Friday, July 3, 2026
Homeअन्तराष्ट्रियअमेरिकाले जेनेभामा भएको सहमति पालना गरेन: चीन

अमेरिकाले जेनेभामा भएको सहमति पालना गरेन: चीन

एजेन्सी: संयुक्त राज्य अमेरिकाले चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमति गम्भीर रूपमा कमजोर बनाएको चीनको आरोप छ। जेनेभामा सम्पन्न पछिल्लो वार्तापछि पनि अमेरिकाले चीनमाथि भेदभावपूर्ण नीति लादेको भन्दै चीनको वाणिज्य मन्त्रालयले आपत्ति जनाएको छ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताका अनुसार, अमेरिकाले कृत्रिम बुद्धिमत्ता (एआई) चिपको निर्यात नियन्त्रण गर्ने मार्गदर्शन जारी गरेको, चिप डिजाइन सफ्टवेयरको बिक्रीमा प्रतिबन्ध लगाएको, र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गरेर आपसी सहमतिलाई उल्लङ्घन गरेको हो।

मन्त्रालयले जनवरी १७ मा दुई राष्ट्रप्रमुखहरूबीच भएको टेलिफोन वार्तामा तय भएको समझदारीको समेत गम्भीर उल्लङ्घन भएको जनाएको छ। प्रवक्ताका अनुसार, अमेरिकाको पछिल्लो कदमले चीनका वैधानिक अधिकार र हितहरूमा प्रत्यक्ष आघात पुर्‍याएको छ।

“संयुक्त राज्य अमेरिकाले लगातार एकपक्षीय र कठोर आर्थिक तथा व्यापारिक नीतिहरू अगाडि बढाइरहेकाले द्विपक्षीय सम्बन्धमा अनिश्चितता र अस्थिरता बढ्दै गएको छ,” प्रवक्ताले भने।

चीनले अमेरिकाको आरोपहरूलाई “आधारहीन र अनुचित” भन्दै खारेज गरेको छ। “अमेरिकाले आफ्ना निर्णय र व्यवहारको समीक्षा गर्नुको सट्टा, चीनमाथि सहमति उल्लङ्घन गरेको दोष लगाइरहेको छ, जुन स्वीकार्य छैन,” प्रवक्ताको भनाइ थियो।

चीनले भने आफूले जेनेभा वार्तामा भएको सहमति गम्भीरतापूर्वक लिएको, त्यसलाई पूर्ण कार्यान्वयन गर्दै जिम्मेवार ढंगले अघि बढिरहेको दाबी गरेको छ। “हामीले वार्ताको मर्मअनुसार नै व्यवहार गरिरहेका छौं,” मन्त्रालयले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका