Sunday, August 16, 2026
Homeराजनीतिकांग्रेस इतर भेलाको समापनमा छताछुल्ल भयो आन्तरिक विवाद, धर्मको विषयले थप बहस

कांग्रेस इतर भेलाको समापनमा छताछुल्ल भयो आन्तरिक विवाद, धर्मको विषयले थप बहस

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला सम्पन्न हुने क्रममा पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको छ। उद्घाटनमा सहभागी भएका नेताहरू समापन समारोहमा अनुपस्थित हुनु तथा निर्णयका विषयमा शीर्ष नेताबीच मञ्चमै मतभेद देखिनुले कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ।

पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला उद्घाटन समारोहमा सहभागी भए पनि समापन कार्यक्रममा उपस्थित भएनन्। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा भएको भेलाको उद्घाटनमा पूर्वसभापति शेरबहादुर देउवाको दायाँबायाँ शेखर र शशांकलाई राखिएको थियो। तर समापन समारोहमा खड्का र शेखर दुवै देखिएनन्।

भेलाले १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा संयोजक शशांक कोइरालाले समन्वय गर्ने निर्णय गरेको छ। यही निर्णयपछि शशांकलाई संस्थापनइतर पक्षको नेतृत्वमा अघि बढाउने तयारी थालिएको हुन सक्ने चर्चा कांग्रेसभित्र सुरु भएको छ।

यद्यपि, शशांक कोइरालाले भने शेखरले सुरुमै आफू उद्घाटन सत्रमा मात्र सहभागी हुने जानकारी गराएको बताएका छन्। शेखर र खड्कानिकट अन्य नेता तथा कार्यकर्ता भने समापन समारोहमा सहभागी थिए।

यसैबीच, भेलाका निर्णय सार्वजनिक गर्ने क्रममा कांग्रेस नेता विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच भएको विवाद पनि चर्चामा आएको छ। हलबाट प्राप्त सुझाव समेटेर तयार पारिएको निर्णयको मस्यौदा प्रस्तुत गर्ने क्रममा दुई नेताबीच मतभेद देखिएको थियो।

१४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव प्रस्तुत हुँदा हलले ताली बजाएर अनुमोदन गरेको थियो। त्यसपछि निर्णयको मस्यौदामा ‘कार्यसमिति’ शब्द समावेश गर्ने विषयमा महतले आग्रह गरेपछि निधि पनि मञ्चमा पुगेका थिए। दुवै नेताबीच केहीबेर भनाभन भएपछि निधिले महतलाई मञ्चबाट हट्न आग्रह गरेका थिए। त्यस क्रममा केहीबेर माइकसमेत बन्द गरिएको थियो।

धर्मसम्बन्धी विषयमा पनि निधि र महतबीच फरक धारणा देखिएको थियो। महतले निर्णयमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राख्नुपर्ने धारणा राखेका थिए भने निधिले त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान लिएका थिए।

प्रत्यक्ष प्रसारण भइरहेका बेला यही विषयमा दुई नेताबीच भनाभन र निर्णयको कागज तानातानसमेत भएको थियो। पछि महतले भने घटनालाई ठूलो विवादका रूपमा लिन नहुने बताएका छन्। धर्मको विषयमा केही फरक धारणा भए पनि अन्ततः सहमति कायम भएको र सम्मेलनले निर्णय सर्वसम्मत रूपमा पारित गरेको उनको भनाइ छ।

समापन समारोहमा पूर्वसभापति देउवाले धर्मसम्बन्धी दिएको अभिव्यक्तिले पनि कांग्रेसभित्र र बाहिर नयाँ बहस जन्माएको छ। उनले आफू हिन्दु भएको उल्लेख गर्दै भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ। म पशुपतिनाथ जान्छु, पूजा गर्छु।’

देउवाले आफू हिन्दु धर्मसँगै बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्ने बताए। बौद्ध धर्मलाई विश्वले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत मानिएको उनको भनाइ थियो।

नेपालमा प्रकृतिलाई आधार मानेर धार्मिक आस्था राख्ने समुदायसमेत रहेको उल्लेख गर्दै देउवाले राई, लिम्बूलगायत समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्नुपर्ने बताए। नेपाल कस्तो हुने भन्ने कुरा अन्ततः नेपाली जनतामै निर्भर रहने उनको भनाइ थियो।

भेलाका निर्णय, धर्मसम्बन्धी बहस र देउवाको अभिव्यक्तिले कांग्रेसको संस्थापनइतर पक्षको आगामी राजनीतिक एजेण्डामा धर्मको विषयले औपचारिक स्थान पाउन थालेको संकेत गरेको कांग्रेसभित्र चर्चा सुरु भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका