Friday, June 26, 2026
Home Blog Page 528

चिनियाँ चलचित्र “म कहिल्यै नमरी जीउन चाहन्छु” लुम्बिनीमा छायाङ्कन गर्नेबारे छलफल

0

लुम्बिनी: चिनियाँ कलाकारहरूले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र निर्माण गर्ने विषयमा लुम्बिनी विकास कोषमा आज छलफल गरेका छन्। “म कहिल्यै नमरी जीउन चाहन्छु” नामक चलचित्रको एकतिहाइ भाग बुद्ध जन्मस्थल लुम्बिनीमा छायांकन गर्ने योजना रहेको भन्दै निर्माता तथा कलाकारहरूले छलफल गरेका हुन्।

उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले चलचित्रले बुद्ध र लुम्बिनीको सकारात्मक प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, चलचित्रले चीनका नागरिकहरूमा बुद्ध र लुम्बिनीबारे सकारात्मक प्रभाव पार्नेछ। साथै, कानुनी प्रक्रिया अनुसार छायांकन सहज बनाउन कोषले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छलफलका क्रममा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बुद्धको सन्देशलाई चलचित्रमा सही रूपमा उठान गर्न सुझाव दिनुभयो। उहाँले बौद्धशास्त्रअनुसार “बुद्धले लुम्बिनी भ्रमण गर्दा जीवनका पापहरू क्षम्य हुने” भन्ने मान्यता उल्लेख गर्दै चलचित्रले बृहत्तर लुम्बिनी क्षेत्रलाई समेटेर छायांकन गर्नुपर्ने धारणा राख्नुभयो।

चलचित्रका निर्माता चाउ डिफिङले टोली अहिले प्रारम्भिक जानकारी लिन आएको बताउँदै, चिनियाँ दूतावासमार्फत औपचारिक रूपमा लुम्बिनीमा छायांकनको प्रक्रिया अघि बढाइने जानकारी गराउनुभयो। निर्माता चाउसँगै छायाङ्कार डेङ छुङमिनसहितको टिम लुम्बिनी आएको थियो। चलचित्र टोलीका सहजकर्ता डा. सागर न्यौपानेका अनुसार, चीनबाट छायांकन थालनी गरी लुम्बिनीमा चलचित्रको अन्तिम छायांकन गरिने योजना रहेको छ।

भन्सार छलेर ल्याएको दुई करोड ७५ लाखको सामानसहित तीन जना नियन्त्रणमा

0

काठमाडौं: प्रहरीले रु २ करोड ७५ लाख ११ हजार ४९८ मूल्य बराबरको भन्सार छलेर ल्याइएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराका अनुसार पक्राउ परेका व्यक्तिहरूमा काभ्रेपलाञ्चोकको साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१, पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ, तथा नुवाकोट बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका छन्।

प्रवक्ता बोहराले जानकारी दिँदै भन्नुभयो, “चैत १ गते राति काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याइएकाे सूचना पाएपछि जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।”

बरामद गरिएको सामानसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

अमेरिकामा विनाशकारी आँधी: १८ जनाको मृत्यु, आपतकाल घोषणा

0

काठमाडौं: अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको विनाशकारी आँधी र भीषण हुरीबतासका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित मिसौरीमा मात्रै ११ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, मिसौरी, टेनेसी, अर्कान्सास, केन्टकी, इन्डियाना, र जर्जियाका विभिन्न क्षेत्रमा भीषण आँधीले जनजीवन प्रभावित बनाएको छ । मिसौरीका गभर्नर माइक पार्सनले शनिबार नै आँधीका कारण आपतकालीन अवस्था सिर्जना हुन सक्ने भन्दै सचेत गराएका थिए ।

मौसम विज्ञहरूले आगामी केही दिन मिसौरी र टेनेसीमा अझै चट्याङ, मुसलधारे वर्षा र तीव्र गतिको हावा चल्ने सम्भावना रहेको बताएका छन् । त्यसैले अधिकारीहरूले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

जर्जियाका गभर्नर ब्रायन केम्पले आँधीका कारण राज्यभर आपतकाल घोषणा गर्दै स्थानीय प्रशासनलाई उद्धार र राहतका कामलाई तीव्र बनाउन निर्देशन दिएका छन् । उनले नागरिकलाई सुरक्षित स्थानमा बस्न तथा अत्यावश्यक बाहेक बाहिर ननिस्कन सुझाव दिएका छन् ।

यस भीषण प्राकृतिक प्रकोपका कारण हजारौं घरमा क्षति पुगेको छ भने, कैयौं मानिसहरू विद्युत् कटौतीका कारण अन्धकारमा बस्न बाध्य भएका छन् । उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालित गरिएका छन् भने संघीय सरकार समेत राहत कार्यमा जुटिरहेको छ ।

(नयाँ जानकारी प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।)

राजस्व सङ्कलन ठेक्कामा लगाउने कार्य तत्कालै बन्द गर्नुहोस्ः मन्त्री गुरुङ

0

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थानीय तहलाई होर्डिङ बोर्डमार्फत हुने राजस्व संकलन आफैं गर्न आग्रह गर्नुभएको छ। विज्ञापन बोर्डद्वारा आयोजित “विज्ञापन प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिकासम्बन्धी क्षमता विकास” कार्यक्रममा बोल्दै उहाँले राजस्व चुहावट रोक्नका लागि ठेक्काको प्रक्रिया बन्द गरी स्थानीय तहले प्रत्यक्ष रूपमा राजस्व संकलन गर्नुपर्ने बताउनुभयो।

मन्त्री गुरुङका अनुसार हाल होर्डिङ बोर्डको अनियमितताका कारण करिब रु २० अर्ब बराबरको राजस्व गुमिरहेको छ। त्यसैले, स्थानीय तहले आफ्नै व्यवस्थापनमार्फत राजस्व संकलन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, होर्डिङ बोर्ड राख्न स्थानीय तहबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था पालना गर्न पनि आग्रह गर्नुभयो।

विज्ञापन नीतिमा सुधारको तयारी

उहाँले विज्ञापन बोर्डले तयार पारेको स्थानीय तहको विज्ञापन ऐनको नमुना पारित गरी कार्यान्वयनमा लैजानु उपयुक्त हुने बताउनुभयो। मेला महोत्सवमा गरिने विज्ञापनवापतको राजस्व समेत स्थानीय तहले संकलन गर्नुपर्ने धारणा राख्दै उहाँले सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र यसमा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगबाट सुझाव प्राप्त भइसकेको मन्त्री गुरुङले बताउनुभयो। उहाँले निकट भविष्यमै मन्त्रिपरिषद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै, यसपछि विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा आवश्यक संशोधन गरिने उल्लेख गर्नुभयो।

विज्ञापन बजारको व्यवस्थित विकासमा जोड

मन्त्री गुरुङले विज्ञापन बजारलाई व्यवस्थित गर्न बोर्डमार्फत कार्य अघि बढाइने बताउनुभयो। सञ्चार माध्यमको वर्गीकरण, स्तरीकरण तथा विज्ञापनदातालाई आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रणाली विकास गरिने उल्लेख गर्दै सरकारी विज्ञापनलाई थप पारदर्शी बनाइने प्रतिबद्धता जनाउनुभयो।

उहाँले पछिल्लो समयमा विज्ञापनको परिमाण घट्दै गएकाले सञ्चारमाध्यमहरू प्रभावित भएको विषयमा सरकार गम्भीर रहेको बताउनुभयो। विज्ञापन बजारको विकासका लागि आवश्यक कदम चाल्न सरकार तयार रहेको स्पष्ट पार्दै, सञ्चारमाध्यमहरूले विज्ञापनदाताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

विज्ञापन नियमन तथा स्वनियमन प्रभावकारी बनाइने

मन्त्री गुरुङका अनुसार, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ मा संशोधन गरी सञ्चार माध्यममा हुने विज्ञापनमा हुने अनियमितता रोक्न नयाँ व्यवस्था लागू गरिनेछ। विज्ञापन एजेन्सीहरूको सेवा शुल्कसम्बन्धी पारदर्शिता बढाउन बिल प्रणालीलाई कडाइका साथ पालना गरिने बताउनुभयो।

लोककल्याणकारी विज्ञापनलाई थप प्रभावकारी बनाउन अध्ययन गरी यसलाई व्यवस्थित बनाउने सरकारको नीति रहेको उहाँले बताउनुभयो। साथै, प्रदेश तथा स्थानीय तहमा विज्ञापन संयन्त्रको विकास गरी लोककल्याणकारी विज्ञापन वितरणलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो।

बोर्डको पुनःसंरचना गर्ने तयारी

विज्ञापनको नियमन, स्वनियमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहको सहभागिता बढाइने मन्त्री गुरुङको भनाइ छ। विज्ञापन बजारलाई व्यवस्थित बनाउन विज्ञापन बोर्डको पुनःसंरचना गरिने तथा सरोकारवालाहरूको सहभागिता सुनिश्चित गरिने बताउनुभयो।

यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विज्ञापन ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिँदै, विज्ञापन बोर्डलाई सान्दर्भिक सुझाव दिन आग्रह गर्नुभयो।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सरकारी निकायका परिचय पाटीमा एकरूपता ल्याउन आग्रह गर्नुभएको छ। उहाँले जथाभावी राखिएका होर्डिङ बोर्डहरूले सहर कुरुप बनाइरहेको भन्दै यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो।

सरस्वती माविमा पैसाकै बलमा हजुरबुबाको शालिक स्थापना, स्थानीयको आपत्ति

0

काठमाडौं: कुनै समय बरहथवा नगरपालिका–३ (साविक हजरिया गाविस–५) मा रहेको सरस्वती माध्यमिक विद्यालय सर्लाहीकै नमुना विद्यालयमध्ये एक थियो। वि.सं. २०१९ मा स्थापना भएको यस विद्यालयले मन्त्री, कलाकार, राष्ट्रिय खेलाडी जस्ता थुप्रै प्रतिभा जन्माइसकेको छ। चर्चित कलाकार निखिल उप्रेती, कलाकार शिवशंकर रिजाल, गायक शिव परियार, कर्णराज गिरीदेखि बुद्ध लामा सम्मका प्रतिभाहरू यही विद्यालयबाट निस्केका हुन्।

नगरपालिकाको गठन हुनुअघि हजरिया गाविसका साथै आसपासका गाउँबाट विद्यार्थीहरू पठनपाठनका लागि यो विद्यालयमा आउने गर्थे। स्थानीय स्रोतसाधनबाट सञ्चालित यो विद्यालय एक समय सर्लाहीकै प्रतिष्ठित शैक्षिक संस्थामध्ये गनिन्थ्यो। हालै पनि १,१०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, तर विद्यालयको गरिमा क्रमशः गुम्दै गएको देखिन्छ।

विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, व्यवस्थापन समितिको कमजोरी, र आर्थिक प्रभावका कारण विद्यालयको प्रतिष्ठा खतरामा परेको स्थानीयको आरोप छ। यसको पछिल्लो उदाहरण हो— विद्यालय परिसरमा अनधिकृत रूपमा एक व्यक्तिको शालिक स्थापनाले निम्त्याएको विवाद।

शालिक स्थापनाप्रति चर्को असन्तुष्टि
विद्यालयसँग कुनै औपचारिक सम्बन्ध नराखेका वासुदेव उपाध्यायको अर्धकदको शालिक स्थापना भएपछि अभिभावक, विद्यार्थी, तथा पूर्वविद्यार्थीहरूले कडा असन्तुष्टि जनाएका छन्। विद्यालयकै पूर्वविद्यार्थी नवराज आचार्यले विद्यालय व्यवस्थापन समितिलाई झुक्याई आफ्नो मावली हजुरबुबाको शालिक पुस अन्तिम साता स्थापना गराएको खुलासा भएको छ।

आचार्यले यसअघि २०६८ माघ १४ गते सरस्वती मन्दिर निर्माण गर्दै हजुरबुबा वासुदेव उपाध्याय र हजुरआमा दुर्गादेवी आचार्यको सम्झनामा मूर्ति स्थापना गराएका थिए। विद्यालय प्रांगणमा देवी सरस्वतीको मूर्ति स्थापना हुँदा त्यति ठूलो विवाद नउठेपनि पछिल्लो पटक हजुरबुबाको शालिक स्थापना भएपछि व्यापक विरोध भएको हो।

विद्यालय व्यवस्थापन समितिले विद्यालयका संस्थापक डिल्लीबहादुर गिरी र नन्दलाल गिरीको शालिक राख्न सकिने तर अन्य अनधिकृत व्यक्तिको शालिक राख्न नसकिने स्पष्ट अडान लिएको छ। विद्यालय सञ्चालक समितिका अध्यक्ष यज्ञबहादुर खड्काले आफूलाई झुक्याएर शालिक राखिएको भन्दै असन्तुष्टि जनाएका छन्।

बरहथवा नगरपालिका–३ का अध्यक्ष नन्दकिशोर महतोले पनि शालिक स्थापनाप्रति स्थानीय तहमा गम्भीर असन्तोष देखिएको बताए। उनका अनुसार विद्यालयका संस्थापककै शालिक राख्नुपर्ने सल्लाह भए पनि कसैलाई जानकारी नै नदिई वासुदेव उपाध्यायको शालिक राखिएको हो।

त्यसैगरी, तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य रामउदेश महतोले समेत वासुदेव आचार्यको शालिक स्थापना गर्ने कुनै आधिकारिक सहमति नभएको बताए। स्थानीयले विद्यालय व्यवस्थापन समितिका केही सदस्य र विद्यालयका प्रभावशाली व्यक्तिहरूको मिलेमतोमा आर्थिक प्रभावका आधारमा यो शालिक राखिएको आरोप लगाएका छन्।

विद्यालय शिक्षाको पवित्र स्थल हो, जहाँ संस्थापकहरूकै योगदानलाई सम्मान गर्ने परम्परा छ। तर, सरस्वती माविमा सो परम्परा तोडिएको भन्दै स्थानीय अभिभावक, पूर्वविद्यार्थी र समाजका सचेत नागरिकहरूले तत्काल शालिक हटाउनुपर्ने माग गरेका छन्।

पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन

0

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आङ्गिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो।

निर्देशन दिइएका क्याम्पसमध्ये छ उपत्यकाभित्र र नौ उपत्यकाबाहिर छन्। त्रिविले चैत ५ गते स्ववियु निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि यी क्याम्पसहरूमा निर्वाचन प्रक्रिया रोकिएको थियो। अधिकारीले सम्बद्ध पक्षसँग समझदारी गरी प्रक्रिया अघि बढाउन आग्रह गर्दै, “जुन अवस्थामा र प्रक्रियामा रोकिएको हो, सोही अनुसार तत्काल अघि बढाउन” निर्देशन दिनुभएको छ।

निर्वाचन प्रक्रिया अघि नबढेका उपत्यकाका क्याम्पसहरूमा विश्वविद्यालय क्याम्पस (कीर्तिपुर), सरस्वती बहुमुखी क्याम्पस (सोह्रखुट्टे), पब्लिक युथ क्याम्पस (धोविचौर), शङ्करदेव क्याम्पस (पुतलीसडक), नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पस रहेका छन्।

त्यस्तै, उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस (महेन्द्रनगर), सुर्खेत बहुमुखी क्याम्पस (सुर्खेत), बुटवल बहुमुखी क्याम्पस (बुटवल), भैरहवा बहुमुखी क्याम्पस (भैरहवा), पक्लिहवा बहुमुखी क्याम्पस (पक्लिहवा), तेह्रथुम बहुमुखी क्याम्पस (चौहारडाडा), रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), वीरेन्द्र बहुमुखी क्याम्पस (भरतपुर) र कृषि क्याम्पस (खैरहनी) मा पनि प्रक्रिया अघि बढ्न सकेको छैन।

त्रिविले आफ्नो आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते एकैदिन स्ववियु निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालय र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता

0

काठमाडौँ: नेपाली नागरिकको आँखा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच समझदारी भएको छ। आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौताअनुसार मोतियाबिन्दु शल्यक्रियापछि प्रयोग हुने (पोलिमेथाइल मेथाक्रालेट ईन्ट्राअकुलर) लेन्समध्ये १० प्रतिशत दुर्गम क्षेत्रमा रहेका नागरिकका लागि सरकारी अस्पतालद्वारा सञ्चालित शिविरमार्फत निःशुल्क उपलब्ध गराइनेछ।

मन्त्री पौडेलले तिलगङ्गाले आँखा उपचारमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताउँदै मन्त्रालयले संस्थासँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “तिलगङ्गाबाट उत्पादित लेन्सले अन्तर्राष्ट्रियस्तरमा समेत विश्वसनीयता प्राप्त गरिसकेको छ।”

त्यसैगरी, कार्यकारी निर्देशक डा. रुइतले तिलगङ्गाले पहुँच नपुगेका तथा सिमान्तकृत वर्गका नागरिकसम्म सेवा पुर्‍याइरहेको जानकारी गराउँदै, “हेटौँडामा लेन्स उत्पादन क्षमतामा तीनदेखि चार गुणासम्म वृद्धि गर्ने तयारी भइरहेको” बताउनुभयो। उहाँले निर्माण खर्चका लागि सरकारी सहयोग आवश्यक रहेकोसमेत उल्लेख गर्नुभयो।

सम्झौताअनुसार, मोतियाबिन्दु शल्यक्रियाका लागि आवश्यक कच्चा पदार्थ र उपकरण आयातमा भन्सार तथा मूल्य अभिवृद्धिकर सहुलियत दिन मन्त्रालयले सिफारिस गर्नेछ।

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

0

काठमाडौँ: गत फागुन महिनामा देशभरको घरजग्गा कारोबारबाट रु ४ अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा राजस्व सङ्कलन माघ महिनाको तुलनामा बढेको छ।

विभागको विवरणअनुसार घरजग्गा कारोबार लयमा फर्कन थालेसँगै राजस्व सङ्कलनमा क्रमशः वृद्धि हुँदै गएको छ। फागुन महिनामा सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुरबाट रु २ अर्ब २० करोड ३७ लाख ८९ हजार, तथा पुँजीगत लाभकरबाट रु १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ।

विभागले यसअघि साउन महिनामा रु ३ अर्ब ८३ करोड ५० लाख, भदौमा रु ३ अर्ब ९ करोड, असोजमा रु ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा रु २ अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु ३ अर्ब ८७ करोड, पुसमा रु ४ अर्ब २५ करोड २२ लाख, र माघमा रु ३ अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो।

त्यसैगरी, मालपोत कार्यालय कलङ्की ले फागुन महिनामा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिल ले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेल ले रु ३८ करोड २८ लाख, तथा मालपोत कार्यालय खैरहनी, चितवन ले रु ३ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

0

काठमाडौँ: ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शङ्खमूलस्थित बाग्मती नदी किनारमा भएको सफाइ अभियानबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

बाग्मती सफाइ महाअभियानको ६१८औँ हप्तामा शङ्खमूल दोभानस्थित बाग्मती सेतो पुल क्षेत्र सरसफाइ गरिएको थियो। सफाइ कार्यक्रममा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी एवं कर्मचारी, स्थानीय बासिन्दा तथा आलोकनगर बाग्मती सफाइ समूहको सक्रिय सहभागिता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो।

यही चैत ९ गते शनिबार महाअभियानको ६१९औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। सरसफाइ अभियानमा व्यापक सहभागिताका लागि महाअभियानले सर्वसाधारणलाई अपिल गरेको छ।

विसं २०७० जेठ ५ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएको बाग्मती सफाइ महाअभियान अन्तर्गत प्रत्येक शनिबार सफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस अभियानबाट प्रभावित भई देशभरका प्रमुख नदी तथा सहर गरी १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मी डा. माला खरेलले जानकारी दिनुभयो।

आगामी निर्वाचनमा एक्लै चुनाव लड्छौँ : अध्यक्ष दाहाल

0

भक्तपुर: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ। भक्तपुरको सूर्यविनायकमा माओवादी केन्द्र भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनताको बलमा चुनावमा जाने बताउनुभयो।

उहाँले २०६४ सालको निर्वाचनमा आफ्नै मुद्दाको बलमा विजय हासिल गरेको स्मरण गर्दै भन्नुभयो, “आगामी चुनावमा माओवादी केन्द्र कांग्रेस वा एमालेसँग कुनै समीकरण गर्दैन, आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्छ।”

अध्यक्ष दाहालले पार्टीभित्र गुटबन्दी, अराजकतावाद र व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको बताउँदै सङ्गठनात्मक गतिविधि अपेक्षित गतिमा अघि नबढेको टिप्पणी गर्नुभयो। यथास्थितिलाई तोड्दै पार्टीलाई गतिशील बनाएर नयाँ दिशातिर लैजाने सङ्कल्प रहेको उहाँको भनाइ थियो।

लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्र र जनताको समाजवादी गणतन्त्रबीच वैचारिक सङ्घर्ष जारी रहेको बताउनुभयो। यसैबीच, राजावादीहरूले यो परिस्थितिको फाइदा उठाउँदै राजतन्त्र फर्काउने प्रयास गरिरहेको दाबी पनि अध्यक्ष दाहालले गर्नुभयो।

कार्यक्रममा पार्टीका जिल्ला सदस्य, भ्रातृ सङ्गठनका पदाधिकारीहरू र अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।