काठमाडौं । उत्तर–पूर्वी थाइल्याण्डको मुक्दाहान प्रान्तमा ११ वर्षीय बालकले चलाएको पिकअप ट्रक भिक्षुहरूको समूहमा ठोक्किँदा मृत्यु हुने बौद्ध भिक्षुको संख्या १० पुगेको छ। धार्मिक पैदलयात्रामा रहेका ३४ जना भिक्षुमाथि ट्रक ठोक्किँदा यो दुर्घटना भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार उपचारका क्रममा थप एक भिक्षुको मृत्यु भएपछि मृतकको संख्या १० पुगेको हो।
प्रहरी अनुसन्धानका क्रममा दुर्घटना गराउने बालककी आमाले छोराले आफूलाई थाहै नदिई परिवारको पिकअप ट्रक लिएर गएको जानकारी पाउनासाथ आपतकालीन सेवामा फोन गरेर प्रहरीलाई सूचना दिएको बयान दिएकी छन्। उनले प्रहरीले गाडी रोक्नुअघि नै दुर्घटना भएको बताएकी छन्।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक म्यानुअल गियर प्रणालीको थियो। ११ वर्षीय बालकले यस्तो गाडी १० किलोमिटरभन्दा बढी दूरीसम्म चलाएको तथ्यले उसले यसअघि नै गाडी चलाउन सिकेको हुन सक्ने आशंका उत्पन्न भएको छ। यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुक्दाहान प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल पाइरोज थाइफुत्साले दुर्घटनापछि बालक गम्भीर मानसिक आघातमा रहेकाले हालसम्म औपचारिक बयान लिन नसकिएको बताएका छन्। नाबालक संलग्न मुद्दा भएकाले बाल अधिकार विज्ञ, मनोविद् र सरकारी वकिलको उपस्थितिमा मात्र सोधपुछ गरिने जनाइएको छ।
दुर्घटनाग्रस्त ट्रकलाई प्राविधिक परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको छ। गाडीमा कुनै यान्त्रिक समस्या थियो वा थिएन भन्ने विषय पनि अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले नाबालकलाई सवारीसाधनमा पहुँच दिनु तथा पर्याप्त निगरानी नगरेको विषयमा बालकका अभिभावकमाथि पनि कानुनी कारबाही हुने सम्भावनाबारे कानुनी परामर्श भइरहेको जनाएको छ।
यस घटनापछि थाइल्याण्डमा बालबालिकाको सवारीसाधनमा पहुँच, अभिभावकीय जिम्मेवारी तथा सडक सुरक्षाबारे व्यापक बहस सुरु भएको छ।


