Monday, June 29, 2026
Home Blog Page 501

विदेश रोजगार ठगी प्रकरणमा केदार तामाङ पक्राउ

0

काठमाडौं: विदेशी रोजगारीका नाममा युवायुवतीलाई विभिन्न देशहरूमा पठाउने बहानामा लामो समयदेखि ठगी गर्दै आएका केदार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै तामाङको पक्राउ पुष्टि गरेको हो।

विज्ञप्तिअनुसार तामाङले आकर्षक तलबको प्रलोभन देखाई व्यक्तिहरूबाट रकम असुल्ने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा गरिएको अनुसन्धानमा तामाङ दोषी देखिएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा बुझाइएको कार्यालयले जनाएको छ।

जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई

0

काठमाडौँ, १ वैशाख: नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष २०८२ सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ।

नयाँ वर्षको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै अध्यक्ष भट्टराईले हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “नयाँ वर्षले सम्पूर्ण नेपालीमा सुख, समृद्धि र खुसी लिएर आओस्। सबै नेपालीको मनको आकांक्षा पूरा होस्। राजनीतिक अस्थिरताको समाधान होस्।”

वन मन्त्रालयमा विसं २०८१ मा के के भए ?

0

काठमाडौँ, १ वैशाख: वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१ मा नीतिगत सुधार, वातावरणीय संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य र जलवायु न्यायका पक्षमा ठोस कार्य अघि बढाएको जनाएको छ। मन्त्रालयले लामो समयदेखि रोकिएका नीति तथा कानुन निर्माणलाई टुंग्याउँदै, अन्तर्राष्ट्रिय मञ्चमा जलवायु पैरवीलाई सशक्त बनाएको छ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले रासससँगको कुराकानीमा आफ्नो कार्यकालको उपलब्धिबारे जानकारी दिँदै प्रमुख नीति तथा कार्य योजना सार्वजनिक गर्नुभयो। उहाँका अनुसार निम्न दस्तावेजहरू स्वीकृत भएका छन्:

राष्ट्रिय वनको एकीकृत रणनीतिक योजना (२०८१–२१००)

दिगो वन व्यवस्थापन राष्ट्रिय मापदण्ड, २०८१

बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्ययोजना, २०८१

राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१

खनिज उत्खननसम्बन्धी मापदण्ड, २०८१

सामुदायिक वन मार्गदर्शन, २०८१

उत्सर्जन न्यूनीकरण लाभ बाँडफाँड योजना

त्यसैगरी, पेरिस सम्झौताअनुसार कार्बन व्यापारका लागि स्वीडेन सरकारसँग द्विपक्षीय सहमति, रेड प्लस कार्यक्रमअन्तर्गत पहिलो किस्ता प्राप्तिको सुनिश्चितता, र काठमाडौँ–तराई द्रुतमार्गदेखि ठूला जलविद्युत् आयोजना, सडक विस्तार र बन्दरगाह निर्माणसम्मका विभिन्न विकास आयोजनाहरूका लागि आवश्यक जग्गा स्वीकृति र रुख कटान अनुमति दिइएको छ।

वन व्यवस्थापनमा स्पष्टता र प्रगति

मन्त्री शाहीका अनुसार, विगतका वर्षहरूमा देखिएको अन्योल अन्त्य गर्दै २२ लाख हेक्टर वन क्षेत्रमा सामुदायिक सहभागितामा काठ, दाउरा, जडिबुटीको दिगो व्यवस्थापनका लागि स्पष्ट मापदण्ड लागू गरिएको छ। हिमाली जडीबुटी यार्सागुम्बाको सङ्कलन तथा ढुवानीलाई सहज बनाउन निर्देशिका पनि स्वीकृत गरिएको छ।

कार्बन व्यापार, जलवायु वित्त र अनुदान

वन मन्त्रालयले विश्व बैंकबाट सामुदायिक वन व्यवस्थापनका लागि करिब रु १ अर्ब ६० करोड, तथा संवेदनशील जलाधार क्षेत्रमा जलवायु उत्थानशीलता विकासका लागि रु २९ अर्ब बराबरको वैदेशिक अनुदान प्राप्त गरेको जनाएको छ।

त्यस्तै, तराईका १३ जिल्लाबाट कार्बन विक्री मार्फत रु १ अर्ब ६० करोड संकलन गरिएको छ। पेरिस सम्झौताको धारा ६.२ अनुसार स्वीडेन सरकारसँग कार्बन क्रेडिट उत्पादन सम्बन्धी सम्झौता कोप–२९ मा सम्पन्न भएको थियो।

वन क्षेत्र वृद्धि र उत्पादन लक्ष्य

राष्ट्रिय सर्वेक्षण अनुसार वन क्षेत्र ४६.०८ प्रतिशत मा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.७५ प्रतिशतको वृद्धि हो। नेपाल वन निगम लिमिटेडमार्फत ११,७६१ घनफिट काठ उत्पादन लक्ष्य राखिएकोमा असोज मसान्तसम्म ४,६४६ घनफिट उत्पादन भइसकेको र ८,०७८ घनफिट काठ बिक्री भएको मन्त्रालयले जनाएको छ।

वातावरणीय अनुसन्धान र जैविक विविधता संरक्षण

यस अवधिमा ६ वटा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) तथा २ वटा पुरक EIA स्वीकृत भएका छन्। ४ वटा वातावरणीय व्यवस्थापन योजना पनि पारित गरी विकास आयोजनामा सहजीकरण गरिएको छ।

वन्यजन्तु अपराध नियन्त्रणका लागि दक्षिण एशियाली देशहरूको साधारण सभा नेपालमा गर्ने निर्णय, हिउँ चितुवा गणना, तथा कोशी टप्पु वन्यजन्तु आरक्षणमा गैडा संरक्षण पहल अघि बढाइएको छ। बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा भइसकेको छ भने रातो बाँदरलाई पनि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

सदर चिडियाखाना अब २०७२ साल वैशाख १ गतेदेखि बेलुकी ८ बजेसम्म खुला रहनेछ। व्यवस्थापन जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई थप ३० वर्षका लागि दिने निर्णय गरिएको छ।

अन्तर्राष्ट्रिय सहभागिता र परियोजना कार्यान्वयन

मन्त्री शाहीले ब्राजिल, कोलम्बिया, जर्मनी, भारत, अजरबैजानलगायत देशमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनहरूमा सहभागी भई जलवायु न्यायका पक्षमा पैरवी गर्नुभएको थियो। कोप–२९ मा नेपालले अनुकूलन, जलवायु वित्त, क्षति-हानि, पर्वतीय जलवायु प्रभावमा प्राथमिकता दिएको थियो।

उक्त सम्मेलनबाट दुईवटा परियोजना कार्यान्वयनमा ल्याउने सम्झौता भएको छ:

९.२ मिलियन अमेरिकी डलरको मरिण जलाधार परियोजना (५ वर्षे)

१.६५ मिलियन अमेरिकी डलरको पारदर्शिताका लागि CBIT कार्यक्रम

अप्रिय घटना : जडिबुटी कम्पनीमा २८ करोडको क्षति

यसबाहेक मन्त्रालय मातहतको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा चैत १५ गते पूर्वराजाका समर्थकहरूले गरेको आन्दोलनमा भएको आगजनी र तोडफोडबाट रु २८ करोडभन्दा बढीको क्षति भएको छ। नौ सरकारी गाडी, दुई मोटरसाइकल, अत्याधुनिक उपकरण, दुई भवन र हजारौँ कार्टुन उत्पादन सामग्री पूर्णरूपमा नष्ट भएको मन्त्रालयले जनाएको छ। सयौँ कामदार रोजगारविहीन भएका छन्।

नयाँ वर्षको पहिलो दिन आज देशभर शुभकामना आदानप्रदान गरी मनाइँदै

0

काठमाडौँ, १ वैशाख: आज विक्रम संवत् २०८२ सालको पहिलो दिन, वैशाख १ गते, देशभर एकआपसमा शुभकामना साटासाट गरी नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदैछ।

आज सूर्यले मीन राशिको यात्रा समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन हो, जसलाई वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति पनि भनिन्छ। यही दिनबाट नयाँ वर्षको सुरुवात हुने भएकाले यस दिनको खगोलशास्त्रीय र सांस्कृतिक महत्व विशेष हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार, सूर्यको गतिलाई आधार मानेर चल्ने विक्रम संवत् शाश्वत पात्रो हो। “विक्रम ६० संवत्सरमध्ये एक हो र सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो। सूर्यको गति र स्थितिअनुसार चल्ने यो संवत्मा शक संवत्का विशेषता र इश्वी संवत्का व्यावहारिक पक्ष पनि समावेश गरिएको छ,” भट्टराईले बताए।

सूर्य मेष राशिमा प्रवेश गरेपछि मीन राशि छाड्दा पुरानो वर्ष समाप्त भई नयाँ वर्ष सुरु हुने भएकाले यो संवत् वैज्ञानिक आधारमा आधारित रहेको विद्वानहरूको भनाइ छ। यसमा सौरमान र चान्द्रमानको समन्वय समेत गरिएको छ। ऐतिहासिक दृष्टिले हेर्दा, कलि युग सुरु भएको ३,०४४ वर्षपछि विक्रम संवत् प्रारम्भ भएको हो।

नयाँ वर्षको दिन नेपालीहरू बिहानै उठेर स्नान गर्ने, घर-आँगन सफा गर्ने, मठ-मन्दिरमा पूजा आराधना गर्ने, मीठा खानेकुरा खाने, साथीसंगी र इष्टमित्रसँग भेटघाट गरी शुभकामना साट्ने चलन रहिआएको छ। देश–विदेश जहाँ भए पनि नेपालीहरूले वैशाख १ लाई नयाँ वर्षका रूपमा उल्लासका साथ मनाउँछन्।

चान्द्रमानअनुसार नयाँ संवत्सर चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने भएकाले यस वर्ष चैत १७ गतेदेखि नै नयाँ संवत्सर सुरु भइसकेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, अहिले “सिद्धार्थी” नामक संवत्सर चलिरहेको छ, जुन ६० संवत्सरमध्ये ५३ औँ हो। वैदिक सनातन हिन्दू धर्मअनुसार यी ६० संवत्सर आदि अनादिकालदेखि परिक्रमामा रहेका छन्, जसमा पहिलो संवत्सरको नाम प्रभव हो।

अमेरिकाले अफगानिस्तान र क्यामरुनका जनतालाई दिएको विशेष सुविधा हटायो

0

काठमाडौं: अमेरिकाले अफगानिस्तान र क्यामरुनका हजारौं नागरिकलाई दिँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) अन्त्य गर्ने तयारी गरेको छ।

अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि “अस्थायी निर्वासन सुरक्षा” अब अफगान र क्यामरूनेली नागरिकका लागि हटाइनेछ।

गृह सुरक्षा विभागकी सहायक सचिव ट्रेसिया म्याकलफ्लिनका अनुसार, गृह सुरक्षा सचिव क्रिस्टी नोएमले अफगानिस्तान र क्यामरुनको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दै यो निर्णय लिएकी हुन्।

टीपीएसको म्याद सकिएपछि आगामी मे महिनासम्म १४,६०० अफगानी नागरिकले यो स्थिति गुमाउने सम्भावना छ। क्यामरुनका झन्डै ७,९०० नागरिकलाई दिइएको टीपीएसको अवधि भने जुन महिनासम्ममा सकिनेछ।

टीपीएस यस्तो सुविधा हो, जुन सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप वा अन्य विषम परिस्थितिको सामना गरिरहेका देशका नागरिकलाई दिइन्छ, जसले उनीहरूलाई आफ्नै मुलुक फर्कन असुरक्षित बनाउँछ।

सामान्यतया यो स्थिति १८ महिनाका लागि मान्य हुन्छ र गृह सुरक्षा सचिवको निर्णयमा आधारित भएर नवीकरण गर्न सकिन्छ। टीपीएसले अमेरिका रहन पाइने कानुनी आधार प्रदान गर्छ, साथै कार्य अनुमति पनि मिल्ने व्यवस्था हुन्छ।

यस्ताे छ, पूर्व राजा ज्ञानेन्द्र शाहकाे सम्बाेधनकाे पूर्णपाठ

0

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे सार्वजनिक धारणा व्यक्त गरेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमार्फत उनले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देश र जनताको वर्तमान अवस्थाप्रति चिन्ता प्रकट गरेका छन्।

शाहले शुभकामना सन्देशसँगै भिडियो सन्देश पनि सार्वजनिक गरेका छन्। चैत १५ गते राजसंस्थाको पुनर्स्थापनाको मागसहित तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि उनले पहिलोपटक यसबारे प्रतिक्रिया जनाएका हुन्।

शाहको भनाइमा के छ?
“केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी र तोडफोड भयो, त्यसबाट भएको मानवीय र भौतिक क्षति सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,” शाहले विज्ञप्तिमा भनेका छन्।

उनले अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको विशेषता भए पनि प्रदर्शनमा संयम आवश्यक रहेको उल्लेख गर्दै नागरिक स्वतन्त्रता नै सर्वोच्च मूल्य हो भन्ने धारणा राखेका छन्।

राजसंस्थाको भूमिका र वर्तमान अवस्था
पूर्वराजाले नेपालमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टि हटाउन राजसंस्थाले सधैं योगदान दिँदै आएको स्मरण गराएका छन्। उनले बहुदलीय प्रजातन्त्र र संविधानसम्मत राजसंस्थाको परम्परामा आफू दृढ रहेको उल्लेख गरे। “राज्यशक्तिको स्रोत जनता हुन् भन्ने मान्यता सधैं स्थापित हुनुपर्छ,” शाहको भनाइ थियो।

देशको वर्तमान आर्थिक र सामाजिक चुनौतीबारे टिप्पणी
शाहले आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादनको प्रवर्द्धन, युवा पलायन रोक्ने उपाय, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, र जनताको मनोबल उच्च राख्नुपर्ने कुरामा जोड दिएका छन्।

उनले विदेशमा रहेका नेपालीलाई एकताको सूत्रमा बाँधिन ढिला नगर्न आग्रह गर्दै स्वदेश फर्कन ‘स्वदेश नै स्वर्ग’ भन्ने अभियान आवश्यक रहेको बताएका छन्।

राजनीतिका लागि सन्देश
“नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, कदम चल्नुपर्छ,” पूर्वराजा शाहको भनाइ थियो। सबै समस्या संवाद, सहमति, समन्वय र सहकार्यबाट समाधान हुनसक्ने धारणा व्यक्त गर्दै उनले राजनीतिक नेतृत्वलाई परोक्ष सन्देश दिएका छन्।

शुभकामनाको समापनमा उनले भने:
“श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल!”

रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

0

काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन्। निवेदनमा रविलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न दिन अनुरोध गरिएको थियो। उक्त निवेदनमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो। लामिछाने हाल भैरहवा कारागारमा रहेका छन्।

उक्त प्रतिवेदन आएपछि सर्वोच्च अदालतले उच्च अदालतले दिएको आदेशमाथि छलफल गर्नेछ।

हुनमान जन्मोत्सवमा झडप हुँदा घाइते भएकाको नारायणी अस्पतालमा उपचार हुँदै

0

वीरगञ्ज (पर्सा): हनुमान जन्मोत्सवको अवसरमा शनिबार दुई समुदायबीच भएको झडपका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दर्जनौं सुरक्षाकर्मी घाइते भएका छन्। ढुंगा हानाहानमा परी पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका हुन्।

प्रहरी प्रमुख मिश्रले आफू दाहिने हातमा चोट लागेपनि अन्य प्रहरीहरू गम्भीर रूपमा घाइते भएको जानकारी दिनुभयो। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंसमेत घाइते भएका छन्।

मिश्रका अनुसार झडपमा परी सर्वसाधारणतर्फ १२ जना घाइते भएका छन्। नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार शनिबारको घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण गरी ४३ जनाको अस्पतालमा उपचार भइरहेको छ। “कतिपय सामान्य उपचारपछि घर फर्किसक्नुभएको छ भने केहीको अझै उपचार चलिरहेको छ,” उहाँले जानकारी दिनुभयो।

