काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ।
गत बुधबार ग्रुपकी निर्देशक दीपा अग्रवालले उक्त सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन्। प्राकृतिक विपद्को कठिन अवस्थामा पीडित परिवारलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।
नगद सहयोगसँगै शंकर ग्रुपले विपद्को सुरुवाती चरणदेखि नै गृह मन्त्रालयसँगको समन्वयमा राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विपद्को तेस्रो दिनमै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन (त्रिपाल) टेन्ट उपलब्ध गराइएको थियो।
शंकर ग्रुपले विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, विषम परिस्थितिमा रातदिन नभनी उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय, राष्ट्रसेवक तथा स्थानीय संघसंस्थाहरूको योगदानप्रति सम्मान र आभार व्यक्त गरेको छ।
शंकर ग्रुप नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको अग्रणी औद्योगिक तथा व्यावसायिक समूह हो। समूहअन्तर्गतका विभिन्न उद्योग तथा व्यवसायले हजारौँ नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका छन् भने राज्यलाई ठूलो परिमाणमा राजस्व योगदान गर्दै आएका छन्।
विगतमा महाभूकम्प, कोभिड–१९ महामारीलगायतका विपद् तथा विभिन्न सामाजिक कार्यमा समेत शंकर ग्रुपले सहयोग गर्दै आएको जनाएको छ। देश र नागरिक संकटमा परेका बेला सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई यसपटक पनि निरन्तरता दिएको ग्रुपले जनाएको छ।


