काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रहेको छ।
त्यस्तै, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालन गर्न नदिइने भएको छ। दिउँसो भने सडकको अवस्था मूल्यांकन गरेपछि मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। जिल्लाका अन्य मुख्य राजमार्ग तथा सडकखण्डहरू पनि भदौ १० गतेदेखि नै बाढीका कारण अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सडक तथा राजमार्गको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।



