काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक ‘सम्मेलन’ का रूपमा अगाडि बढाउने भएको छ।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार सुरुमा राष्ट्रिय भेलाका रूपमा तय गरिएको कार्यक्रमलाई पछिल्लो राजनीतिक परिस्थिति र अदालतको निर्णयलाई ध्यानमा राख्दै विधानसम्मत सम्मेलनमा रूपान्तरण गरिएको हो।
विश्वकर्माले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी अदालतको पछिल्लो निर्णय र त्यसपछि अघि बढेको प्रक्रियालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताए। उनका अनुसार सुरुमा विधानभन्दा बाहिर समानान्तर भेला गर्ने तयारी भए पनि अदालतले पार्टीसम्बन्धी सम्पूर्ण प्रक्रियालाई सुरुदेखि हेर्ने भएपछि विधानअनुसार नै कार्यक्रम अघि बढाइएको हो।
किन ‘सम्मेलन’ भनियो?
विश्वकर्माका अनुसार कांग्रेसको विधानले पार्टीका ठूला कार्यक्रमका रूपमा सम्मेलन र अधिवेशनलाई छुट्टाछुट्टै व्यवस्था गरेको छ। अधिवेशनले नेतृत्व चयन गर्ने भए पनि सम्मेलनले पार्टीका नीति तथा आगामी कार्यदिशाबारे छलफल गरी निर्णय गर्न सक्छ।
हरेक वर्ष सम्मेलन गर्न सकिने र निश्चित अवधिमा महाधिवेशन गर्नुपर्ने व्यवस्थाअनुसार यस कार्यक्रमलाई सम्मेलनको स्वरूप दिइएको विश्वकर्माले बताए।
सम्मेलनमा महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा प्रदेश सभापतिहरूको उल्लेख्य सहभागिता रहेको छ। सुरुमा केन्द्रीय सभापति तथा अन्य पदाधिकारीको सहभागिता हुनेमा आशंका रहे पनि अहिले पार्टी नेतृत्वको समेत उपस्थिति भएपछि कार्यक्रमलाई सम्मेलनका रूपमा अघि बढाउनु उपयुक्त भएको विश्वकर्माको भनाइ छ।
पाँच नीतिमा छलफल र निर्णय
विश्वकर्माका अनुसार सामान्य भेलाले नीति पारित गर्न नसक्ने भएकाले कार्यक्रमलाई सम्मेलनमा रूपान्तरण गरिएको हो। सम्मेलनबाट पार्टीको आगामी कार्यदिशा, विचार र आन्तरिक सुधारसँग सम्बन्धित पाँचवटा महत्वपूर्ण नीति पारित गर्ने तयारी गरिएको छ।
उनका अनुसार भेलाले मुख्यतः असन्तुष्टि व्यक्त गर्ने भए पनि सम्मेलनले औपचारिक रूपमा नीतिगत निर्णय गर्न सक्ने भएकाले कार्यक्रमलाई विधानसम्मत स्वरूप दिइएको हो।
सम्मेलनमा नेतृत्व परिवर्तनको विषयलाई प्राथमिकतामा नराखी नीतिगत सुधार, पार्टीको आन्तरिक सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशामा केन्द्रित हुने बताइएको छ।


