कञ्चनपुर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका तीन स्थानीय तहमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार दोधारा चाँदनी, भीमदत्त र बेदकोट नगरपालिकामा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक तयारी अवस्थामा रहन तथा सतर्कता अपनाउन आग्रह गरिएको हो। साथै, स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले जनाएको छ।
बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले नगरपालिका पूर्वतयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार नगर प्रहरी र वडाध्यक्षहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ।
दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले पनि नगरपालिका पूर्वतयारी अवस्थामा रहेको बताए।
मौसम पूर्वानुमान महाशाखाले सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सम्भावित जोखिमबारे जानकारी गराउन र आवश्यक पूर्वतयारी सुरु गर्न आग्रह गरेको छ।
कञ्चनपुरमा आज बिहानैदेखि अविरल वर्षा भइरहेको छ। महाकाली नदीको जलस्तर सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनबासा–स्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जीवन गुरुङका अनुसार साँझ ५ बजेको मापनमा महाकाली नदीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ।
महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि सुरक्षाका कारण शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ।


