काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक जगतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो।
यस वर्षको दीक्षान्त समारोहका प्रमुख अतिथि सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता रहेका छन्।
त्रिविका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने व्यवस्थासम्म सबै तयारी सम्पन्न गरिएको उनले जानकारी दिए।
समारोहमा १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुनेछन्। विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने विश्वविद्यालयको अनुमान छ। त्रिविका विभिन्न सङ्काय र तहबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्।
दीक्षान्त समारोहका अवसरमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ। विश्वविद्यालयका अनुसार मानविकी, व्यवस्थापन, कानून र शिक्षा सङ्कायबाट ठूलो सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भएका छन्।
नोबेल पुरस्कार विजेता वैज्ञानिकको उपस्थितिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रतिष्ठा र अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइ दिने विश्वास विश्वविद्यालयले व्यक्त गरेको छ।


