Friday, July 3, 2026
Home Blog Page 458

पेरिसमा पीएसजी समर्थक र प्रहरीबीच झडप, ३०० भन्दा बढी पक्राउ

0

पेरिस — फ्रान्सको पेरिसमा प्रहरी र फुटबल क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) का समर्थकहरू बीच भएको झडपपछि प्रहरीले लगभग ३०० जनालाई पक्राउ गरेको छ।

पीएसजीका समर्थकहरूले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराएर पहिलो पटक युरोपको सबैभन्दा ठूलो ट्रफी जितेको खुशीमा उत्सव मनाइरहेका थिए। तर, उत्सवको क्रममा केही समर्थकहरूले सार्वजनिक सम्पत्ति तोडफोड गरे, सवारी साधनमा आगजनी गरे र प्रहरीसँग झडपमा परे।

पक्राउ परेकाहरूमा अधिकांशलाई पटाका राखेको र तोडफोड गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ। उत्सवको समयमा सम्भावित अराजकतालाई ध्यानमा राख्दै पेरिसमा ५,४०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो।

प्रहरी र समर्थकहरू बीच झडप हुँदा पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरिएको थियो। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नको लागि पीएसजीले सरकारसँग जोडदार माग गरेको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पीएसजीलाई उनीहरूको जितमा बधाई दिँदै भने, “बधाई छ, हामी तपाईंमाथि गर्व गर्छौं। आज पेरिस युरोपको राजधानी हो।”

राजावादीद्वारा भोलि उपत्यका बन्द गर्ने घोषणा

0

काठमाडौँ: राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंहलाई प्रहरीले पक्राउ गरेपछि राजावादी समूहले सोमबार उपत्यका बन्दको घोषणा गरेको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ कि शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका नेता र कार्यकर्तालाई प्रहरीले अमानवीय तरिकाले पक्राउ गरेको छ।

समितिले सरकारसँग तत्काल पक्राउ परेका नेता र कार्यकर्तालाई रिहा गर्न जोडदार माग गरेको छ। विज्ञप्तिमा थप भनिएको छ: “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ। यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ। उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु।”

यसअघि, राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंहलाई राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो।

आज भोटो जात्रा: काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

0

काठमाडौं, १८ जेठ— वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावलाखेलमा देखाइने भएको छ।

करिब आठ सय वर्षअघिसम्म ‘भात छर्ने’ परम्पराबाट जावलाखेल जात्रा भनिने यो जात्रा पछि भोटो जात्राका रूपमा प्रसिद्ध भयो। भूतप्रेतलाई भोजन अर्पण गर्ने विश्वाससहित गरिएको यो जात्राको उद्देश्य र महत्वबारे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो।

भोटो जात्राको यकिन तिथिमिति इतिहासमा दर्ज नभए पनि मच्छेन्द्रनाथको यात्रा भने करिब १३०० वर्षअघि सुरु भएको जनश्रुति छ। किंवदन्तीअनुसार नागराज कर्कोटककी रानीको आँखाको समस्या निको पार्न खोजीमा रहेका नागहरूले एक किसानलाई वैद्य ठानी टौदह लगे।

किसानले मच्छेन्द्रनाथको प्रार्थना गरेर माटोले माडिएको मयललाई औषधिको रूपमा प्रयोग गरेपछि रानी निको भइन्। सन्तुष्ट कर्कोटकले किसानलाई मणिमाणिक्यजडित भोटो पुरस्कारस्वरूप दिए। किसानले त्यो भोटो खेतको डिलमा राखेका बेला भूतले चोरेर लग्यो।

मच्छेन्द्रनाथको जात्रामा भाग लिँदै गर्दा किसानले त्यो भोटो भूतले लगाएको देखेपछि दाबी गरे। विवाद गहिरिएपछि भोटोको हकदाबी पुष्टि हुन नसक्ने ठहर गर्दै भोटो मच्छेन्द्रनाथको जिम्मा लगाउने निर्णय भयो।

त्यसपछि वर्षेनी साइत हेरी भोटो देखाउने परम्परा सुरु भयो। अहिलेसम्म कसैले पनि भोटोको प्रमाणसहित दाबी गर्न नसकेको किंवदन्ती छ।

हाल भोटो जात्रा गुठी संस्थान ललितपुरको व्यवस्थापनमा राष्ट्रप्रमुख वा राष्ट्रप्रमुखका प्रतिनिधिको उपस्थितिमा गरिन्छ। यस विशेष अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

संविधानमाथि हमला गर्न खोज्नेविरुद्ध कांग्रेस एकजुट हुनुपर्छ : नेता महर

0

ताप्लेजुङ, १८ जेठ— नेपाली कांग्रेसका नेता नैनसिंह महरले संविधानमाथि हमला गर्न खोज्ने शक्तिहरूविरुद्ध कांग्रेस एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ। संविधानलाई सङ्कटमा पार्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले यस्ता गतिविधिको प्रतिवाद गर्न सबै पार्टी कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो।

मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले समावेशी अधिकारसहितको संविधान नेपाली कांग्रेसकै नेतृत्वमा बनेको स्मरण गराउँदै त्यसको रक्षा गर्नु पार्टीको ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

“समाजमा अराजकता मच्चाउन चाहने शक्तिहरूलाई समावेशी नेपालको अवधारणा असह्य बनेको छ,” उहाँले भन्नुभयो, “जनजाति, दलित, महिला लगायतका समुदायले पाएका संवैधानिक अधिकारहरू नस्वीकार्ने ती शक्तिहरू संविधान संशोधनको नाममा विद्यमान व्यवस्था नै धरापमा पार्ने षड्यन्त्रमा छन्।”

राजावादी प्रवृत्तितर्फ सङ्केत गर्दै उहाँले अब संविधानको संरक्षणका लागि स्पष्ट सोच र बुलन्द आवाज आवश्यक रहेको बताउनुभयो। “नेपाली कांग्रेस दलित, महिला र जनजातिका अधिकारहरूको रक्षा गर्न प्रतिबद्ध छ,” उहाँले जोड दिनुभयो।

पार्टी नेतृत्वमा रहेका व्यक्तिबाट साना-ठूला त्रुटि हुनसक्ने स्वीकार गर्दै नेता महरले त्यसका आधारमा सिङ्गो पार्टीलाई दोष दिन नहुने स्पष्ट पार्नुभयो। स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै उहाँले समावेशी विकास र आर्थिक समानतालाई कांग्रेसको मुख्य प्राथमिकता बताउनुभयो।

लोकतान्त्रिक अभ्यासलाई झुपडीबाट पनि नेतृत्व चयन हुने प्रणालीका रूपमा थप सुदृढ गर्न कांग्रेस कार्यकर्ताबीच एकता, ऐक्यबद्धता र प्रतिबद्धता आवश्यक रहेको उहाँको धारणा थियो।

आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

0

काठमाडौँ, १८ जेठ— हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतः सफा वा आंशिक बदली रहनेछ। ती क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ, १८ जेठः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा रहेको छ।

अन्य प्रमुख मुद्राहरूको विनिमय दर यसप्रकार छ:

युरो (EURO): खरिददर १५४.८३, बिक्रीदर १५५.५१

पाउण्ड स्ट्रलिङ (GBP): खरिददर १८४.११, बिक्रीदर १८४.९२

स्वीस फ्र्याङ्क (CHF): खरिददर १६५.७३, बिक्रीदर १६६.४६

अष्ट्रेलियन डलर (AUD): खरिददर ८७.७३, बिक्रीदर ८८.१२

क्यानेडियन डलर (CAD): खरिददर ९८.९३, बिक्रीदर ९९.३७

सिङ्गापुर डलर (SGD): खरिददर १०५.८२, बिक्रीदर १०६.२९

जापानी येन (JPY) (१० येन): खरिददर ९.४९, बिक्रीदर ९.५३

चिनियाँ युआन (CNY): खरिददर १८.९९, बिक्रीदर १९.०७

साउदी रियाल (SAR): खरिददर ३६.४२, बिक्रीदर ३६.५८

कतारी रियाल (QAR): खरिददर ३७.४९, बिक्रीदर ३७.६६

थाई भाट (THB): खरिददर ४.१६, बिक्रीदर ४.१८

यूएई दिराम (AED): खरिददर ३७.२०, बिक्रीदर ३७.३६

मलेसियन रिङ्गेट (MYR): खरिददर ३२.१०, बिक्रीदर ३२.२४

दक्षिण कोरियन वन (KRW) (१०० वन): खरिददर ९.९१, बिक्रीदर ९.९५

स्विडिस क्रोनर (SEK): खरिददर १४.२६, बिक्रीदर १४.३२

डेनिस क्रोनर (DKK): खरिददर २०.७६, बिक्रीदर २०.८५

हङकङ डलर (HKD): खरिददर १७.४२, बिक्रीदर १७.५०

कुवेती दिनार (KWD): खरिददर ४४५.३२, बिक्रीदर ४४७.२८

बहराइन दिनार (BHD): खरिददर ३६२.४१, बिक्रीदर ३६४.०१

ओमानी रियाल (OMR): खरिददर ३५४.९१, बिक्रीदर ३५६.४६

भारतीय रुपैयाँ (INR) प्रति १०० रुपैयाँको विनिमय दर:

