Friday, June 26, 2026
Homeअन्तराष्ट्रियभूकम्पमा भवन ढल्यो, ढोकाको फ्रेम समातेर महिलाले बचाइन् ज्यान

भूकम्पमा भवन ढल्यो, ढोकाको फ्रेम समातेर महिलाले बचाइन् ज्यान

काठमाडौं । भेनेजुएलाको ला गुएरामा विनाशकारी भूकम्पपछि भत्किएको भवनको भग्नावशेषबाट एक महिलाको जीवित उद्धार गरिएको छ। बुधबार साँझ आएको शक्तिशाली भूकम्पका कारण भवन भत्किँदा ग्रासिएला मोरा भग्नावशेषमुनि फसेकी थिइन्।

आपतकालीन उद्धारकर्मी र स्वयंसेवकहरूले उनलाई सुरक्षित रूपमा बाहिर निकालेका हुन्। उद्धारका बेला उनी पूर्ण रूपमा होशमा रहेको जनाइएको छ।

स्ट्रेचरमा राखेर उपचारका लागि लैजाँदै गर्दा मोराले आफू कसरी बाँच्न सफल भएको अनुभव सुनाइन्। उनका अनुसार भूकम्प सुरु हुनेबित्तिकै उनले आफ्नो सम्पूर्ण शक्ति लगाएर ढोकाको फ्रेम समातेकी थिइन्।

उनले भनिन्, “ढोकाको फ्रेमलाई बलियोसँग समातेकै कारण मेरो एउटा औंला भाँचियो। तर भवनको भुइँ भत्किँदासम्म मैले त्यो फ्रेम छोडिनँ, त्यसैले बाँच्न सकेँ।”

उद्धारको क्षण सम्झँदै उनले भनिन्, “पछि मैले कसैको हात देखेँ र समातेँ। त्यसपछि मलाई बाहिर निकालियो।”

स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका थिए। ती भूकम्पमा परी हालसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४,३०० भन्दा बढी घाइते भएका छन्।

भूकम्पपछि राहत तथा उद्धार टोलीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। राजधानी काराकास र ला गुएराका भत्किएका भवनहरूको भग्नावशेषबाट अझै पनि सहयोगका लागि पुकार सुनिनुका साथै जीवित व्यक्तिको खोजी जारी रहेको अधिकारीहरूले जनाएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका