Sunday, August 16, 2026
Homeअन्तराष्ट्रियवैदेशिक जीवनका लागि पानामा लगातार तेस्रो वर्ष विश्वकै उत्कृष्ट गन्तव्य

वैदेशिक जीवनका लागि पानामा लगातार तेस्रो वर्ष विश्वकै उत्कृष्ट गन्तव्य

काठमाडौं । बसाइँसराइ तथा वैदेशिक जीवनशैलीसम्बन्धी अध्ययन गर्ने संस्था ‘इन्टरनेसनल्स’ले सार्वजनिक गरेको ‘एक्सप्याट इन्साइडर २०२६’ सर्वेक्षणमा पानामा लगातार तेस्रो वर्ष वैदेशिक जीवन बिताउनका लागि विश्वकै उत्कृष्ट गन्तव्य बनेको छ।

जीवनस्तर, बसोबासको सहजता, वैदेशिक रोजगारी, व्यक्तिगत वित्त तथा व्यावहारिक सुविधालगायत विभिन्न सूचकका आधारमा गरिएको सर्वेक्षणमा पानामा पहिलो स्थानमा परेको हो।

सर्वेक्षणअनुसार पानामामा बसोबास गर्ने ८७ प्रतिशत विदेशी आफ्नो जीवनशैलीप्रति सन्तुष्ट छन् भने ९० प्रतिशतले आवास खोज्न सहज रहेको बताएका छन्। स्थिर अर्थतन्त्र, तुलनात्मक रूपमा कम कर प्रणाली तथा सहज जीवनशैलीका कारण पानामा विदेशीहरूका लागि आकर्षक गन्तव्य बनेको अध्ययनले देखाएको छ।

सर्वेक्षणमा मेक्सिको दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन्। मेक्सिको विदेशीहरूलाई स्थानीय समुदायमा घुलमिल हुन तथा स्थानीय मित्र बनाउन सहज हुने देशका रूपमा अगाडि देखिएको छ। त्यहाँ ७३ प्रतिशत विदेशीले स्थानीय साथी बनाउन सहज भएको बताएका छन्।

तेस्रो स्थानमा रहेको थाइल्यान्ड भने जीवनयापनको लागतका हिसाबले सबैभन्दा सस्तो गन्तव्यका रूपमा देखिएको छ। साथै, विदेशीहरूका लागि सबैभन्दा खुसी देशका रूपमा पनि थाइल्यान्ड अगाडि आएको छ। त्यहाँ बस्ने ८६ प्रतिशत विदेशी आफ्नो वैदेशिक जीवनबाट पूर्ण रूपमा सन्तुष्ट रहेको सर्वेक्षणले जनाएको छ।

त्यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई) चौथो र ब्राजिल पाँचौँ स्थानमा छन्। रोजगारीका अवसर, भाषा तथा भिसासम्बन्धी सहजताका कारण यूएई उत्कृष्ट गन्तव्यका रूपमा देखिएको छ। ब्राजिल भने स्थानीय समुदायको न्यानो आतिथ्य तथा सांस्कृतिक सामीप्यताका कारण पहिलोपटक शीर्ष पाँचमा परेको हो।

शीर्ष १० मा स्पेन छैटौँ, सिंगापुर सातौँ, पोर्चुगल आठौँ, मलेसिया नवौँ र लक्जमबर्ग दशौँ स्थानमा रहेका छन्।

सर्वेक्षणमा सहभागी विदेशीहरूले नयाँ देशमा बसोबास गर्दा स्थानीय भाषा, संस्कृति तथा परम्पराको सम्मानलाई विशेष महत्त्व दिनुपर्ने बताएका छन्।

अध्ययनले तुलनात्मक रूपमा कम खर्चमा उच्च जीवनस्तर, सहज प्रशासनिक प्रक्रिया र सुरक्षित वातावरण उपलब्ध हुने देशहरू वैदेशिक जीवन बिताउन चाहनेहरूको प्राथमिकतामा पर्ने देखाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका