Saturday, August 15, 2026
Homeशिक्षासरकारले स्वीकृत गर्‍यो उच्च शिक्षाको राष्ट्रिय क्यालेन्डर, अब विश्वविद्यालयको शैक्षिक सत्रमा कडाइ

सरकारले स्वीकृत गर्‍यो उच्च शिक्षाको राष्ट्रिय क्यालेन्डर, अब विश्वविद्यालयको शैक्षिक सत्रमा कडाइ

काठमाडौँ । सरकारले ‘उच्च शिक्षाको प्रस्तावित राष्ट्रिय क्यालेन्डर २०८३/०८४’ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगको सिफारिसका आधारमा परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो।

कक्षा १२ को नतिजा सार्वजनिक हुने समयलाई मुख्य आधार बनाएर तयार गरिएको क्यालेन्डरले विश्वविद्यालयमा भर्ना आवेदन, प्रवेश परीक्षा, पठनपाठन, आन्तरिक मूल्याङ्कन, अन्तिम परीक्षा र नतिजा प्रकाशनलाई एउटै निश्चित तालिका र मापदण्डमा ल्याउने लक्ष्य राखेको छ।

नयाँ क्यालेन्डरअनुसार शैक्षिक सत्र २०८३/०८४ मा स्नातक तहको वार्षिक र सेमेस्टर प्रणालीका लागि विद्यार्थी भर्ना आवेदन असारदेखि सुरु हुनेछ। साउनभित्र प्रवेश परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्नुपर्नेछ भने भर्ना प्रक्रिया भदौभित्र सम्पन्न गरी सोही महिनाबाट कक्षा सञ्चालन गर्नुपर्नेछ।

प्रथम सेमेस्टरको कक्षा भदौदेखि माघसम्म सञ्चालन हुनेछ। माघमा अन्तिम परीक्षा लिएर फागुनभित्र नतिजा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ। दोस्रो सेमेस्टरको भर्ना तथा कक्षा सञ्चालन फागुनदेखि सुरु भई २०८४ असारसम्म चल्नेछ। असारमा परीक्षा सञ्चालन गरी साउनमा नतिजा प्रकाशन गर्नुपर्नेछ।

वार्षिक प्रणालीतर्फ २०८३ भदौदेखि २०८४ वैशाखसम्म पठनपाठन सञ्चालन गरिनेछ। २०८४ जेठमा अन्तिम परीक्षा सञ्चालन गरी साउन वा भदौभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ।

सरकारले विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० तथा अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को प्रावधानअनुसार क्यालेन्डर कार्यान्वयन गर्न देशका सबै विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थालाई निर्देशन दिएको छ।

अब विश्वविद्यालयहरूले क्रमशः डिजिटल तथा केन्द्रीकृत अनलाइन भर्ना प्रणाली अवलम्बन गर्नुपर्नेछ। प्रवेश परीक्षा आवश्यक नपर्ने साधारण शैक्षिक कार्यक्रममा कक्षा १२ को जीपीएका आधारमा भर्ना लिन सकिनेछ भने व्यावसायिक तथा प्राविधिक विषयमा विद्यार्थीको रुचि र क्षमता परीक्षणका लागि प्रवेश परीक्षा अनिवार्य गरिएको छ।

कक्षा १२ को नतिजा प्रकाशन भएको ८ हप्ताभित्र विश्वविद्यालय तहको पठनपाठन सुरु गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। सेमेस्टर प्रणालीमा न्यूनतम ९० घण्टा वा १६ हप्ता पठनपाठन हुनुपर्नेछ भने अधिकतम दुई हप्तासम्म मात्र सेमेस्टर ब्रेक दिन पाइनेछ।

परीक्षा सञ्चालन भएपछि नियमित परीक्षाको नतिजा अधिकतम ६० दिनभित्र र अन्तिम सेमेस्टरको नतिजा ३० दिनभित्र अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, कक्षा १२ को मौका वा ग्रेड वृद्धि परीक्षामा सहभागी विद्यार्थीले समेत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। स्नातक तहको अन्तिम नतिजा प्रकाशित भएको ३० देखि ४५ दिनभित्र स्नातकोत्तर तहको भर्ना सम्पन्न गरी कक्षा सुरु गर्नुपर्नेछ।

सरकारले नयाँ राष्ट्रिय क्यालेन्डरमार्फत विश्वविद्यालयमा देखिँदै आएको शैक्षिक सत्रमा ढिलाइ, अनिश्चित परीक्षा तालिका तथा नतिजा प्रकाशनमा हुने लामो समयको विलम्ब अन्त्य गर्दै उच्च शिक्षालाई समयबद्ध र व्यवस्थित बनाउने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका