काठमाडौं:महिला एसियन कप छनोटको तयारीस्वरूप थाइल्यान्ड भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि हार बेहोरेको छ। थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रंगशालामा आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग २–० गोलअन्तरले पराजित भयो।
खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। तर दोस्रो हाफमा थाइल्यान्डले आक्रामक खेल प्रस्तुत गर्दै दुई गोल गर्न सफल भयो। खेलको ५९औँ मिनेटमा चात्चावान रोडथोङले करिब ३५ यार्ड टाढाबाट उत्कृष्ट प्रहारमार्फत पहिलो गोल गरिन्। त्यसपछि ७४औँ मिनेटमा कप्तान जिरापुरन मोङकोल्डीले अर्को गोल गर्दै थाइल्यान्डको अग्रता दोब्बर बनाइन्।
नेपालले त्यसपछि केही अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन र अन्ततः २–० को हार बेहोर्नुपर्यो। यसअघि, शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल थाइल्यान्डसँग १–० गोलअन्तरले पराजित भएको थियो।
आजको खेल निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु भएको थियो, जसको कारण थम्मासत रंगशालामा देखिएको विद्युतीय समस्या हो। नेपाली समयअनुसार खेल साँझ ४:४५ बजे सुरु हुने तालिका थियो।
नेपालले यी मैत्रीपूर्ण खेलहरू आगामी जुन २९ बाट उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोट २०२५ को तयारीस्वरूप खेलेको हो। उक्त प्रतियोगिताको समूह ‘एफ’ मा नेपाल आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।


