काठमाडौँ: गत फागुन महिनामा देशभरको घरजग्गा कारोबारबाट रु ४ अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा राजस्व सङ्कलन माघ महिनाको तुलनामा बढेको छ।
विभागको विवरणअनुसार घरजग्गा कारोबार लयमा फर्कन थालेसँगै राजस्व सङ्कलनमा क्रमशः वृद्धि हुँदै गएको छ। फागुन महिनामा सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुरबाट रु २ अर्ब २० करोड ३७ लाख ८९ हजार, तथा पुँजीगत लाभकरबाट रु १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ।
विभागले यसअघि साउन महिनामा रु ३ अर्ब ८३ करोड ५० लाख, भदौमा रु ३ अर्ब ९ करोड, असोजमा रु ३ अर्ब ८ करोड १२ लाख, कात्तिकमा रु २ अर्ब ७० करोड ४० लाख, मङ्सिरमा रु ३ अर्ब ८७ करोड, पुसमा रु ४ अर्ब २५ करोड २२ लाख, र माघमा रु ३ अर्ब ८७ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो।
त्यसैगरी, मालपोत कार्यालय कलङ्की ले फागुन महिनामा रु २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिल ले रु २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेल ले रु ३८ करोड २८ लाख, तथा मालपोत कार्यालय खैरहनी, चितवन ले रु ३ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।


