काठमाडौं । ब्रुनेईका सुल्तान हसनल बोल्कियाले आफ्नी बुहारी पेङ्गिरन राबियातुल अदावियाहका सबै शाही उपाधि फिर्ता लिएका छन्। सुल्तानले उनको व्यवहार शाही परिवारका सदस्यका लागि अनुचित रहेको र उनका गतिविधिले राजतन्त्रको प्रतिष्ठामा क्षति पुर्याएको बताएका छन्।
ब्रुनेई दारुस्सलामको ‘अफिस अफ ग्रान्ड चेम्बरलेन’ ले यसै महिनाको सुरुआतमा यसको पुष्टि गरेको हो। कार्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार सुल्तानको आदेशपछि राबियातुल अदावियाहको शाही उपाधि तत्काल प्रभावबाट फिर्ता लिइएको छ।
यद्यपि, उनले गरेको भनिएको अनुचित व्यवहार के थियो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। विज्ञप्तिमा उनको व्यवहार शाही परिवारका सदस्यकी पत्नीका लागि उपयुक्त नरहेको उल्लेख गरिएको छ। साथै, सुल्तानप्रति पर्याप्त सम्मान नदेखाएको र राजतन्त्रको प्रतिष्ठामा आँच पुर्याउने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।
ब्रुनेईको सरकारी प्रसारक ‘आरटीबी न्युज’ले पनि सुल्तानप्रति गरिएको कथित अपमानजनक व्यवहार तथा राजतन्त्रको छविमा नकारात्मक प्रभाव पार्ने गतिविधिका कारण शाही उपाधि फिर्ता लिने निर्णय गरिएको जनाएको छ।
३३ वर्षीया राबियातुल अदावियाह सुल्तानका छोरा प्रिन्स अब्दुल मलिककी पत्नी हुन्। ४३ वर्षीय प्रिन्स अब्दुल मलिक ब्रुनेईको राजगद्दीको उत्तराधिकार क्रमको चौथो स्थानमा छन्। सुल्तानको आदेशपछि राबियातुल अदावियाहको ‘याङ अमात मुलिया पेङ्गिरन अनाक इस्तेरी’ उपाधि खोसिएको छ।
यस घटनालाई विशेष चासोका साथ हेरिएको छ, किनकि ब्रुनेईमा यसअघि शाही उपाधि फिर्ता लिइएका यस्तै घटनाहरू सम्बन्धविच्छेदपछि भएका थिए। तर, यसपटक प्रिन्स अब्दुल मलिक र राबियातुल अदावियाहबीच सम्बन्धविच्छेद वा औपचारिक रूपमा अलग भएको कुनै घोषणा गरिएको छैन।
सन् २००३ मा सुल्तान हसनल बोल्कियाले आफ्नी दोस्रो पत्नी मरियम अब्दुल अजिजसँग सम्बन्धविच्छेद गरेपछि उनको शाही उपाधि फिर्ता लिएका थिए। त्यस्तै, सन् २०१० मा तेस्रो पत्नी अज्रिनाज मजहर हकिमसँग सम्बन्धविच्छेदपछि पनि उनको शाही उपाधि फिर्ता लिइएको थियो।
राबियातुल अदावियाहले सन् २०१५ मा राजधानी बन्दर सेरी बेगावानमा १० दिनसम्म चलेको भव्य शाही विवाह समारोहबीच प्रिन्स अब्दुल मलिकसँग विवाह गरेकी थिइन्। उनीहरूका चार सन्तान छन्। उपलब्ध रिपोर्टअनुसार सुल्तानको पछिल्लो निर्णयले उनीहरूका सन्तानको शाही उपाधिमा भने कुनै असर परेको छैन।
८० वर्षीय सुल्तान हसनल बोल्किया सन् १९६८ देखि ब्रुनेईको शासनमा छन्। उनी विश्वमा सबैभन्दा लामो समयदेखि शासन गरिरहेका जीवित सम्राटमध्ये एक हुन्।