डा. सिंहका अनुसार अधिकांश घाइतेहरू टाउको र छातीमा ढुंगा वा इँटाले लागेका छन्। सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले प्रहरी नायब उपरीक्षक सिंहसहित केही घाइतेको आफ्नो अस्पतालमा उपचार गरिएको जानकारी दिनुभयो। “एकजनाको खुट्टा भाँचिएको छ, उपचार भइरहेको छ,” उहाँले बताउनुभयो, “अरू सामान्य घाइतेहरू डिस्चार्ज भइसकेका छन्।”

स्थिति नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बेलुकादेखि आइतबार बिहान १२:०० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

अधिकार, समानता र न्यायका लागि जसपा नेपालद्वारा ४१ सदस्यीय केन्द्रीय परिसंघ गठन

0

काठमाडौं: नागरिक अधिकार, सामाजिक न्याय र समानताको सुनिश्चितताका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले ४१ सदस्यीय केन्द्रीय परिसंघ गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न विस्तारित बैठकमा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा उक्त परिसंघको घोषणा गरिएको हो।

नवगठित परिसंघको संयोजकमा चन्देश्वर पासवान चयन भएका छन् भने केन्द्रीय सल्लाहकारका रूपमा पीके ठाकुरलाई मनोनयन गरिएको छ। महासचिवको चयन भने आगामी बैठकबाट गरिने जनाइएको छ।

परिसंघमा दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, महिला, पिछडावर्ग र अल्पसंख्यक समुदायका संघ–संगठनका प्रतिनिधिहरू समावेश गरिएको छ। केन्द्रीय सहसंयोजकमा पञ्चराम तामाङ (आदिवासी), भरतप्रसाद महतो (पिछडावर्ग), युसुफ अली (मुस्लिम), रामआश्रय चौधरी (थारु) र सुनिता मरिक (दलित) सर्वसम्मत चयन भएका छन्।

त्यसैगरी सचिवमा सोनाम याक्खा, मनाई महतो, शशिकपुर मियाँ, मानन चौधरी र प्रदीप घताल रहेका छन्। बैठकले आगामी वैशाख ३१ गते वीरगञ्जको टाउन हलमा परिसंघको प्रथम बृहत् खबरदारी सभा गर्ने निर्णय पनि गरेको छ।

बैठकबाट जारी ३२ बुँदे अवधारणापत्रमा दलित, आदिवासी, पिछडावर्ग, थारु, महिला, मुस्लिम र अल्पसंख्यक समुदायमाथि भइरहेका आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक विभेद, उत्पीडन तथा उपेक्षाको अन्त्यका लागि परिसंघमार्फत सशक्त आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

अवधारणापत्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व, समानुपातिक समावेशीकरण, मानव अधिकारको प्रत्याभूति, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, स्वतन्त्रता र सामाजिक न्याय सुनिश्चितता प्रमुख उद्देश्यका रूपमा उल्लेख गरिएको छ।

जसपाले परिसंघलाई विविधता झल्किने समावेशी संरचना बनाएर अधिकार र न्यायका लागि संघर्ष गर्ने मूल मन्त्रसहित अघि बढाउने स्पष्ट संकेत दिएको छ।

अध्यक्ष लिङ्देनद्वारा तीनकुने घटनामा परी निधन भएका पत्रकार रजकको परिवारसँग भेट

0

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घर पुगेर परिवारलाई भेट गर्नु भएको छ।

अध्यक्ष लिङ्देनले ताहाचलस्थित रजक निवासमा पुगेर शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै रजकको न्यायका लागि संसद् र सडकमा आवाज उठाइरहेको जानकारी दिनुभयो। उहाँले सत्यतथ्य छानबिनका लागि सरकारलाई निरन्तर दबाब दिइने पनि स्पष्ट गर्नुभयो।

रजक निवासमा भएको भेटमा बागमती प्रदेशका सभामुख भुवन पाठक पनि सहभागी हुनु भएको थियो।