काठमाडौं: प्रहरीले रु २ करोड ७५ लाख ११ हजार ४९८ मूल्य बराबरको भन्सार छलेर ल्याइएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराका अनुसार पक्राउ परेका व्यक्तिहरूमा काभ्रेपलाञ्चोकको साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१, पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ, तथा नुवाकोट बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका छन्।
प्रवक्ता बोहराले जानकारी दिँदै भन्नुभयो, “चैत १ गते राति काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याइएकाे सूचना पाएपछि जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।”
बरामद गरिएको सामानसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रहरीले जनाएको छ।