खरिददर १६० रुपैयाँ

बिक्रीदर १६० रुपैयाँ १५ पैसा

राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दरमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोल २ रुपैयाँ महँगो

0

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। भारतको इन्डियन आयल कर्पोरेसन (IOC) बाट शनिबार प्राप्त नयाँ मूल्यको आधारमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य भने प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ।

निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

रुसको आक्रमण तीव्र: सुमीका ११ गाउँ खाली गर्न युक्रेनको आदेश

0

किएभ: रुससँग सीमा जोडिएको युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा बमबारी तीव्र भएपछि स्थानीय अधिकारीहरूले ११ वटा गाउँ खाली गर्न अनिवार्य आदेश दिएका छन्। शनिबार जारी आदेश अनुसार, रुसको निरन्तर आक्रमणको जोखिममा रहेका ती बस्तीहरूबाट तत्काल स्थानान्तरण हुन नागरिकहरूलाई भनिएको छ।

रुसको रक्षा मन्त्रालयले सुमी क्षेत्रमा पर्ने भोडोलाही (युक्रेनी नाम: भोडोलागी) गाउँलाई आफ्नो सेनाले नियन्त्रणमा लिएको दाबी गरेको छ। पछिल्ला केही हप्तादेखि रुसले यस क्षेत्रका थुप्रै गाउँहरू कब्जा गरेको बताइरहेको छ।

५० हजार रूसी सैनिक आक्रमणको तयारीमा
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता मस्कोले सम्भावित ठुलो आक्रमणको तयारीस्वरूप सुमी नजिकै ५० हजारभन्दा बढी सैनिकहरू तैनाथ गरिरहेको चेतावनी दिएका छन्। युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले पनि बिहीबार सुमीमाथि रुसले ठूलो आक्रमणको तयारी गरिरहेको खुलासा गरेका थिए।

उनका अनुसार, गत वर्ष युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा रुसी सीमामा प्रवेश गरेपछि मस्कोले आफ्नो सेनाको उपस्थिति तीव्र रूपमा बढाएको हो। हाल रुसले कुर्स्क क्षेत्रको लगभग सम्पूर्ण भूभाग नियन्त्रणमा लिएको दाबी गरेको छ।

द्वन्द्व जारी, वार्ता अनिश्चित
सन् २०२२ को फेब्रुअरीमा चौतर्फी आक्रमण सुरु गरेपछि रुसले युक्रेनको झन्डै २० प्रतिशत भूभागमा नियन्त्रण कायम राखेको छ। दुई वर्षभन्दा बढी समयदेखि जारी यो युद्धमा दुवै पक्षका हजारौं सैनिक र सर्वसाधारणको ज्यान गएको छ।

वासिङ्टनले युद्धविरामको पहलका लागि कूटनीतिक प्रयास जारी राखेको छ। तर किएभ र मस्कोले एकअर्कालाई शान्ति प्रक्रिया विफल पार्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन्। मे १६ मा भएको पछिल्लो वार्तापछि क्रेमलिनले आगामी बैठकका लागि इस्तानबुलमा वार्ता प्रस्ताव गरेको छ।

तर किएभले उक्त बैठकमा सहभागी हुने वा नहुनेबारे आधिकारिक धारणा स्पष्ट गरिसकेको छैन। युक्रेनी पक्षले भने मस्कोले आक्रमण तत्काल रोकेर युद्धविराम गर्नुपर्ने माग गर्दै आएको छ।

ठूला नेताहरूले विश्राम लिए आन्दोलन थामिन्छ: महामन्त्री गगन थापा

0

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिने हो भने अहिले देशभर देखिएका आन्दोलनहरू रोकिने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार दोहोरिरहँदा जनताले अस्वीकार गर्न थालेको बताए। उनले ठूला दलका नेताहरूले समयमै राजनीतिबाट विश्राम लिए नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने अवसर पाउने र आन्दोलनको कारणहरूमध्ये एक हट्ने धारणा राखे।

भ्रष्टाचारलगायतका विकृतिहरूप्रति जनताले उठाएका प्रश्नहरूलाई नेतृत्व तहले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिए। राजनीतिक दलहरूले आफूलाई फरक बनाउँदै मात्रै विकृत गठबन्धन संस्कारबाट बाहिर निस्कन सक्ने थापाको भनाइ थियो।

संवैधानिक राजसंस्था सम्भव छैन
कार्यक्रममा थापाले नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले संवैधानिक राजसंस्था सम्भव नरहेको दाबी गरे। राप्रपाले संवैधानिक राजतन्त्रको भ्रम सिर्जना गरेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाउँदै उनले भने, “राजतन्त्र फर्काएर रोजगारीलगायत देशको समस्या समाधान हुने सोच भ्रम मात्र हो।”

थापाले मुलुकमा देखिएका संरचनात्मक समस्याको समाधान जनताको सशक्त सहभागिता, जवाफदेही नेतृत्व र लोकतान्त्रिक सुधारमार्फत मात्र सम्भव हुने धारणा व्यक्त गरे।

मनसुनको प्रवेशसँगै कोशी प्रदेशमा बाढी र पहिरोको त्रास, जनजीवन प्रभावित

0

इटहरी: शुक्रबारदेखि औपचारिक रूपमा सक्रिय भएको मनसुनले कोशी प्रदेशमा व्यापक असर पु-याउँदै त्रास फैलाएको छ। निरन्तर वर्षासँगै आएको बाढी र पहिरोले धनकुटादेखि झापासम्म जनजीवन प्रभावित भएको छ। प्रमुख सडकहरू अवरुद्ध छन्, दर्जनौं बस्ती जोखिममा परेका छन् र नागरिकहरू अलपत्र परेका छन्।

धनकुटामा कोशी लोकमार्गको १०० मिटर भाग बगायो
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–६ स्थित लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको झण्डै १०० मिटर सडक भाग बगाएको छ। शुक्रबार रातिदेखि लगातारको वर्षाले खोलाले सडक भत्काएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

यसको प्रत्यक्ष असर धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट धरान, इटहरी र विराटनगरतर्फ यात्रा गर्ने सवारीसाधनमा परेको छ। शनिबार शिक्षक सेवा आयोगको परीक्षा भएकाले सयौं परीक्षार्थीहरू समयमै केन्द्र पुग्न नसकी बीच बाटोमै अलपत्र परेका छन्। केही वर्ष अघिपनि यही खण्डमा खोलाले सडक बगाएर ठूलो क्षति पुर्याएको थियो।

मोरङमा केशलिया खोलाको जोखिम: बस्ती त्रासमा
मोरङको विराटनगर–१२ मा बग्ने केशलिया खोलाले बस्ती नै जोखिममा पारेको छ। स्थानीयवासीहरूका अनुसार खोलामा बनाइएको अस्थायी तटबन्ध अत्यधिक पानीले क्षति पु-याउँदै बस्तीभित्र पस्ने खतरा बढेको छ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले आयोजना कार्यान्वयनमा ठेकेदारको लापरवाही देखिएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

झापामा एसियन हाइवेका डाइभर्सन बगाएपछि आवागमन प्रभावित
झापाको मेचीनगर क्षेत्रमा निर्माणाधीन एसियन हाइवेअन्तर्गत कालीखोला, ढुकुरे खोला र एनिमल अन्डरपास क्षेत्रका डाइभर्सनहरू बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ।

काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालयका प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार ती संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पूर्व–पश्चिम लोकमार्गको पूर्वी खण्ड प्रभावित हुँदा झापा, इलाम र पाँचथरसँगको सडक सम्पर्कमा गम्भीर समस्या आएको छ।

सुनसरीमा चतरा–बराहक्षेत्र सडक पहिरोले अवरुद्ध

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सुनसरीको चतरा–बराहक्षेत्र सडक खण्डमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरोधले स्थानीयवासी र पर्यटकहरू दुबैलाई आवतजावतमा समस्या परेको छ।

सरकारको तयारी

कोशी प्रदेश सरकारले मनसुन सुरु हुनुअघि नै विपद् व्यवस्थापनका लागि तयारी थालेको जनाएको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले विज्ञहरूको सुझावका आधारमा बाढी, पहिरो तथा अन्य विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका छन्। स्थानीय तहसँग समन्वय गर्दै काम अघि बढाइने उनले बताए।

भण्डारीले विगतमा प्रशासनिक खर्चमार्फत मात्र स्रोत व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण ढिलाइ भएको स्वीकार्दै अब योजनाबद्ध रूपमा पूर्वतयारी हुने बताएका छन्।

सतर्कता आग्रह

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी नेपालका अधिकांश नदीहरूमा अझै बाढीको उच्च जोखिम कायम छ। कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहने अनुमान गरिएको छ। नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।