Tuesday, September 8, 2026
Homeअन्तराष्ट्रियगर्भवती भएको दाबी, अपरेसन गर्दा पेटमा बच्चा नै भेटिएन

गर्भवती भएको दाबी, अपरेसन गर्दा पेटमा बच्चा नै भेटिएन

काठमाडौं । पाकिस्तानको कराँचीमा गर्भवती भएको दाबी गरेकी एक महिलाको प्रसूति शल्यक्रिया (अपरेसन) गर्ने क्रममा पेटमा बच्चा नै नभएको खुलेपछि अस्पताल र परिवारबीच विवाद उत्पन्न भएको छ।

घटना गत अगस्ट २७ मा कराँचीको नाजिमाबादस्थित हमदर्द अस्पतालमा भएको हो। महिलाका परिवारजनले उनको गर्भावस्था नौ महिना पुगिसकेको विश्वास गरेका थिए। परिवारसँग रहेको अल्ट्रासाउन्ड रिपोर्टमा समेत ३८ साताको गर्भावस्था देखाइएको थियो।

तर, अपरेसनका क्रममा चिकित्सकहरूले महिलाको पेटमा बच्चा नभएको थाहा पाएपछि परिवार आक्रोशित बनेको थियो। परिवारले अस्पतालले बच्चा गायब पारेको आरोप लगाएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरीसमेत अस्पताल पुगेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने ती महिलाले आफ्नो गर्भावस्थाबारे गलत जानकारी दिएको खुलेको छ। प्रहरीका अनुसार विवाह भएको तीन वर्ष बितिसक्दा पनि बच्चा नभएपछि परिवार तथा सामाजिक दबाबका कारण उनले आफू गर्भवती भएको दाबी गरेकी थिइन्।

डिस्ट्रिक्ट सेन्ट्रल प्रहरीका इन्स्पेक्टर खालिद रफिकका अनुसार अपरेसनका क्रममा बच्चा नभएको खुलेपछि महिला र उनका परिवारजनले त्यसलाई स्वीकार गर्न मानेनन्। त्यसपछि महिलालाई सरकारी अस्पताल लगेर स्वास्थ्य परीक्षण तथा आवश्यक जाँच गराइएको थियो। परीक्षणको रिपोर्टले उनी कहिल्यै गर्भवती नभएको देखाएको प्रहरीले जनाएको छ।

परिवारले उक्त रिपोर्टसमेत अस्वीकार गरेपछि थप परीक्षणका लागि कराँचीस्थित आगा खान अस्पतालबाट समेत परीक्षण गराउने तयारी गरिएको थियो। प्रहरीले हमदर्द अस्पतालबाट महिलासम्बन्धी सबै कागजात तथा मेडिकल रेकर्ड नियन्त्रणमा लिएर स्वास्थ्यकर्मीहरूको बयानसमेत लिएको थियो।

प्रहरीका अनुसार थप परीक्षणका लागि प्रमाण पठाउने तयारी भइरहेका बेला ती महिलाले आफू कहिल्यै गर्भवती नभएको र परिवारलाई गलत जानकारी दिएको स्वीकार गरेकी थिइन्।

उनले विवाह भएको तीन वर्ष बितिसक्दा पनि बच्चा नभएको र आफ्ना उमेरका साथीहरू आमा बनिसकेकाले आफू सामाजिक तथा पारिवारिक दबाबमा परेको प्रहरीलाई बताएकी छन्। आफू साँच्चिकै गर्भवती हुने आशा भए पनि गर्भधारण हुन नसकेको र बच्चा जन्मिने अनुमान गरिएको समय नजिकिएपछि घटना जटिल बनेको उनको भनाइ थियो।

यद्यपि, महिलाले गलत जानकारी दिएको भए पनि अस्पतालले स्वतन्त्र रूपमा गर्भावस्थाको पुष्टि नगरी प्रसूति शल्यक्रिया गर्ने निर्णय कसरी गर्‍यो भन्ने प्रश्नसमेत उठेको छ।

हमदर्द अस्पतालको स्त्रीरोग विभागकी प्रमुख डा. अन्जुम आरा हसनले महिला अगस्ट २७ मा अस्पताल आएको र उनले अल्ट्रासाउन्ड रिपोर्ट देखाएको बताएकी छन्। उक्त रिपोर्टका आधारमा ड्युटीमा रहेका चिकित्सकले स्वास्थ्य परीक्षण तथा अन्य जाँच गरेपछि अपरेसन गर्ने निर्णय गरेको उनको भनाइ छ। ती परीक्षणमा कार्डियोटोकोग्राफी (सीटीजी) समेत गरिएको अस्पतालले जनाएको छ।

कराँचीकी प्रहरी सर्जन डा. समियाले गर्भावस्थाको दाबी गलत भए पनि अपरेसनअघि नै त्यसबारे पत्ता लाग्न नसकेको विषयमा प्रश्न उठाएकी छन्। चिकित्सा विज्ञहरूले पनि प्रसूति शल्यक्रिया गर्नुअघि गर्भावस्थाको पुष्टि गर्नु अत्यावश्यक हुने बताएका छन्।

बिबिसीले घटनाबारे हमदर्द अस्पताल प्रशासनसँग थप जानकारी माग्दा सिन्ध हेल्थकेयर कमिसनको निर्णय नआएसम्म पर्खन आग्रह गरिएको जनाएको छ।

महिलाका श्रीमान्ले अस्पतालविरुद्ध कारबाहीको माग गरेका छन्। प्रहरीले अनुसन्धानबाट प्राप्त कागजात तथा प्रमाण सिन्ध हेल्थकेयर कमिसनमा पठाउने जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका