Sunday, August 16, 2026
Homeअन्तराष्ट्रियबेल्जियममा घरको भित्ताभित्र भेटियो ९० लाख युरोको सुनको खजाना

बेल्जियममा घरको भित्ताभित्र भेटियो ९० लाख युरोको सुनको खजाना

काठमाडौं । बेल्जियमको इस्ट फ्ल्यान्डर्समा घर मर्मतका क्रममा मजदुरहरूले भित्ताभित्र करिब ९० लाख युरो अर्थात् लगभग १ अर्ब ५८ करोड नेपाली रुपैयाँ बराबरको सुनको खजाना फेला पारेका छन्। खजानामा सुनका इँटा (बिस्कुट) र सिक्का रहेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मजदुरहरूले ढलको पाइप बिछ्याउन ड्रिलिङ गरिरहेका बेला यो खजाना फेला पारेका हुन्। भवनको जगमा काम गर्ने क्रममा सुन भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।

खजाना भेटिएसँगै यसको वास्तविक हकदार को हुने भन्ने प्रश्न उठेको छ। खजानामाथि मजदुरहरू तथा उक्त जग्गाको स्वामित्वमा रहेको स्थानीय संस्था दुवैले दाबी गर्न सक्ने अवस्था छ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले सर्वसाधारणलाई थप खजाना खोज्ने उद्देश्यले निर्माणस्थलमा प्रवेश नगर्न चेतावनी दिएको छ। घरको पूर्ण तलासी लिइसकिएको र भेटिएको सुन सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

खजाना भेट्ने मजदुरमध्ये १८ वर्षीय कोबे नामका विद्यार्थी पनि थिए। गर्मी बिदामा अतिरिक्त आम्दानीका लागि काम गरिरहेका उनले बेल्जियमको सरकारी प्रसारक ‘भीआरटी’सँग सुरुमा आफूहरूले भेटिएको वस्तु सुन हो भन्ने विश्वास गर्न नसकेको बताए।

उनका अनुसार सुरुमा सामान्य युरोको सिक्का भेटिएको जस्तो लागेको थियो। तर पछि सुनको एउटा इँटा देखिएपछि आफूहरूले यो सामान्य वस्तु नभएको थाहा पाएको उनले बताए।

साइट म्यानेजर मारियोले पनि ठूलो परिमाणमा सुन भेटिएकाले त्यसलाई लुकाएर राख्नु सम्भव नरहेको बताए। उनले सुन आफूसँग राख्नु चोरी हुने भएकाले प्रहरीलाई जानकारी गराउनु नै उचित भएको बताए।

सुन भेटिएको जग्गा हाल ‘सीएडब्ल्यु ओस्ट–भ्लान्डरेन’ नामक संस्थाको स्वामित्वमा छ। उक्त संस्थाले डान्डरमोन्डे क्षेत्रमा सामाजिक तथा कल्याणकारी सेवा प्रदान गर्दै आएको छ।

संस्थाका निर्देशक गर्ट हिलर्टले खजाना भेटिएको खबरले आफूहरू आश्चर्यचकित भएको बताए। उनले खजाना संस्थाको स्वामित्वमा आएमा भविष्यमा सामाजिक तथा कल्याणकारी काममा प्रयोग गर्न सकिने आशा व्यक्त गरेका छन्।

स्थानीय प्रहरीले निर्माणस्थलमा अनधिकृत रूपमा प्रवेश गरी थप खजाना खोज्ने प्रयास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले भेटिएको सुन ‘सही ठाउँमा’ पुग्ने र त्यसबाट मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने आशा व्यक्त गरेको छ।

बेल्जियमको कानुनअनुसार खजानाको वास्तविक मालिकले आफ्नो दाबी प्रमाणित गर्न पाँच वर्ष अर्थात् १ हजार ८२३ दिनको समय पाउँछन्। तर, यस घटनामा अनुसन्धान गरिरहेका सरकारी वकिलका अनुसार हालसम्म सुनको वास्तविक मालिक को हो भन्ने पत्ता लाग्न सकेको छैन।

निर्धारित अवधिभित्र वास्तविक मालिक प्रमाणसहित दाबी गर्न नआएमा र खजाना कुनै आपराधिक गतिविधिसँग सम्बन्धित नभएको पुष्टि भएमा नागरिक कानुनअनुसार यसको बाँडफाँड हुन सक्नेछ। यस्तो अवस्थामा अन्य व्यक्तिको जग्गामा लुकेको खजाना फेला पार्ने व्यक्ति र जग्गाधनीबीच बराबर बाँडिने कानुनी व्यवस्था रहेको बताइएको छ।

अब निर्माणमा संलग्न मजदुरहरू र जग्गाधनी संस्था वास्तविक मालिक प्रमाणसहित दाबी गर्न आउँछन् कि आउँदैनन् भन्ने पर्खाइमा छन्। १ हजार ८२३ दिनभित्र कुनै दाबी नआएमा त्यसपछिको कानुनी प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका