काठमाडौं । भोटेकोशी बाढी आएको १२औँ दिन पनि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य जारी छ। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक विस्थापित भएका छन्।
बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदीको बहाव क्षेत्रका जिल्लामा घर तथा भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
नेपाल सरकारले खोजी, उद्धार तथा राहतका लागि उपलब्ध सम्पूर्ण साधन र स्रोत परिचालन गरेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली प्रभावित क्षेत्रमा परिचालित छन्। प्रदेश तथा स्थानीय तहसहित अन्य सम्बन्धित निकाय पनि उद्धार तथा राहत कार्यमा सक्रिय छन्।
परराष्ट्र मन्त्रालयका अनुसार उद्धार तथा राहतका लागि स्वदेशी निकायसँगै छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर समन्वय भइरहेको छ। भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी तथा उद्धार गरिरहेका छन्। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ड्रोन, लोड क्यारियर तथा अन्य उद्धार उपकरण पनि प्रयोग भइरहेका छन्।
मन्त्रालयका अनुसार अनुरोध गरिएका विशिष्टताअनुसार नौ वटा उच्च क्षमताका ड्रोनसहित ११ सदस्यीय विशेष मलेसियाली विपद् सहायता तथा उद्धार टोली शनिबार नेपाल आइपुगेको छ।
हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३०० भन्दा बढी विदेशी नागरिक छन्। अझै करिब एक हजार जना बेपत्ता रहेको अनुमान गरिएको छ, जसमा ३५ देशका करिब ६०० जना विदेशी नागरिक रहेका छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३४१ वटा शव फेला परेका छन्। सडक, विद्युत् तथा दूरसञ्चार सेवा पुनःस्थापना गर्नुका साथै प्रभावित नागरिकसम्म राहत सामग्री पुर्याउने काम पनि भइरहेको छ।
नेपाली सेना र इन्जिनियरिङ टोलीले तादी नदीमाथि अस्थायी पुल निर्माण गरी गल्छी–त्रिशूली सडक पुनःस्थापना गर्ने काम गरिरहेका छन्। यसैगरी, त्रिशूलीको इन्द्रेणीघाट र देवीघाटमा एक–एक गरी दुईवटा तुइन सञ्चालनमा ल्याइएको छ।
३२ हजारभन्दा बढी प्रभावित
द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडीएनए) अन्तर्गत गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार करिब ७ हजार ५७० घरधुरीका ३२ हजार ९३३ जना प्रभावित भएका छन्।
त्यस्तै, ४८ सरकारी कार्यालयमा क्षति पुगेको छ। ५५ किलोमिटर सडक, ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन्।
बाढीका कारण करिब १ हजार ८०६ हेक्टर कृषि भूमि, १३ वटा जलविद्युत् आयोजना, एउटा सौर्य ऊर्जा प्लान्ट र दुईवटा प्रसारण लाइनमा क्षति पुगेको प्रारम्भिक मूल्याङ्कनले देखाएको छ। बाढीबाट ७८३ मेगावाट जलविद्युत् उत्पादन क्षमता प्रभावित भएको जनाइएको छ।
क्षतिको विस्तृत विवरण तथा पुनर्निर्माण र पुनःस्थापनाका लागि आवश्यक लागत निर्धारण गर्न विपद्पश्चात् आवश्यकता मूल्याङ्कन (पीडीएनए) पनि अघि बढाइएको छ।
शव पहिचानका लागि डीएनए परीक्षण तीव्र
फरेन्सिक प्रक्रिया पूरा गरेपछि बरामद शवको अस्थायी व्यवस्थापन सुरु गरिएको छ। यसले शवको पहिचानपछि मृतकका परिवारलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्न सहज हुने अपेक्षा गरिएको छ।
बेपत्ता व्यक्तिका निकटतम परिवारजनलाई काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
विदेशमा रहेका परिवारजनले आफू बसेको देशमै डीएनए नमुना सङ्कलन गरी नेपाल पठाउन सक्ने व्यवस्था मिलाइएको छ। भारत, चीन, जापान, सिङ्गापुर र गणतन्त्र कोरियाका फरेन्सिक टोलीले नेपाल प्रहरी तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी डीएनए नमुना सङ्कलन, विश्लेषण तथा मृतकको पहिचानसम्बन्धी कामलाई तीव्रता दिएका छन्।
२६ उद्धार उडानको सहजीकरण
परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रतिनिधि तथा स्वदेशी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई उद्धार, राहत र विदेशी सहयोगसम्बन्धी जानकारी उपलब्ध गराउन नियमित ब्रिफिङ गर्दै आएको जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म सम्बन्धित देश तथा निकायसँग समन्वय गरी राहत सामग्री र उद्धार टोली बोकेर आएका २६ वटा उडानको अनुमति तथा सहजीकरण गरिएको छ।
बाढीबाट प्रभावित भई नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन मन्त्रालय र चीनस्थित नेपाली नियोगले चिनियाँ अधिकारीसँग समन्वय गरिरहेका छन्। शनिबारसम्म तातोपानी नाकाबाट ४३१ जना नेपाली नागरिक नेपाल फर्किएका छन् भने आज थप १०५ जना स्वदेश फर्कने अपेक्षा गरिएको छ।
विदेशी नागरिकको खोजी तथा उद्धारमा समन्वय गर्न उपशिष्टाचार प्रमुख प्रेमराज गौतमलाई प्रभावित क्षेत्रमा रहेको अपरेसन सेन्टरमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ।


