Friday, September 4, 2026
Homeअन्तराष्ट्रियलिन्से क्लान्सी मुद्दामा छैटौँ दिन पनि जुरी निष्कर्षविहीन, एक सदस्यको व्यवहारले बढायो...

लिन्से क्लान्सी मुद्दामा छैटौँ दिन पनि जुरी निष्कर्षविहीन, एक सदस्यको व्यवहारले बढायो तनाव

बीबीसी । अमेरिकामा चर्चित लिन्से क्लान्सीमाथिको हत्यासम्बन्धी मुद्दामा जुरीको विचार-विमर्श छैटौँ दिन पनि निष्कर्षविहीन बनेपछि अदालतमा तनाव उत्पन्न भएको छ। जुरी प्रमुखले एक सदस्यले ‘शङ्काको सुविधा’ सम्बन्धी कानुनी निर्देशन पालना गर्न अस्वीकार गरेको जानकारी गराएपछि विवाद चर्किएको हो।

जुरी प्रमुखले न्यायाधीशलाई पठाएको नोटपछि बचाउ पक्षका वकिलले सम्बन्धित जुरी सदस्यलाई टोलीबाट हटाउन माग गरेका थिए। तर न्यायाधीश विलियम सुलिभानले उक्त माग अस्वीकार गर्दै जुरीलाई सर्वसम्मत निर्णयमा पुग्ने प्रयास जारी राख्न निर्देशन दिएका छन्।

३६ वर्षीया क्लान्सीमाथि २४ जनवरी २०२३ मा म्यासाचुसेट्सस्थित आफ्नै घरमा तीन सन्तान—पाँच वर्षीया कोरा, तीन वर्षीय डसन र आठ महिनाका क्यालनको हत्या गरेको आरोपमा ‘फस्ट-डिग्री मर्डर’ का तीन अभियोग लगाइएको छ।

क्लान्सीले आफ्ना दुई छोरा र एक छोरीको हत्या गरेको तथ्य अस्वीकार गरेकी छैनन्। उनका वकिलले भने घटनाका बेला उनी ‘पोस्टपार्टम साइकोसिस’ अर्थात् प्रसवपछिको गम्भीर मानसिक अवस्थाबाट पीडित रहेको र सही तथा गलत छुट्याउन सक्ने अवस्थामा नरहेको तर्क गर्दै आएका छन्।

झन्डै छ हप्ता चलेको सुनुवाइपछि प्लाइमाउथस्थित नौ महिला र तीन पुरुष गरी १२ सदस्यीय जुरीले ३५ घण्टाभन्दा बढी समयदेखि विचार-विमर्श गरिरहेको छ। यसअघि पनि जुरीले दुई पटक सर्वसम्मत निर्णयमा पुग्न नसकेको जानकारी अदालतलाई गराइसकेको थियो।

बिहीबार भने जुरी प्रमुखको नयाँ नोटपछि विचार-विमर्श कक्षभित्र मतभेद गहिरिएको संकेत देखिएको हो।

क्लान्सीका वकिल केभिन रेडिङ्टनका अनुसार जुरी प्रमुखले न्यायाधीश सुलिभानलाई पठाएको नोटमा एक सदस्यले ‘शङ्काको सुविधासम्बन्धी कानुनी निर्देशन मान्न अस्वीकार गरेको’ उल्लेख गरेका थिए।

त्यसपछि रेडिङ्टन र सरकारी वकील जेनिफर स्प्रेगबीच न्यायाधीशसमक्ष तीव्र छलफल भएको थियो। बचाउ पक्षले सम्बन्धित जुरी सदस्यलाई हटाउन माग गरे पनि न्यायाधीशले त्यसलाई अस्वीकार गरे।

न्यायाधीश सुलिभानले जुरीका प्रत्येक सदस्यलाई व्यक्तिगत रूपमा बोलाएर सोधपुछसमेत गरेका थिए। उनले अभियुक्तलाई दोषी ठहर गर्नका लागि कानुनअनुसार उचित शङ्काभन्दा परको प्रमाण आवश्यक पर्ने र फैसला सर्वसम्मत हुनुपर्ने व्यवस्था पुनः स्मरण गराए।

न्यायाधीशले विचार-विमर्शका क्रममा कुनै एक पक्षको समर्थन गर्नु उचित नहुने बताएका छन्। सरकारी वकील स्प्रेगले पनि जुरीलाई दिइएको न्यायाधीशको निर्देशन उपयुक्त रहेको बताइन्।

बचाउ पक्षका वकिल रेडिङ्टनले पत्रकारहरूसँग कुरा गर्दै एक जुरी सदस्यले कानुनी निर्देशन पालना गर्न अस्वीकार गरेको दाबी दोहोर्‍याए। यद्यपि, उनले ती सदस्यको वास्तविक धारणा के हो भन्ने आफूलाई थाहा नभएको र जुरीभित्र ११–१ को मत विभाजन भएको पुष्टि गर्न नसकिने स्पष्ट पारे।

क्लान्सीले आफ्ना सन्तानको हत्या गरेपछि घरको दोस्रो तलाबाट हामफालेकी थिइन्। त्यस क्रममा उनको कम्मरभन्दा मुनिको भाग पक्षाघात भएको छ र उनी ह्विलचेयर प्रयोग गर्छिन्।

अदालतबाट बाहिरिने क्रममा क्लान्सी भावुक देखिएकी थिइन्। उनका वकिल रेडिङ्टनले उनलाई अङ्कमाल गर्दै सान्त्वना दिएका थिए।

जुरी विवादबारे थप छलफलका लागि शुक्रबार बिहान ९ बजे (EST) अदालत पुनः बस्ने अपेक्षा गरिएको छ।

यदि जुरी सर्वसम्मत निष्कर्षमा पुग्न नसकेमा न्यायाधीशले ‘मिस्ट्रायल’ घोषणा गर्न सक्नेछन्। त्यस्तो अवस्थामा सरकारी वकिलहरूले मुद्दा पुनः चलाउने वा नचलाउनेबारे निर्णय गर्नुपर्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका