तनहुँः
तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा विदेशी चलचित्र ‘टासी’ को छायाङ्कन सुरु भएपछि स्थानीय पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। सन् १९५३ मा पहिलो पटक सगरमाथा आरोहण गरेका तेन्जिङ नोर्गे शेर्पाको जीवनकथामा आधारित उक्त चलचित्रको छायाङ्कन आइतबारदेखि सुरु भएको हो।
चलचित्र छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिंगारिएको छ। पुरानो दार्जिलिङको स्वरूप झल्किने गरी बन्दीपुरलाई दृश्यांकन स्थल बनाइएको छ। करिब एक साताको तयारीपछि छायाङ्कन सुरु गरिएको हो।
छायाङ्कनका क्रममा बन्दीपुर वरपरका करिब ३०० स्थानीय बासिन्दालाई दैनिक रु १,००० देखि १,५०० सम्म पारिश्रमिक दिई सह–कलाकारका रूपमा संलग्न गरिएको छ। चलचित्रको छायाङ्कन बन्दीपुरमा तीन दिनसम्म चल्ने जनाइएको छ।
बन्दीपुरमा विदेशी चलचित्र छायाङ्कन सुरु भएसँगै स्थानीय पर्यटन व्यवसायीहरू यस क्षेत्रको प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वासमा छन्। होटल व्यवसायी किसान प्रधानले चलचित्र टोलीको उपस्थितिले बन्दीपुरको प्रचारप्रसारमा सहयोग पुग्ने बताए। उनका अनुसार टोली एक सातादेखि बन्दीपुरमै बसोबास गरिरहेको छ, जसले स्थानीय व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुर्याएको छ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले पनि विदेशी चलचित्रको छायाङ्कन पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसर भएको बताए। “विदेशी चलचित्रका लागि बन्दीपुर छनोट हुनु गर्वको विषय हो,” उनले भने, “यसले हाम्रो पहिचान र सम्भावनालाई विश्वसामु प्रस्तुत गर्न मद्दत गर्नेछ।”
उक्त चलचित्र अमेरिकी कम्पनी एप्पलद्वारा निर्माण भइरहेको जनाइएको छ।











