गाजामा इजरायली विस्फोटक पदार्थको कारण गम्भीर घाइते भएका सात वर्षीय मोहम्मद हिजाजी अहिले आफ्ना आँखा बचाउन संघर्षरत छन्। उत्तरी गाजाको जबालियाका यी बालक अहिले तत्काल उपचारको पर्खाइमा छन्।
हिजाजीले विगतमा धेरै हवाई आक्रमणबाट ज्यान जोगाएका थिए र आफ्ना आमाबुबासँग दक्षिण गाजातर्फ भागेका थिए। तर मार्च २५, २०२५ मा, उनले अनजानेमा इजरायली सैनिकहरूले छाडेको विस्फोट नभएको एक शंकास्पद वस्तु छोए। त्यसैको विस्फोटमा परेर उनी गम्भीर घाइते भए।
“त्यो मंगलबार बिहान ठूलो विस्फोटको आवाज आयो। हामी तल झर्यौं, मोहम्मद त्यो वस्तुसँग खेलिरहेको भेट्टायौं। उसलाई त्यो बम हो भन्ने थाहा थिएन, उसले त्यसलाई खेलौना ठानेको थियो,” बालकका पिता अबु मोहम्मदले सम्झिए।
विस्फोटले मोहम्मदको दाहिने आँखाको नानी निकाल्नुपर्यो, र बायाँ आँखा पनि गुमाउने जोखिममा छ। डाक्टरहरूका अनुसार तत्काल विदेश उपचार नभएमा बाँकी आँखामा पनि एट्रोफी (अविकास) हुन सक्छ।
अबु मोहम्मद छोरालाई गाजाबाट बाहिर निकाल्न आतुर छन्। तर युद्धको कारण क्रसिङहरू बन्द छन्, जसले उपचार सम्भव हुन दिएको छैन।
“हामी जति लामो समय पर्खन्छौं, युद्ध जति लम्बिन्छ, मोहम्मदको आँखाको सम्भावना त्यति नै घट्दै जान्छ। त्यो बच्चाले संसार हेर्न नपाउने अवस्था कल्पना गर्न पनि सकिन्न। अन्य केटाकेटीहरू खेलिरहेका देख्दा, मेरा आँखाबाट आँसु आउँछ,” उनले भावुक हुँदै भने।
इन्जिनियर बन्ने सपना देख्ने मोहम्मदले चोट लागेपछि पनि आफ्नो सपना मरेको छैन। अझै पनि उनी आशावादी छन् कि एक आँखाले भए पनि फेरि संसार देख्न पाउनेछन् र आफ्नो सपना पूरा गर्न सक्नेछन्।
एजेन्सी











