काठमाडौं। नेपाली कांग्रेसको साविक १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।
सुकेधारामा सम्पन्न कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलनले पार्टी सभापति शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा पार्टी एकताबद्ध हुँदै १५औँ महाधिवेशन सम्पन्न हुने दृढ विश्वास व्यक्त गरेको छ।
महाधिवेशन सम्पन्न नभएसम्म आवश्यक नियमित सांगठनिक गतिविधि सभापति देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले समन्वय गर्ने व्यवस्था मिलाइएको छ।
सम्मेलनले मुलुकको वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न महत्त्वपूर्ण प्रस्तावसमेत पारित गरेको छ।
वि.सं. २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकट समाधानका लागि अघि सारेको राष्ट्रिय मेलमिलाप नीतिको स्मरण गर्दै वर्तमान परिस्थितिमा राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्तिहरूसँग निरन्तर संवाद गर्ने निर्णय गरिएको छ।
त्यसैगरी नेपालको सनातन धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा गर्दै हिन्दु, बौद्ध, किरात तथा प्रकृति पूजक धर्म–संस्कृतिको संरक्षण गर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ।
यसैगरी वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्थाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी राजनीतिक निकास खोज्ने प्रतिबद्धता पनि जनाइएको छ।
साउन ३० र ३१ गते सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रस्ताव तथा सुझावलाई परिमार्जनसहित लिखित दस्ताबेजका रूपमा तयार पार्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठित समितिलाई दिइएको छ।
समितिमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र सीता राना सदस्य रहेका छन्। सहयोगी सदस्यका रूपमा केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेललाई चयन गरिएको छ।


