काठमाडौँ, २० जेठ: आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ। फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै सिरिजमा विजयी सुरुआत गरेको हो।
२९७ रनको लक्ष्य पछ्याउँदै नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि करण केसी जितका नायक बने। उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६५ रन बनाए।
ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको मद्दतमा ५३ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३३ बलमा २ चौका सहित २० रन बनाए। दुवैले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे।
त्यस्तै, गुलशन झाले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन बनाए। भीम सार्कीले ४८ बलमा ३ चौका सहित ४० रन जोड्दा कप्तान रोहितकुमार पौडेलले ५६ बलमा ३७ रन बनाए।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले ३ विकेट लिए भने माइकल लिस्क र ज्याक जार्भिसले २/२ तथा जसपर डेभिडसनले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। उसका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे।
फेन्ली म्याक्रिथले ६७ बलमा ५५ रन, कप्तान रिची बेरिङ्टनले ४६ बलमा ४० रन, म्याथ्यु क्रसले ५६ बलमा ३९ रन, र माइकल लिस्कले १५ बलमा १८ रन बनाए। ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए।
नेपालका लागि सोमपाल कामी, करण केसी, र रिजन ढकालले समान २/२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे।
नेपालले अब त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्ससँग जेठ २१ गते खेल्नेछ।


