काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बगर घालिबाफले इरानविरुद्ध कुनै पनि कदम चालिए त्यसको जवाफ पहिलेभन्दा अझ तीव्र र कडा रूपमा दिइने चेतावनी दिएका छन्।
आइतबार संसद्मा सम्बोधन गर्दै घालिबाफले ‘सीमित जवाफ’ दिने समय समाप्त भइसकेको र अब ‘खेलको नियम बदलिएको’ दाबी गरे।
उनले इरानी सैन्य बलले अमेरिकी सैन्य अखडामाथि गरेको कडा प्रहारपछि अमेरिका र उसका सहयोगी राष्ट्रहरू हताश अवस्थामा पुगेको बताएका छन्।
घालिबाफले विरोधी पक्षले वास्तविक युद्धभूमिको अवस्थाभन्दा फरक काल्पनिक तस्बिर तथा भिडियो निर्माण गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरिरहेको आरोपसमेत लगाए।
अमेरिकाले ‘सीमित जवाफ’ को युग समाप्त भइसकेको कुरा बुझ्नुपर्ने भन्दै उनले हालैका सैन्य कारबाहीमा इरानले गरेका आक्रमणहरू केवल सुरुआत मात्र भएको दाबी गरे।
“यदि अमेरिकाले अझै पनि परिस्थितिलाई बुझ्न सकेको छैन भने, धेरै ढिलो हुनुअघि उसले खेलको नियम बदलिएको कुरा बुझ्न आवश्यक छ,” घालिबाफले भने।
उनले आगामी दिनमा इरानबाट हुने जवाफी कारबाही अझ तीव्र र कडा हुन सक्ने चेतावनी दिए।
शनिबार अमेरिका र इरानबीच समुद्री जहाजहरूलाई लक्षित गरी जवाफी प्रहार भएको थियो। करिब एक महिनासम्म तुलनात्मक रूपमा शान्त रहेको अवस्थापछि एक साताअघि सुरु भएको द्वन्द्वको यो पछिल्लो घटनाक्रम हो।


