्पसमा कुल छ हजार एक सय ४६ मतदाता रहेको जनाइएको छ, जो मतदान गरेर नेतृत्व चयन गर्नेछन्।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष चुनाव हुनेछ। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछिको चयन प्रक्रियामा कुनै सङ्घको बहुमत प्राप्त भएमा उपाध्यक्ष र उपसचिव त्यस सङ्गठनका सदस्यहरूबाट चयन गरिनेछ। यदि बहुमत प्राप्त भएन भने सहमतिबाट चयन गर्ने व्यवस्था रहेको छ। सहमति भएन भने २१ जनाको मतदानबाट उपाध्यक्ष र उपसचिव चयन गरिनेछ।

क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरेर मतदान गरिनेछ र निर्वाचन समितिले २० वटा यन्त्र प्रयोग गर्ने जानकारी दिएको छ।

स्ववियु निर्वाचनको तयारी भइरहेको बीच सोमबार राति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी परिचयपत्र (नक्कली कार्ड) जारी गरेको आरोपमा अनेरास्ववियुले तालाबन्दी गरेको हो र यसको निष्पक्ष छानबिनको माग गरेको छ।

यसैबीच, सुरक्षासम्बन्धी कारणले आजको स्ववियु निर्वाचन अमृत साइन्स क्याम्पसमा स्थगित गरिएको छ। क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित भएको जानकारी दिनुभयो। सोमबारको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित रहेकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले आज हुने स्ववियु निर्वाचनको अनुगमन गर्ने भएको छ।

चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा

0

मङ्गलबारे (इलाम): नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ। टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाम आएका हुन्।

टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानहरूले अपनाएको चियाखेती प्रविधिका बारेमा अध्ययन र अवलोकन गरिरहेको टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो।

इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गर्नुभयो। नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक र व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाएको चियाले दुवै देशका जनतालाई भावनात्मक रूपमा नजिक ल्याएको उल्लेख गर्दै उहाँले नेपालमा चियाको विकास चीनबाट बीउ ल्याएर सुरु भएको स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “चिया हाम्रो साझा सम्पदा हो, जसले दुई देशका जनतालाई नजिक ल्याएको छ।”

नगरप्रमुख थापाले एक सय ५० वर्षअघि नेपालमा चीनबाट बीउ ल्याएर चियाखेतीको सुरुआत भएको उल्लेख गर्दै अहिले नेपालको चिया उद्योगले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्दै नेपालको चिया उद्योगको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार श्री सिए युले इलाम र कोशी प्रदेशमा उत्पादन हुने थिया प्रवर्द्धनमा चीनको चासो रहेको बताए।

सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय र झाङझोउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा चिया व्यवसायीहरूको लागि आयोजना गरिने तालिमको महत्त्वलाई भ्रमणले उजागर गरेको उपाध्यक्ष न्यौपानेले बताउनुभयो।