Tuesday, June 16, 2026
Homeअन्तराष्ट्रिय‘कुमकुम भाग्य’की सञ्चिता उगलेले गरिन् आत्महत्या, परिवारले माग्यो न्याय

‘कुमकुम भाग्य’की सञ्चिता उगलेले गरिन् आत्महत्या, परिवारले माग्यो न्याय

मुम्बई । लोकप्रिय भारतीय टेलिभिजन अभिनेत्री सञ्चिता उगलेको निधनपछि उनका पिता मच्छिन्द्र उगलेले छोरीमाथि मानसिक दबाब र तनाव रहेको दाबी गरेका छन्। उनले सञ्चितामाथि आर्थिक विषयलाई लिएर निरन्तर दबाब दिइएको र त्यसकै कारण उनी गम्भीर डिप्रेसनमा पुगेको हुन सक्ने बताएका छन्।

चर्चित टेलिभिजन सिरियल कुमकुम भाग्य मा ‘दिया’को भूमिकाबाट चर्चित बनेकी सञ्चिताको शव आइतबार राति आफ्नै शयनकक्षमा झुण्डिएको अवस्थामा फेला परेको थियो।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनका पिताले सञ्चिता पछिल्लो समय मानसिक रूपमा अत्यन्त तनावमा रहेको बताए। उनले भने, “उसले हामीलाई वास्तविक कारण कहिल्यै बताइन। तर ऊ भित्रभित्रै धेरै तनावमा थिई भन्ने हामीलाई थाहा थियो। कहिले सामान्य र खुसी देखिन्थी, कहिले अचानक डिप्रेसनमा पुग्थी। त्यसैले हामी सकेसम्म उसको हेरचाह गरिरहेका थियौँ।”

उनले दुःख व्यक्त गर्दै भने, “केही समय मात्र हामी उसको साथमा थिएनौँ। तर ऊ यति गम्भीर अवस्थामा पुगेकी छ भन्ने हामीले अनुमान गर्न सकेनौँ।” उनले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिन प्रशासनसँग आग्रह गरेका छन्।

सञ्चिता आफ्ना आमाबुबासँग महाराष्ट्रको पालघरमा बस्दै आएकी थिइन्। परिवारका अनुसार आइतबार साँझ उनकी बहिनी घरबाहिर गएकी बेला घटना भएको थियो। उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

सञ्चिताले कुमकुम भाग्य बाहेक वागले की दुनिया लगायत विभिन्न टेलिभिजन कार्यक्रम र चलचित्रमा अभिनय गरेकी थिइन्। उनी पछिल्लोपटक दंगल टिभीको साजन घर मे कार्यक्रममा देखिएकी थिइन्। साथै, उनले हालै प्रदर्शनमा आएको चलचित्र छावा मा ताराबाईको भूमिका निभाएकी थिइन्। साइलेन्स २: द नाइट आउल बार शुटआउट मा पनि उनको अभिनय रहेको थियो।

निधन हुनुभन्दा केही घण्टा अघि मात्र उनले आफ्नो इन्स्टाग्राम खातामा एउटा भिडियो पोस्ट गरेकी थिइन्। सामाजिक सञ्जालमा सक्रिय सञ्चिताका इन्स्टाग्राममा १ लाख ३९ हजारभन्दा बढी फलोअर्स छन्, जहाँ उनका प्रशंसकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

यसैबीच, सामाजिक सञ्जालमा सह–कलाकार उज्ज्वल शर्मासँग उनको सम्बन्धबारे विभिन्न चर्चा भए पनि उज्ज्वलले त्यसको खण्डन गरेका छन्। उनले आफूहरूबीच प्रेम सम्बन्ध नरहेको स्पष्ट पार्दै सञ्चिता केही समयदेखि व्यक्तिगत र मानसिक तनावबाट गुज्रिरहेकी थिइन् भनेका छन्। उनका अनुसार उनले मानसिक स्वास्थ्यसम्बन्धी उपचार र परामर्श पनि लिइरहेकी थिइन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका