Friday, July 3, 2026
Homeअर्थ र ब्यापारविदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमारको सफलताको कथा

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमारको सफलताको कथा

भद्रपुर (झापा), १९ जेठ: “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ,” विगत सम्झिँदै देउकुमार लिम्बु मुस्कुराउँदै भन्नुहुन्छ, “अहिले त्यो निर्णय मेरो जीवनको सबैभन्दा सही निर्णय सावित भएको छ।”

भद्रपुर नगरपालिका–१ निवासी देउकुमार लिम्बुको जीवनकथा सुन्दा लाग्छ — इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने होइन। उहाँ अहिले ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गर्दै देशमै आत्मनिर्भर कृषकको परिचय बनाइसक्नुभएको छ।

विदेशबाट फर्किएर कृषि कर्म
२४ वर्षअघि राम्रो आम्दानीको आशमा मलेसिया जानुभएका देउकुमारले त्यहाँ १३ वर्ष बिताउनुभयो। “त्यहाँ मासिक एक लाख २५ हजार रुपैयाँसम्म कमाउँथे,” उहाँ सम्झनुहुन्छ, “काम राम्रै थियो, तर लाग्यो, यही मेहनत आफ्नै देशमा गरे उस्तै कमाइ हुन सक्छ।”

तर मलेसियाबाट फर्किएपछि सुरुका दुई वर्ष उहाँ अलमलमा पर्नुभयो। के गर्ने? सफल भएन भने फेरि विदेश जानुपर्ने कि? भन्ने चिन्ताले घेरेको थियो। अन्ततः उहाँले निर्णय लिनुभयो — अरुको खेतमा काम गर्नुभन्दा आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउने।

सानो सुरुआत, ठूलो विस्तार
मलेसियाबाट ल्याएको केही पुँजीबाट देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गर्नुभयो। सुरुमा सानो क्षेत्रफलमा केही तरकारी खेती गर्दा गर्दै अहिले फार्म चार विघाभन्दा बढीमा फैलिएको छ। झन्डै एक करोड रुपैयाँभन्दा बढी लगानी भएको यो फार्ममा अहिले सागसब्जी, केरा, सुपारी, बङ्गुर र माछापालनसमेत गरिन्छ।

उहाँ बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिनुहुन्छ। “जब बजारमा तरकारीको अभाव हुन्छ, त्यतिबेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ,” उहाँ भन्नुहुन्छ। त्यसैले धेरैजसो व्यापारी अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न आउने गरेका छन्।

जैविक उत्पादन र स्थानीय रोजगारी
देउकुमार रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न प्राथमिकता दिनुहुन्छ। “जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी हुन्छ, ग्राहक पनि खुसी हुन्छन्,” उहाँको भनाइ छ।

फार्मले स्थानीय रोजगारी सिर्जना पनि गरिरहेको छ। अहिले सात जना स्थानीय युवा नियमित रूपमा फार्ममा कार्यरत छन् भने सिजनमा २०–२२ जना श्रमिकले रोजगारी पाउँछन्। उहाँ भन्नुहुन्छ, “आजको युवालाई लाग्छ विदेश जानुपर्छ, तर यहाँ पनि सम्भावना छ भन्ने विश्वास गर्न सक्नुपर्छ।”

चुनौती र सम्भावना
देउकुमारको धारणा छ — नेपालमा कृषिमा अपार सम्भावना छ, तर चुनौती पनि कम छैन। “मुख्य समस्या हो — भारतबाट सस्तोमा तरकारी आयात हुनु र हाम्रो उत्पादन बजारमा राम्रो मूल्य नपाउनु,” उहाँ बताउनुहुन्छ। सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिएमा घरेलु कृषकले पनि सहजै प्रतिस्पर्धा गर्न सक्ने उहाँको विश्वास छ।

अनुदानमा सुधार आवश्यक
“कृषकलाई दिइने सरकारी अनुदानको व्यवस्थापन अझ प्रभावकारी हुनुपर्छ,” उहाँ स्पष्ट पार्नुहुन्छ। “वास्तविक कृषकले अनुदान पाउनु पर्ने हो, तर कतिपयले पाउँदैनन् भने पाएकाले पनि दुरुपयोग गर्छन्। अनुगमनको अभाव छ।”

युवालाई सन्देश
अन्त्यमा देउकुमारको सन्देश छ — “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस्। सानो पुँजी, सही सोच र सिकेका सीप प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक जीवन र आम्दानी सम्भव छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका