काठमाडौं: आज देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेष गरी कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। रातिमा समेत कोसी र गण्डकी प्रदेशका पहाडी भागहरूमा, साथै अन्य क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
हाल देशको पश्चिम तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारेका छन् भने, कोसी प्रदेशमा भने मनसुनी वायुको प्रभाव प्रमुख रुपमा सक्रिय रहेको विभागले जनाएको छ।


