Thursday, June 11, 2026
Homeशिक्षागलिनाथ माविमा नमूना पुस्तकालय स्थापना गर्ने तयारी तीव्र

गलिनाथ माविमा नमूना पुस्तकालय स्थापना गर्ने तयारी तीव्र

बैतडी । पठन संस्कृतिको विकास तथा विभिन्न आवश्यक पुस्तक सहज रूपमा उपलब्ध गराउने उद्देश्यले पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ माध्यमिक विद्यालय, बडगाउँमा नमूना पुस्तकालय स्थापना गर्न आवश्यक गृहकार्य अगाडि बढाइएको छ।

विद्यालयका प्रधानाध्यापक दिनेश नागरीका अनुसार गत असोज ६ गतेदेखि पुस्तकालयको सुरुआत गरिएको हो र हालसम्म साढे चार हजारभन्दा बढी पुस्तक सङ्कलन भइसकेका छन्। पुस्तकालयका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट पुस्तक सहयोग प्राप्त भइरहेको उनले बताए। पुर्चौंडी घर भई देशका विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढी व्यक्तिहरूले पुस्तक उपलब्ध गराएका छन्।

पुस्तकालयमा धार्मिक, शैक्षिक, संविधान, ऐन, कानुनलगायत विविध विषयका पुस्तकहरू राखिएका छन्। दुर्गम क्षेत्रका विद्यार्थी तथा स्थानीयवासीलाई अध्ययन–अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित नमूना पुस्तकालय स्थापना गर्ने अभियान अघि बढाइएको प्रधानाध्यापक नागरीले बताए।

उनले भने, “दुर्गम क्षेत्रमा पठन संस्कृतिको विकास गर्न नमूना पुस्तकालय निर्माण गर्ने हाम्रो लक्ष्य हो। यसका लागि सबैको सहयोग आवश्यक छ।”

पुस्तकालयमा आगामी दिनमा १० हजार पुस्तक पुर्‍याउने लक्ष्य राखिएको छ। पुस्तकालयबाट पुस्तक घरमै लगेर पढ्न सकिने व्यवस्था मिलाइनेछ भने पुस्तकालयमै बसेर अध्ययन गर्नसमेत सुविधा उपलब्ध गराइने जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका