दोधारा चाँदनी (कञ्चनपुर), १९ जेठ: दोधारा चाँदनी (कञ्चनपुर)मा सुक्खा बन्दरगाह निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भइसकेको छ। यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ।
सुक्खा बन्दरगाह भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदैछ। नेपाल र भारत सरकारबीच २०२३ को जुन १ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। भारतीय पक्षले दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ।
बन्दरगाहका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुनेछन्। नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा ल्याइसकेको छ। भारतले बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ।
सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।


