Sunday, September 6, 2026
Homeराजनीतिमहासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका जाने: अहिलेसम्मकै सबैभन्दा सानो टिम

महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका जाने: अहिलेसम्मकै सबैभन्दा सानो टिम

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने भएपछि नेपाली प्रतिनिधिमण्डलको तयारी सुरु भएको छ।

प्रधानमन्त्रीको भ्रमणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी अघि बढाएका छन्। सरकारले भ्रमण कार्यक्रम औपचारिक रूपमा घोषणा गरिसकेको छैन। यद्यपि, प्रधानमन्त्री शाह महासभामा सहभागी हुने निश्चित भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका अनुसार यसपटक प्रधानमन्त्रीले विगतका तुलनामा निकै सानो टोलीको नेतृत्व गर्दै अमेरिका जाने तयारी छ। प्रधानमन्त्रीको टोलीमा करिब १० देखि ११ जना रहने बताइएको छ। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा जाने पाँच सदस्यीय टोलीबारे मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू सुभाष शर्मा र प्रदीप पजियार, फोटोग्राफर विनय शाक्य तथा शिष्टाचार (प्रोटोकल) प्रमुख सहभागी हुनेछन्।

त्यस्तै, परराष्ट्रमन्त्री खनालको टोलीमा मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, राष्ट्रसङ्घ मामिला हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल सहभागी हुनेछन्।

महासभामा प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। सम्बोधनको एक–दुई दिनअघि अमेरिका पुग्ने र सम्बोधनलगत्तै नेपाल फर्कने गरी भ्रमण तालिका बनाउने तयारी भइरहेको छ। यद्यपि, भ्रमणको मिति र सहभागीहरूको अन्तिम नामावलीबारे छलफल जारी रहेको मन्त्रालयले जनाएको छ।

यसअघि ७८औँ महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ सदस्यीय टोलीको नेतृत्व गरेका थिए। ७९औँ महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय टोली सहभागी भएको थियो।

८०औँ महासभाका समयमा नेपालमा जेनजी आन्दोलन चर्किएको र तत्कालीन प्रधानमन्त्री सुशीला कार्की व्यस्त रहेकाले उच्चस्तरीय टोली सहभागी हुन सकेको थिएन। त्यसबेला संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर क्षेत्रीले नेपाली टोलीको नेतृत्व गरेका थिए।

८१औँ महासभामा पनि सुरुमा परराष्ट्रमन्त्रीकै नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तयारी थियो। तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको हिमबाढीपछि प्रधानमन्त्री शाहले महासभामा सहभागी हुन अग्रसरता देखाएका हुन्।

प्रधानमन्त्री शाहले महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका विपद् तथा त्यसबाट सिर्जित चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीस्तरबाटै सम्बोधन गर्दा जलवायु परिवर्तन र त्यसका कारण नेपालले भोगिरहेको क्षतिको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी रूपमा उठाउन सकिने सल्लाह पाएपछि शाह अमेरिका जान तयार भएको जानकारहरू बताउँछन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका